जेरुसेलम, भदौ २१ गते । इजरायल रक्षा बल (आइडीएफ)ले शनिबार गाजा स्ट्रिपको दक्षिणी भागमा नयाँ मानवतावादी क्षेत्रको घोषणा गरेको छ । यो कदम गाजा सिटी कब्जा गर्नका लागि योजना बनाइएको सैन्य अपरेसनको तयारी स्वरूप लिइएको हो ।
आइडिएफद्वारा जारी गरिएको विज्ञप्तिअनुसार, उक्त मानवतावादी क्षेत्र खान युनिसमा निर्धारण गरिएको छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार, गाजा सिटीमा भुइँसतही कारबाही विस्तार र हामासका मुख्य गढको नियन्त्रण लिन ‘गिदिओन च्यारियट्स २’ अभियानअन्तर्गत यो क्षेत्र निर्धारण गरिएको हो ।
आइडीएफले नयाँ मानवतावादी क्षेत्रमा अत्यावश्यक पूर्वाधार रहेका जानकारी दिएको छ, जसमा फिल्ड अस्पताल, पानी आपूर्ति पाइपलाइन सुविधाहरू समावेश छन् । साथै, उक्त क्षेत्रमा खाद्यान्न, टेन्ट, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीहरूको आपूर्ति निरन्तर गरिने छ । आइडिएफका अरबी भाषाका प्रवक्ता अविचाय अद्रयीले सामाजिक सञ्जालमार्फत गाजा सिटीका बासिन्दालाई सो क्षेत्रतर्फ छिटो स्थानान्तरण हुन आग्रह गर्नु भएको छ ।
उहाँले यसलाई ‘एक सुरक्षित अवसर’ को रूपमा वर्णन गर्नु भएको छ । इजरायल रक्षा बल (आइडिएफ) ले मानवीय सहायता र पूर्वाधार व्यवस्थापन कार्य संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय संस्थाको समन्वयमा निरन्तर अगाडि बढाइने थप स्पष्ट पारेको छ । यससँगै गाजा सिटीमा भुइँ कारबाही पनि विस्तार गरिने जानकारी दिइएको छ ।
सन् २०२३ मा हामासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गर्दा एक हजार २०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने करिब २५० जना बन्धक बनाइएका थिए । सो घटनापछि इजरायलले गाजामा सुरु गरेको आक्रमणमा हालसम्म ६४ हजार भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको र एक लाख ६१ हजार भन्दा बढी घाइते भएको गाजा स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । रासस/सिन्ह्वा