• २१ भदौ २०८२, शनिबार

नेपालगन्जमा मनाइयो ‘मोहम्मद डे’

blog

नेपालगन्जमा निकालिएको शुभजन्मोत्सव जुलुसमा सहभागी । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, भदौ २० गते । ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैहीवसल्लमको १५०० औं शुभजन्मोत्सव नेपालगन्जलगायत बाँके जिल्लामा मनाइएको छ । 

सो अवसरमा  शुक्रबार बिहान ठुलो सङ्ख्यामा मुस्लिम धर्मावलम्बीको सहभागीतामा नगरपरिक्रमा गरेर शुभोजन्मोत्सव मनाइएको छ । नेपालगन्ज र सो वरिपरिबाट विभिन्न नारा लिखित प्लेकार्ड तथा ब्यानर लिएर गाडी, रिक्सा, अटो र मोटरसाइकलमा आएका तथा पैदल रहेका समुदायका हजारौं सर्वसाधारणको जुलुसमा सहभागीता रहेको थियो । 

सो अवसरमा नगरका विभिन्न स्थानमा निःशुल्क खानेपानी, फलफूल, मिठाई, जुस, चिया र अन्य खानेकुराको व्यवस्था गरिएको थियो । 

सो जुलुसमा पूर्वमन्त्री मोहम्मद ईश्तियाक राई, नेपालगन्जका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दीन राई, मुस्लिम धर्मगुरु तथा अगुवालगायत बालबालिका र युवाको ठुलो सङ्ख्यामा सहभागिता रहेको थियो ।

शुभजन्मोत्सव जुलुसले नेपालगन्जका सबै मुख्य भागको परिक्रमा गरेर करिब पाँच घण्टाको पैदल यात्रापछि स्थानीय गौसिया मदरसामा पुगेर समापन गरिएको मुस्लिम अगुवा तथा मुस्लिम इत्तेहा संगठनका केन्द्रिय अध्यक्ष मोहम्मद हारुन हलवाइले बताउनुभयो । 

समापनमा मुस्लिम अगुवा तथा धर्मगुरुले हजरत मोहम्मदको सन्देश र जीवनीबारे आ–आफ्नो धारणा राख्दै देशमा शान्ति, विकास र अमन चयनको प्रार्थना गरेको धर्मगुरु मौलाना जमालले बताउनुभयो । 

मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले मोहम्मद डे मा सार्वजनिक बिदा माग गरिएपनि सरकारले समुदायलाई मात्रै बिदा दिएको भन्नुहुँदै असन्तुष्टि व्यक्त गर्नुभयो । यसले मुस्लिम समुदायको भावनामा चोट पुर्‍याएको उहाँको भनाइ छ । 

 उहाँले बाँकेका आठमध्ये पाँच पालिकाले भने सार्वजनिक बिदा दिएकोमा ती पालिकालाई धन्यवाद दिँदै खुशी व्यक्त गर्नुभयो । 

मोहम्मद डे को अवसरमा बाँकेका नेपालगन्ज उपमहानगर, नरैनापुर, जानकी, डुडुवा, खजुरा र बैजनाथ गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएका छन् । 

मोहम्मद डे का लागि नेपालगन्ज नगरलाई दुई दिन पहिलेदेखि नै दुलही झै सिङ्गारिएको थियो । जताततै ध्वजा पताका, लाइट र झण्डाले सजाइएको  थियो । सहरलाई रङ्गीचङ्गी बनाइएको छ । 

जन्मोत्सवका अवसरमा बिहीबार रातभर विभिन्न मस्जिद र मदरसामा जाग्राम बसेर धार्मिक प्रार्थना गरिएका थिए भने राती पनि विभिन्न स्थानमा छुट्टा छुट्टै जुलुस निकालिएको मुस्लिम अगुवा अब्दुल करिम खानले बताउनुभयो । 

Author
सिराज खान

उहाँ गोरखापत्र दैनिकका लागि बाँकेबाट नेपालगञ्ज समाचारदाता हुनुहुन्छ ।