• २१ भदौ २०८२, शनिबार

आक्रमणअघि गाजा छोड्न इजरायली सेनाको निर्देशन

blog

जेरुसेलम, भदौ २१ गते । इजरायली सेनाले गाजा सहरका बासिन्दालाई शनिबार योजनाबद्ध आक्रमणअघि यस क्षेत्र छोड्न निर्देशन दिएको छ । सेनाले आक्रमणका लागि कुनै समय-सीमा नतोकी आक्रमणको घोषणा गरेको जनाइएको छ । 

घोषणालाई आत्म साथ गरी मानवीय क्षेत्रबाट चाँडै सर्न सैन्य प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जालमार्फत् निर्देशन दिनु भएको हो । गाजाको दक्षिणी तटमा रहेको अल–मवासीमा खाना, शिविर, औषधि र चिकित्सा उपकरणको निरन्तर आपूर्तिको साथै घुम्ती अस्पताल, पानी लगायतका सुविधा भएको सेनाले बताएको छ ।

अल-मवासीमा संयुक्त राष्ट्र र अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा राहत सहयोगका प्रयास निरन्तर जारी रहनेसमेत जनाइएको छ। सुरुवाती समयमा इजरायलले अल-मवासीलाई सुरक्षित क्षेत्र घोषणा गरेको थियो, तर नागरिकबिच लुकेका हमास लडाकुहरूलाई लक्षित गरेको भन्दै हाल त्यहाँ बारम्बार आक्रमण गरिरहेको छ ।  

स्थानीय बासिन्दाहरुले कोही बस्ती खाली गर्न भन्ने र कोहीले बस्नुपर्ने बताएपछि दोहोरो आक्रमणको त्रासबिच हाल उनीहरू रिमल क्षेत्रको एउटा शिविरमा शरण लिइरहेको जनाएका छन् ।  

-अमेरिका ‘गम्भिर वार्ता’मा-

लगभग दुई वर्षको द्वन्द्व अन्त्य गर्न बढ्दो अन्तर्राष्ट्रिय दबाबको बाबजुद गाजा सहर वरपर आफ्नो कारबाही बढाउँदै गर्दा इजरायली सेनाले प्यालेस्टिनी नागरिकलाई बस्ती छोड्न निर्देशन गरेको छ । हमासले गत महिना अस्थायी युद्धविराम र चरणबद्ध बन्धक मुक्तिको प्रस्तावमा सहमति जनाएको थियो । यसैबिच, इजरायलले आतङ्कवादी समूहलाई सबै बन्धकलाई एकैचोटि रिहा गर्न, अन्य सर्तसहित निरस्त्रीकरणको माग गरेको छ ।

शुक्रबार ह्वाइट हाउसमा पत्रकार समक्ष राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका बन्दीको विषयलाई लिएर अमेरिकाले हमाससँग वार्ता गरिरहेको बताउनु भएको थियो । गत महिना अनिकाल घोषणा गरेको गाजा सहर र वरपर करिब १० लाख मानिस रहेको संयुक्त राष्ट्रसङ्घको अनुमान छ । यदि आक्रमण जारी रह्यो भने यसले ‘प्रकोप’ निम्त्याउने चेतावनीसमेत राष्ट्रसङ्घले दिएको छ । इजरायलले आक्रमणले दस लाख मानिसलाई विस्थापित गर्ने अपेक्षा गरेको बताएको छ । रासस/एएफपी