इमान सिं राना
रामपुर (पाल्पा), भदौ २१ गते । संसदीय निर्वाचनको झल्को दिने गरी पाल्पामा खानेपानी संस्थाको निर्वाचन भइहेको छ । रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको हो ।
तेस्रो अधिवेशनअन्तर्गत सर्वसहमतिमा नेतृत्व चयन हुन नसके पछि शनिबार बिहान ८ बजेदेखि मतदान जारी रहेको छ । रामतुलसी नमुना माध्यमिक विद्यालयको परिसर भित्र प्रहरीको सुरक्षा घेराका बिच मतदान भइरहेको रहेको छ । मतदानका लागि अन्य निर्वाचनमा मतदानस्थल भित्र मतदान केन्द्र निर्धारण गरिए जस्तै ६ वटा ब्लकको छुट्टा छुट्टै मतदान केन्द्र निर्माण गरिएको छ ।
मतदाताहरू विद्यालयको गेट र मतदान केन्द्रमा लामबद्ध छन् । ब्यालेट बक्ससँगै मतदान स्थलको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । निधारित समय अनुसार बिहान ८ बजेदेखि शान्त वातावरणमा मतदान भइरहेको निर्वाचन समितिका संयोजक सूर्यदर्शन पण्डितले जानकारी दिनुभयो । मतदानलाई व्यवस्थित बनाउन निर्वाचनमा ४२ जना कर्मचारी तथा सहयोगी परिचालन गरिएको बताउनुभयो ।
संस्थामा आबद्ध उपभोक्तालाई नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमति पत्र र जग्गाधनी पूर्जाको प्रमाण पत्र लगायतका प्रमाणपत्रको आधारमा मतदान गर्न गर्न पाइने व्यवस्था गरिएको छ । निर्वाचन शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको २१ जनासहित ३५ जना प्रहरी निर्वाचनको सुरक्षाका लागि परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिक सङ्घ पाल्पाका अध्यक्ष देवराज ढकालले मतदान गरी निर्वाचनको शुभारम्भ गर्नुभएको थियो । निर्वाचन राजनैतिक दलहरूले दुई वटा प्यानल बनाएर आ–आफ्ना उम्मेदवारलाई प्रतिस्पर्धामा उतारेको छ । अध्यक्षमा नेपाली कांग्रेस बाट हजुल मियाँ र नेकपा एमाले, नेकपमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त प्यानलबाट कमलराज भट्टराईले प्रतिस्पर्धा गर्नुभएको छ । अध्यक्षसहितको नौ जना कार्यसमितिका लागि १८ जना, ६ वटा ब्लक संयोजकका लागि १२ जना र ३ जना लेखा समितिको पदाधिकारीका लागि ६ जनाको प्रतिस्पर्धा रहेको छ । तीन हजार ६८४ मतदाता रहेको खानेपानी संस्थाको निर्वाचनमा साँझ ५ बजेसम्म मतदान हुने छ ।