• २१ भदौ २०८२, शनिबार

पालिकाको कामप्रति भूमिहीनको गुनासो

blog

भूमि समस्या समाधान आयोग सप्तरीका अध्यक्ष अखिलेश झा । तस्बिरः सुधा देव

सुधा देव

भारदह (सप्तरी), भदौ २१ गते । भूमि समस्या समाधान आयोग सप्तरीका अध्यक्ष अखिलेश झाले भुमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई निवेदन दिन अन्तिम पटक सूचना निकाले पनि सप्तरीका केही पालिकाले चासो नदेखाएको बताउनुभएको छ ।

सप्तरीको विष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकाले अहिलेसम्म प्रक्रिया सुरू नगरेको बताउनुभयो । अहिलेसम्म प्रक्रिया सुरू नभएको पालिकाको भुमिहीन दलित, भुमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीका लागि राज्यले दिएको सुविधाबाट बञ्चित हुने  बताउनुभयो ।

उहाँले भन्नुभयो, “म अध्यक्ष भएपछि प्रक्रिया थाल्न पालिका पुगेर पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ गरेको छैन ।’ जनप्रतिनिधिको लापरवाही राज्यले दिएको सुविधाबाट बञ्चित गर्नखोज्नु गैरजिम्मेवार देखिएको उहाँले बताउनुभयो । छिन्नमस्ता, महदेवा गाउँपालिकाले प्रक्रिया अगाडि बढाइसकेको अध्यक्ष झाले बताउनुभयो ।

जिल्लाको १८ पालिकामध्ये सप्तकोशी, खडक, राजविराज, कञ्चनरूप, बोदेबर्साइन, डाक्नेश्वरी, सुरुङ्गा, हनुमाननगर कङ्कालिनी नगरपालिका र अग्निसाइर कृष्णासवरन, रूपनी, राजगढ, तिरहुत गाउँपालिकासहित १३ वटा पालिकामा ८० प्रतिशत काम सकिएको र निस्सा वितरण भइरहेको उहाँले बताउनुभयो ।

यस्तै, खडक, सप्तकोशी नगरपालिका र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा नापी गर्ने कार्य चलिरहेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष झाका अनुसार सप्तरीमा आर्थिक वर्ष २०८१–८२ जेठ महिनाभित्र भूमिहीन दलित पाँच हजार १७ जना, भूमिहीन सुकुम्वासी दुई हजार ६८९ जना गरी बाह्र हजार ९८८ जनाले आयोगमा आवेदन दिएको छ । 

अन्तिम पटक सूचना निकालेपछि अहिले निवेदन लिने काम सुरू छ । त्यस्तै, अव्यवस्थित बसोवास (अधुरो,अपुरो) का २४७ वटा आवेदन परेको थियोे भने अहिले निवेदन लिनेक्रम जारी रहेको उहाँले बताउनुभयो । सप्तकोशी नगरपालिका र रूपनी गाउँपालिकामा काम अन्तिम चरणमा पुगिसकेको र यसै महिनाभित्र जग्गाधनी पुर्जा वितरण तयारी भइरहेको आयोगका अध्यक्ष झाले जानकारी दिनुभयो ।