• २१ भदौ २०८२, शनिबार

चिनियाँ सुरक्षा नियामक निकायका पूर्वप्रमुखलाई भ्रष्टाचारको अभियोग

blog

बेइजिङ, भदौ २१ गते । चीनको धितोपत्र बजारका लागि सर्वोच्च नियामक निकायका पूर्व प्रमुखमाथि अनुसन्धान भइरहेको भ्रष्टाचार विरोधी अधिकारीले शनिबार बताएका छन् ।

विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको चीनको बजारमा महिनौंसम्म चलेको उथल पुथलपछि गत वर्षको सुरुमा हुइमानलाई अचानक चिनियाँ सुरक्षा नियमन आयोग (सिएसआरसी) को अध्यक्ष पदबाट हटाइएको थियो । देशका दुई शीर्ष भ्रष्टाचार विरोधी निकायले शनिबार एक अनलाइन वक्तव्यमा यीले ‘अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आशङ्का गरिएको’ घोषणा गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “६० वर्षीय पूर्व अधिकारीलाई केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय सुपरिवेक्षण आयोगद्वारा अनुशासनात्मक पुनरावलोकन र सुपरिवेक्षण अनुसन्धान भइरहेको छ ।” चिनियाँ राष्ट्रपति सी चिनफिङले एक दशकअघि सत्तामा आएदेखि नै भ्रष्टाचारविरुद्ध निरन्तर कारबाही गर्दै आएका छन् ।

समर्थकले सरकारको नीतिले स्वच्छ शासनलाई बढावा दिने बताए पनि राष्ट्रपति सीका आलोचकले यसलाई चिनियाँ राजनीतिक प्रतिद्वन्द्वीलाई अघि बढ्नबाट रोक्ने वर्तमान् नेतृत्वको चलाखीपनको रूपमा उल्लेख गरेका छन् । यो अभियानले देशको विशाल बैङ्किङ तथा वित्तीय क्षेत्रलाई विशेष गरी प्रभावित पारेको छ ।

इन्डस्ट्रियल एण्ड कमर्सियल बैँक अफ चाइनाका पूर्व अध्यक्ष यीलाई सन् २०१९ को जनवरीमा सिएसआरसीको उच्च पदमा नियुक्त गरिएको थियो । उहाँले लिउ शियुको उत्तराधिकारीका रूपमा जिम्मेवारी सम्हाल्नु भएको थियो । लिउमाथि पनि यस्तै अनुशासन उल्लङ्घनको अनुसन्धानका लागि बर्खास्त गरी पदच्युत गरिएको थियो । रासस/एएफपी