अमरराज नहर्की
तनहुँ, भदौ २१ गते । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको दमौलीमा निर्माणाधीन मादी नदीमाथिको चार लेनको पुल चालु आर्थिक वर्ष २०८२/८३ भित्रै सम्पन्न हुने भएको छ ।
व्यास नगरपालिका–४ र ५ लाई जोड्ने यो पुल हालसम्म करिब ७१ प्रतिशत काम सकिएको र बाँकी काम चालु आर्थिक वर्ष भित्रै पूरा हुने गरी काम तीव्र गतिमा भइरहेको मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
३१५ मिटर लामो सो पुलमा कुल छ वटा स्पान रहने छन्। सन् २०२२ अगस्ट ११ मा करिब एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भई निर्माण कार्य सुरु गरिएको हो ।
नेपालमै पहिलो पटक ‘आर्क डिजाइन’ मा चार लेनको पुल बन्ने भएकाले यो पुल प्रविधिक दृष्टिले मात्रै नभई कलात्मक हिसाबले पनि महत्त्वपूर्ण रहेको इन्जिनियर पाण्डेले बताउनुभयो ।
हाल नदीमाथि दुई लेनको ३७० मिटर लामो पुल सञ्चालनमा छ। त्यसैको करिब ५० मिटर दक्षिणतर्फ नयाँ पुल निर्माण भइरहेको छ। “पर्यटकलाई समेत आकर्षित गर्ने हिसाबले डिजाइन गरिएको यो पुल यातायात मात्र नभई पर्यटन प्रवर्धनमा पनि योगदान पुर्याउने छ,” उहाँले भन्नुभयो ।
निर्माण कम्पनी जेड आइसष्ट–अन्नक जेभी का साइट इन्चार्ज इन्जिनियर धर्मप्रताप लामगादेले दैनिक एक सय कामदार परिचालन गरी कामलाई गति दिइएको जानकारी दिनुभयो ।
आयोजना अनुसार पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) अन्तर्गत हालसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन्। करिब ८६ प्रतिशत काम सकिएको छ भने ४१.४५ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भइसकेको पाण्डेले जानकारी दिनुभयो ।
वि.सं २०७७ माघ १७ गते ठेक्का सम्झौता भई २०७८ वैशाख २ गतेदेखि सुरु भएको पूर्वी खण्डको काम चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले लिएको हो ।
यो खण्डको ठेक्का रकम ६ अर्ब २१ करोड ३१ लाख १३ हजार छ भने पश्चिम खण्डको ठेक्का रकम ७ अर्ब ४० करोड ४६ लाख पुगेको छ । सडकको प्रारम्भिक रेखाङ्कन विसं २०२६ सालमै भएको थियो।
तर सवारी चाप बढ्दै गएपछि एसियाली विकास बैँकको ऋण सहयोगमा यसलाई चार लेनमा विस्तार गरिएको हो । ठेक्का म्याद असार २९ गते सकिए पनि केही काम बाँकी रहेकाले आगामी असोज ३० गतेसम्मका लागि म्याद थपिएको आयोजनाले जनाएको छ ।