ब्रह्म संहिता (५.१) मा ब्रह्माजीले भगवान् सत्, चित् र आनन्दले परिपूर्ण भएको कुरा व्यक्त गर्नुभएको छ । जीव भगवान्को सूक्ष्म अंश भएकाले उसको स्वभाव पनि सूक्ष्म रूपमा यही नै रहन्छ । जस्तो कि समुद्रको एउटा थोपा पानी समुद्रकै गुणले युक्त हुन्छ तर त्यो थोपालाई नै समुद्र भन्न सकिँदैन । यही हो, जीव र ईश्वरबिचको भिन्नता । यसबाट बुझ्नुपर्ने कुरा के हो भने आनन्दित रहनु जीवको शाश्वत स्वभाव हो । जसरी खुर्सानी पिरो हुन्छ, नुन नुनिलो हुन्छ, पानी तरल हुन्छ; त्यसरी नै मानिसको मूल स्वभाव आनन्दित रहनु हो तर सांसारिक प्रभाव वा मनको चञ्चलताले विभिन्न मानक बनाउन खोज्दा उसले आधारभूत कुरा बिर्सिरहेको हुन्छ । बलियो जगबिनाको मजबुत घरको कल्पना गर्न सकिन्छ त ?
उपदेशामृतमा श्रील रूप गोस्वामीले भगवान्का तीन प्रकारका शक्तिको व्याख्या गर्नुभएको छ– अन्तरङ्ग, तटस्थ र बहिरङ्ग शक्ति । तीमध्ये जीव तटस्थ शक्तिभित्र पर्छ । अन्तरङ्ग शक्ति भन्नाले जुन शक्ति भगवान्बाट कहिल्यै अलग रहन सक्दैन र बहिरङ्ग शक्ति भनेको भौतिक जगत् हो । जीव तटस्थ भएकाले उसको चाहना र सङ्कल्प अनुसार ऊ भगवान्तिर उन्मुख हुन्छ वा मायातिर तानिन्छ । मनोविज्ञानमा यसलाई ‘फ्री विल’ भनिन्छ । विलियम जेम्सले आफ्नो अनुसन्धानमा मानिसलाई भाग्यको निर्णयकर्ता भनेका छन् । यहाँ माया भन्नाले जे छैन, त्यही कुरालाई साँचो ठान्ने प्रवृत्ति हो । यसरी हेर्दा दिग्भ्रमित हुनु जीवको स्वभाव हो ।
घनश्याम खड्काद्वारा लिखित आनन्द संहिताले मानिसको सुषुप्त अवस्थामा रहेको आनन्दलाई उजागर गर्ने प्रयास गरेको छ । निराकारवाद, साकारवाद र विज्ञानको त्रिवेणीमार्ग हुँदै बगेको यस कृतिले व्यक्तिलाई आनन्दको सूत्र प्रदान गरेको छ । आख्यान र गैरआख्यान दुवै विधामा कलम चलाउने खड्काका निर्वाण, पुतलीको घर, न्यायको अवसान, जीवन र न्याय, दरबारको दुःखान्त जस्ता कृति प्रकाशित छन् । मनोविज्ञान अनुसार हरेक मानिसमा दैनिक ६० देखि ८० हजार विचार उत्पन्न हुन्छन् र अन्त्य हुन्छन् । यस्ता विचारद्वारा कसरी शारीरिक, मानसिक र आध्यात्मिक शुद्धि सम्भव हुन्छ भन्ने उपाय पुस्तकमा प्रयोगात्मक ढङ्गले प्रस्तुत गरिएको छ । ‘थिङ्क एन्ड ग्रो रिच’ का लेखक नेपोलियन हिलले पनि सफल र खुसी जीवन पाउनका लागि कुनै कुरा प्राप्त नभएसम्म पनि निरन्तर लक्ष्यलाई लेखिरहन आग्रह गरेका छन् । यसलाई खड्काले ‘विरेचन’ शीर्षकमा स्पष्ट पारेका छन् ।
अमेरिकी मनोवैज्ञानिक बर्बरा फ्रेड्रिक्सनको ‘ब्रोडन एन्ड बिल्ड थ्योरी अफ पोजेटिभ इनोसन्स’ अनुसार सकारात्मक भावना जस्तै आनन्द, कृतज्ञता, शान्ति, प्रेम, रमाइलो र जिज्ञासाले मानिसलाई सिर्जनात्मक, उदार र शारीरिक रूपमा स्वस्थ रहन मद्दत गर्छ । यसले प्रतिरोधात्मक क्षमता बढाउँछ र सोच्ने दृष्टिकोणलाई फराकिलो बनाउँछ । जब मानिस फराकिलो विचार, सहिष्णु व्यवहार र उन्नत संस्कारको चक्रलाई आत्मसात् गर्छ, ऊ अहङ्कारबाट मुक्त भई वास्तविक आनन्दको यात्रामा प्रवेश गर्छ ।
अध्यात्मलाई बुझ्नुअघि प्रकृति र प्रकृतिका उपजबिच भिन्नता छुट्याउन जरुरी हुन्छ । हामीले देख्ने रुख प्रकृति होइन, बरु प्रकृतिको उपज हो किनभने यो पृथ्वी, जल, अग्नि, वायु र आकाश जस्ता पञ्चमहाभूतले बनेको छ । श्रीमद्भागवत गीता यथारूपमा भगवान् श्रीकृष्णले भन्नुभएको छ, “म सृष्टिको बिज प्रदाता हुँ ।” यसबाट आत्मा, परमात्मा र भगवान्को अस्तित्व स्पष्ट बुझ्न सकिन्छ । लेखकले मन र शरीरबिचको दुरी घट्दै जाँदा खुसीको स्तर बढ्ने कुरा उल्लेख गर्नुभएको छ । आधुनिक चिकित्साले यसलाई रोगप्रतिरोधात्मक क्षमतासँग तुलना गरेको छ । मानिसलाई चिन्तामुक्त बनाउन उहाँले एउटा रमाइलो दृष्टान्त दिनुभएको छ, “मानव जन्म हुनुअघिको स्पर्धामा ५० करोड वीर्यमध्ये एउटा मात्र अन्डासँग मिल्न सफल भयो ।” यस तथ्यलाई स्मरण गर्ने हो भने मानिस आफूलाई चिन्तित नभई भाग्यमानी महसुस गर्छ । यो अनुभूतिमा पुगेपछि उसलाई कहिल्यै निराशा वा दुःखले हल्लाउन सक्दैन ।
आनन्द प्राप्तिका लागि मनमा रहेका कठोरता, क्रूरता र ईष्र्याका काँडा उखेल्नु जरुरी हुन्छ । त्यसको सट्टा करुणाको मल हाल्नु पर्छ, प्रेमको बिउ रोप्नु पर्छ र मैत्रीभावको जलले हृदयलाई सिञ्चित गर्नु पर्छ । जीवनमा केही प्राप्त होस् वा सबै गुमोस्; मन आत्मसन्तुष्टि र आत्ममिलनमा स्थिर छ भने संसारका सुखदुःखले उसलाई प्रभावित गर्न सक्दैनन् । भागवत गीतामा भगवान् श्रीकृष्णले यस्तै स्थितिलाई ‘स्थितप्रज्ञ’ भनी वर्णन गर्नुभएको छ; जसले सुख–दुःख, हानि–लाभ र जय–पराजयभन्दा माथि उठेर आत्मशान्ति प्राप्त गर्छ ।
लेखकले मानिसको मानसिक प्रवृत्तिलाई स्फटिकसँग तुलना गर्नुभएको छ । स्फटिक जुन रङको सम्पर्कमा पर्छ, त्यही रङ ग्रहण गर्छ । त्यस्तै मानिसको जीवनमा पनि सङ्गत र वातावरणले ठुलो प्रभाव पार्छ । अरूको उपस्थितिमा रमाउने वा आफ्नै उपस्थितिमा रमाउने, अरूलाई दबाएर रमाउने वा अरूलाई बचाएर रमाउने– यी सबै कुरा ऊ कसको सङ्गतमा छ भन्ने कुराले निर्धारण गर्छ ।
मानव जीवन र पशु जीवनबिचको मूल भिन्नता भनेको चेतनाको विकास हो । आहार, निद्रा, भय र मैथुन त दुवैमा समान हुन्छन् तर जब मानिस यी स्वाभाविक वृत्तिभन्दा माथि उठ्छ तब उसको मनमा ब्रह्मज्ञानप्रतिको गहिरो जिज्ञासा जन्मन्छ । यही कारण वेदान्तसूत्रमा भनिएको छ, “अथातो ब्रह्मजिज्ञासा ।” अर्थात् मनुष्य जीवन पाइसकेपछि यस विशाल सृष्टिबारे जिज्ञासा गर । जस्तो कि म कहाँबाट आएँ, सृष्टिसँग मेरो सम्बन्ध के हो ? इत्यादि जसले आनन्द प्राप्तिको मार्ग प्रशस्त गर्छन् ।
यस मार्गमा ढिलाइ गर्नु हुँदैन भन्ने कुरा गौतम बुद्धले पनि स्पष्ट पारेका छन्, “समय प्रशस्त छ भनेर सोच्नु नै मानिसको महानतम भुल हो ।” उपनिषद्हरूमा पनि यसलाई पुष्टि गरिएको छ– जीवन क्षणभङ्गुर छ, चेतनाको जागरण अहिले नै गर्नु पर्छ ।
लेखकले भावना शीर्षकमा मनलाई अहङ्कारसँग तुलना गर्ने प्रयास गर्नुभएको छ । यद्यपि अहङ्कारलाई साकारवादीले ‘फल्स अरडेन्टिटी’ (जे होइन, त्यसलाई हो भनी मान्नु) का रूपमा व्याख्या गर्ने भएकाले यहाँ केही ‘प्याराडक्स’ देखिन्छ । यसबाट बुझ्न सकिन्छ, मन र अहङ्कारको अस्तित्व पूर्णतया समान छैन ।
आनन्द संहिताले दर्शनलाई मात्र शब्दमा बाँधेको छैन, बरु व्यावहारिक जीवनमा बेचैनीबाट मुक्त हुँदै आनन्द प्राप्त गर्ने स्पष्ट उपायको खुड्किलो प्रस्तुत गरेको छ । आनन्दानुभूतिको प्रवाह बढ्दै जाँदा पाठक आफ्नो अध्ययनमा सहजै डुब्छन्, अनि पत्तै नपाई पुस्तकको यात्रा पूरा हुन्छ ।