• २१ भदौ २०८२, शनिबार

खाँदबारीमा निःशुल्क मोतियाविन्दु शल्यक्रिया

blog

विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा ५० जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया सम्पन्न । तस्बिर : सुजन बज्राचार्य

सुजन बज्राचार्य
सङ्खुवासभा, भदौ २१ गते ।
तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीले विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा ५० जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया सम्पन्न गरेको छ ।

शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा करिब ३५० जनाको आँखा परीक्षण गरिएको उपचार केन्द्रका प्रमुख क्षितिज बरालले जानकारी दिनुभयो ।  उहाँका अनुसार, दृष्टिमा समस्या देखिएका बिरामीलाई तत्काल उपचार दिइएको र आवश्यक परेका बिरामीलाई निःशुल्क चश्मा पनि वितरण गरिएको हो ।

बरालका अनुसार उपचार केन्द्रले गाउँघरमै सहज आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता शिविरलाई नियमित रूपमा सञ्चालन गर्दै आएको छ । यसपटक विराटनगर आँखा अस्पतालका विशेषज्ञ टोलीलाई खाँदबारी ल्याएर सेवा उपलब्ध गराइएको हो ।

शिविर विशेष गरी आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि उपयोगी बनेको बताउँदै बरालले आकस्मिक अवस्थाका बिरामीलाई भने थप उपचारका लागि विराटनगर आँखा अस्पताल रिफर गरिएको जानकारी दिनुभयो ।