• २० वैशाख २०८१, बिहिबार

बाँके राष्ट्रिय निकुञ्जकाे आकर्षण जङ्गल सफारी

blog

पर्यटक बढाउन निकुञ्जमा गरिएको जङ्गल सफारीमा सहभागीहरू । तस्बिर: सिराज खान

नेपालगन्ज, पुस १० गते । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा) बाँके च्याप्टरको आयोजनामा बाँके राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी गरिएको छ । 

देशभित्र र बाहिरका पर्यटकलाई बाघ अवलोकनका लागि आकर्षित गर्ने लक्ष्यमा  ठुलो सङ्ख्यामा जिल्लाका उद्योगी, व्यवसायी, पर्यटनकर्मी, प्रदेश सांसद, राजनीतिकर्मी, चिकित्सक, सञ्चारकर्मी लगायतको सहभागितामा निकुञ्जको सहकार्यमा जङ्गल सफारी गरिएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा) बाँके च्याप्टरले जनाएको छ । 

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जङ्गल सफारीमा गएको टोलीले निकुञ्ज मुख्यालय ओभरीबाट भित्र जङ्गलमा प्रवेश गरी वनपथ हुँदै झुरीखोला भएर राजमार्गमा निस्केको बताउनुभयो । उहाँले सो क्रममा बाघको आवाज नजिकैबाट सुनिनुका साथै चित्तल लगायतका वन्यजन्तु देखिनुका साथै मचान, सौर्य ऊर्जाजडित पोखरीहरू अवलोकन गरिएको बताउनुभयो ।  

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले पर्यटन प्रवर्द्धनका लागि बेला बेलामा जिल्लाका सरोकारवालाको सहभागितामा सफारी आयोजना गर्दै आएको जनाउँदै यसबाट पर्यटक तान्न मद्दत मिल्ने बताउनुभयो । उहाँले बाघ अवलोकनका लागि सबैभन्दा उपयुक्त मानिएको बाँके निकुञ्जको राम्रो प्रचार प्रसार गर्न सकिए देश र विदेशबाट ठुलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने बताउनुभयो । 

निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले जङ्गल सफारीले निकुञ्जमा पर्यटकीय गतिविधि बढाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले यस्ता कार्यक्रमले आन्तरिक एवं बाह्य पर्यटकलाई निकुञ्जमा जङ्गल सफारी र पदयात्रा गर्नेतर्फ आकर्षित गर्ने बताउनुभयो । उहाँले पर्यटकको आगमन बढेपछि निकुञ्ज क्षेत्रका जनताको जीवनस्तरमा वृद्धि हुने बताउनुभयो । 

बाँके निकुञ्जमा २५ बढी पाटे बाघ छन् भने ३०० प्रजातिका चरा, ३४ प्रजातिका स्तनधारी जनावर र २४ प्रकारका घस्रिएर हिँड्ने जनावर छन् । निकुञ्जले बुच्चा पुर र खड्गावरमा हात्तीसार स्थापना गरेर ६ वटा घरपालुवा हात्तीबाट पर्यटकलाई निकुञ्जको जङ्गल क्षेत्र घुमाउने र दुर्लभ वन्यजन्तु पाटे बाघको अवलोकन गराउने गरेको छ ।  

सडक तथा हवाई यातायातको सहज पहुँच र एक दर्जनभन्दा बढी तारे होटेलको सुविधा भएका कारण बाँके निकुञ्जको अवलोकनका लागि बाँके पुग्न पर्यटकलाई कुनै समस्या छैन । 

Author
सिराज खान

उहाँ नेपालगञ्जबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।