• २१ भदौ २०८२, शनिबार

थाइल्यान्डका भाबी प्रधानमन्त्रीद्वारा नयाँ चुनावी प्रतिबद्धता

blog

बैंकक, भदौ २१ गते । थाइल्यान्डका नयाँ प्रधानमन्त्रीले गठबन्धनमा फुटपछि बनेको अन्तरिम सरकारले नयाँ चुनावलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न नेतृत्व गर्ने आफ्नो पूरानो वाचालाई सही तरिकाले पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ । 

कन्जर्भेटिभ पार्टीका नेता अनुटिन चार्नविराकुललाई संसदले शुक्रबार अनुमोदन गरेको छ । यसका कारण उहाँका पूर्ववर्ती पेटोङ्टार्न सिनावात्रालाई सत्ताच्युत गरेपछि एक हप्ता लामो शक्ति शून्यता अन्त्य भएको छ । उहाँले विपक्षी समूहको गठबन्धनलाई एक साथ मिलाएर एक पटक प्रभावशाली सिनावात्रा वंशका पूर्वप्रधानमन्त्री थाक्सिनको चुनावी वाहन फेउ थाई पार्टीलाई सत्तामा आउनबाट रोक लगाउन सफल भएको छ । 

नयाँ निर्वाचनका लागि चार महिनाभित्र संसद् विघटन गर्ने शर्तमा उहाँले बहुमत प्राप्त गरेको पिपुल्स पार्टीको समर्थन पाउनुभयो । “म सबै सहमतिको पालना गर्ने छु,” शुक्रबार पार्टी मुख्यालयबाहिर उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, “मेरो छोटो कार्यकालमा हामीले हाम्रो देशमा ‘मुस्कानको भूमि’को भावना फिर्ता ल्याउनुपर्छ ।”

अनुटिनले शुक्रबारको मतदानको अघिल्लो रात र अदालती मुद्दाको केही दिन अघि थाक्सिनको अनपेक्षित विदेश उडान भएको बताउनुभएको थियो । उहाँले विदेशमा आफ्ना साथीसँग भेट्ने र चिकित्सा उपचार लिने बताउनुभएको थियो । अनुटिनले भन्नुभयो, “निर्वाचनमा कुनै पक्षपात, उत्पीडन र बदला लिने काम हुने छैन ।”

सन् २०२३ को अगष्टमा निर्वासनबाट फर्केपछि थाक्सिनको अस्पताल बसाइलाई लिएर सर्वोच्च अदालतले मङ्गलबार फैसला सुनाउने भएको छ । अनुटिनको दक्षिणपन्थी भुम्जाइथाई पार्टीले सन् २०२३ मा फेउ थाईसँग गठबन्धन गरेको थियो तर जुनमा कम्बोडियाका पूर्व नेता हुन सेनसँगको टेलिफोन वार्तामा पेटोङ्टार्नको कथित दुव्र्यवहारका कारण गठबन्धनबाट पछि हटेको थियो ।

सिनावात्रा परिवार विगत दुई दशकदेखि थाई राजनीतिको मुख्य आधार बनेको छ । उनीहरूको राज्यको परम्परागत सामाजिक व्यवस्थाका लागि खतराको रूपमा हेर्ने राजतन्त्र समर्थक, सैन्य–समर्थक संस्थापनसँग विवाद बढेको छ । उनीहरूले गत हप्ता पेटोङ्टार्नलाई पदबाट हटाउने लगायतका शृङ्खलाबद्ध असफलताको सामना गर्नु परेको छ ।

अनुटिनले यसअघि उपप्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।सन् २०२२ मा भाङलाई वैधानिकता दिने वाचा पूरा गरेका कारण उहाँको चर्चा व्यापक बनेको छ । उहाँ आधिकारिक रूपमा प्रधानमन्त्री हुनका लागि उहाँको पदोन्नतिलाई थाइल्यान्डका राजाले अनुमोदन गर्न आवश्यक छ । रासस/एएफपी