• २१ भदौ २०८२, शनिबार

सूचीकृत हुन एक्स सम्पर्कमा

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ २१ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल सूचीकृत हुन आह्वान गरेपछि एक्स (ट्विटर) सम्पर्कमा आएको छ । एक्सको सिङ्गापुर कार्यालयले सूचीकृत हुन सञ्चार मन्त्रालयलाई शुक्रबार इमेलमार्फत पत्र पठाएको हो । नेपालमा सक्रिय २५ सामाजिक सञ्जाल पहिचान गरेर सञ्चार मन्त्रालयले निष्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई बिहीबार पत्र पठाएको थियो । 

“एक्सले औपचारिक इमेल पठाएको छ । हामी सूचीकृत हुन तयार छौँ, के के डकुमेन्ट (कागजपत्र) चाहिन्छ भनेर माग गरेको थियो । त्यसको जवाफ शक्रबार बिहानै पठाइसकेका छौँ,” गोरखापत्रसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले ठाकुरले भन्नुभयो, “सिङ्गापुरबाट एक्सको एलिजा मार्को नाम गरेको व्यक्तिबाट इमेल पठाइएको उल्लेख छ । सामाजिक सञ्जाल मेटा फेसबुक, म्यासेन्जर, ह्वाट्सएपलगायत अरू कुनै सामाजिक सञ्जालबाट सूचीकृत हुन आधिकारिक रूपमा आएका छैनन् ।”  

हालसम्म टिकटक, भाइबर, विटक, निम्बज, पोपो लाइभ, हाम्रो पात्रो मात्रै सूचीकृत भएको मन्त्रालयले जनाएको छ । टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको प्रवक्ता ठाकुरले बताउनुभयो । ती दुई सामाजिक सञ्जालले सबै प्रक्रिया पूरा गरेकाले आइतबार (भदौ २२ गते) सूचीकृतको प्रमाण पाउने उहाँले बताउनुभयो । 

अनुगमन गर्न प्राविधिक टोली गठन 

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार इन्टरनेटप्रदायक १०८ संस्थासहित दुई मोबाइल सेवाप्रदायक ‘नेपाल टेलिकम र एनसेल’ लाई सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन बिहीबारै पत्राचार गरिसकेको जानकारी दिनुभयो । 

“हामीले आज इन्टरनेट प्रदायक र मोबाइल सेवा प्रदायक दुवैलाई बोलाएर सरकारले दिएको निर्देशनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल ग¥यौँ । त्यसमा कार्यान्वयनको पाटोलाई केलाएर कसरी प्रभावकारी बनाउने भन्नेबारेमा सबैको सुझाव सुनियो,” प्रवक्ता आर्यालले भन्नुभयो, “अनुगमन गर्न प्राविधिक ज्ञान भएका दुई/दुई जना हुने गरी सात सदस्यीय टोली गठन ग¥यौँ । टोलीले अनुगमन गरिराखेको छ ।”