• १० असार २०८२, मङ्गलबार

नेपालगन्ज उपमहानगरपालिकाद्वारा एक अर्ब ६४ करोडको बजेट प्रस्तुत

blog

नेपालगन्ज उपमहानगरको १७ औँ नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख राई । तस्बिर : सिराज खान

नेपालगन्ज, असार १० गते । पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक २०८२/०८३ का लागि एक अर्ब ६४ करोड ७१ लाख रुपियाँको आय–व्यय प्रस्तुत गरिएको छ । 

नेपालगन्ज उपमहानगरपालिकाको मङ्गलबार सुरु भएको नगरसभाको १७ औँ अधिवेशनमा नगरसभाका उपाध्यक्ष तथा उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ६४ करोड ७१ लाख रुपियाँको अनुमानित आयव्यय प्रस्तुत गर्नुभयो ।

उहाँले उपमहानगरपालिकालाई सङ्घीय सरकारबाट सशर्त अनुदान ६२ करोड ६३ लाख, वित्तीय समानीकरण अन्तर्गत २६ करोड ७९ लाख, राजस्व बाँडफाँटबाट २३ करोड, घर जग्गा रजिस्ट्रेसनबाट १२ करोड, आन्तरिक आय २३ करोड प्राप्त हुने जानकारी दिनुभयो ।  

यसैगरी, विशेष अनुदान एक करोड ३५ लाख, समपुरक अनुदान ५३ लाख रुपियाँ रहने जनाइएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण एक करोड ९० लाख २१ हजार, राजस्व बाँडफाँट दुई करोड ३२ हजार, सशर्त अनुदान दुई करोड २९ लाख, समपूरक अनुदान एक करोड ५० लाख र विशेष अनुदान एक करोड ३५ लाख रुपियाँ प्राप्त हुने उपप्रमुख राईले बताउनुभयो । 

यसैगरी, जनसहभागिताबाट एक करोड २५ लाख, वन रोयल्टीबाट तिन लाख ६६ हजार र बैँक मौज्दात ११ करोड ४१ लाख आन्तरिक आम्दानी रहने अनुमान गरिएको छ ।

यसअघि सो १७ औँ नगरसभामा नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । 

कार्यक्रममा नगरसभाका सदस्य तथा वडाध्यक्ष गोपाल पुन, कौशलकुमार धोबी, दीपक वर्मा, राजकुमार साहु, प्रमोद रिजाल र उपमहानगरपालिकाका कार्यकारी प्रमुख ओमबहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । 

उपमहानगरले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको बजेट भन्दा केही वृद्धि गरी प्रस्तुत गरिएको छ । आर्थिक २०८१-०८२ का लागि एक अर्ब ५० करोड ३८ लाख रुपियाँको बजेट प्रस्तुत गरिएकोमा आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ६४ करोड ७१ लाख रुपियाँको बजेट प्रस्तुत गरिएको छ । 

यसअघिका अघिल्ला आर्थिक वर्षहरू मध्ये आर्थिक वर्ष २०८०/०८१ मा एक अर्ब ८५ करोड ३४ लाख पारित भएको थियो भने आर्थिक वर्ष २०७९/०८० मा दुई  अर्ब चार करोड ९८ लाखको बजेट पारित गरिएको थियो । 

Author
सिराज खान

उहाँ नेपालगञ्जबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।