काठमाडौँ, भदौ २१ गते । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्षको पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को पाँच सदस्यीय खेलाडी छनोट समितिले शनिबार २२औँ संस्करणको स्पोर्ट्स अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी तथा वर्ष प्रशिक्षकमा उत्कृष्ट पाँच–पाँच जनाको मनोनयन गरिएको छनोट समितिले जनाएको छ ।
वर्ष पुरुषमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, उसुका विजय सिन्जाली, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र खो खो खेलका जनक चन्द मनोनयनमा पर्नुभएको छ ।
महिलातर्फ करातेकी एरिका गुरुङ र एलिसा रास्कोटीमगर, फुटबलकी रेखा पौडेल, खो खोकी मानमति धामी र भलिबलकी सलिना श्रेष्ठ मनोनयनमा हुनुहुन्छ ।
यस्तै वर्ष युवा खेलाडीको मनोनयनमा एथलेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, क्रिकेटकी पूजा महतो, बक्सिङकी स्वस्तिका र फुटबलका समीर तामाङ पर्नुभएको छ ।
वर्ष प्रशिक्षकमा पारा तेक्वान्दोका कविराज नेगी लामा, करातेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खो खोका लक्ष्मीनारायण वैद्य मनोनयनमा पर्नुभएको छ ।
अवार्डकै पिपल्स च्वाइस विधाको मनोनयन यसअघि सार्वजनिक भइसकेको छ । यस विधामा विजय सिन्जाली (उसु), पूजा महतो (क्रिकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल) र इभाना थापा (टेबलटेनिस) मनोनयनमा हुनुहुन्छ ।
अवार्डको अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ ।
वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको विजेतालाई पल्सर मोटरबाइक प्रदान गरिनेछ । अन्य विधाका विजेताले जनही एक लाख रुपियाँ र गिफ्ट ह्याम्पर पाउनेछन् । अवार्ड पोखरामा भदौ २९ गते हुनेछ ।