• २१ भदौ २०८२, शनिबार

रास्वपा जनताको अपेक्षा हो : सांसद अशोककुमार चौधरी

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरी

काठमाडौँ, भदौ २१ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीले रास्वपा वैकल्पिक शक्ति भएको बताउनुभएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै चौधरीले यस्तो बताउनुभएको हो। ‘रास्वपा वैकल्पिक शक्ति हो। तर हामीले सोचेको जस्तो काम गर्न संसदीय प्रक्रियामा सफल भएका छैनौँ।’ उहाँले रास्वपा जनताको आशा र अपेक्षा भएको समेत बताउनुभयो । 

बुवा बलराम र आमा हरिवतिको कोखबाट चौधरीको जन्म २०४० साल वैशाख ४ गते इटहरी५, पचरुखीमा भएको हो। पहिलो पटक जनप्रतिनिधि बन्नुभएका चौधरी रास्वपाको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ। २०७० सालमा सम्पन्न भएको संविधानसभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बन्दै उहाँ राजनीतिमा सक्रिय हुनुभएको हो। स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएपछि उहाँ २०७१ सालमा नेपाल परिवार दलमा आबद्ध हुनुभयो। परिवार दलको दोस्रो महाधिवेशनबाट जिल्ला सचिवको जिम्मेवारी निर्वाह गर्नुभयो। चौधरीले २०७९ सालमा परिवार दल परित्याग गर्नुभयो।

सांसद चौधरी २०७९ साल असोज ३१ गते राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुनुभएको हो। उहाँलाई पार्टीले सुरुमा इटहरी नगर सचिवको जिम्मेवारी दिएको थियो। सोही वर्ष साउन ३० गते भएको प्रदेश नम्बर १ को भेलाबाट सर्वसम्मत रूपमा इटहरी नगर सभापति बन्नुभयो। त्यसलगत्तै सोही वर्ष मङ्सिरमा सम्पन्न भएको सङ्घीय निर्वाचनमा उहाँ रास्वपाको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको हो। उहाँ अहिले प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य हुनुहुन्छ।

सांसद चौधरी डोरीतान खेलको अन्तर्राष्ट्रिय खेलाडीसमेत हुनुहुन्छ। उहाँले डोरीतान खेलमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न देशमा प्रतिस्पर्धा गर्नुभएको छ। थारू कल्याणकारी सभा इटहरीमासमेत आबद्ध उहाँले डाेरी तान प्रतियाेगितामा लागि मलेसिया र थाइल्यान्ड समेत पुग्नुभएको छ।

प्रस्तुत छ रास्वपाका केन्द्रीय सदस्य एवम् सुनसरीका प्रतिनिधि सभा सदस्य अशोेककुमार चौधरीसँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’को ५९ औं शृङ्खलामा दिनेश लुइटेलले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्रीः