• २१ भदौ २०८२, शनिबार

अवैध दोहन रोक्न जिल्ला समन्वय सक्रिय

blog

कालीगण्डकी दोहन गरी कालाखोला क्षेत्रको सडकमा सङ्कलन गरिएको बालुवा । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, भदौ २१ गते । कानुनले असार, साउन र भदौमा नदीजन्य सामग्री उत्खनन्मा रोक लगाए पनि कालीगण्डकी नदीमा ढुङ्गा गिटी र बालुवाको अवैध दोहन भइरहेको छ । बागलुङ नगरपालिकाले अहिलेसम्म नदी किनारको सामग्रीको ठेक्का लगाएको छैन । 

सर्वोच्च अदालतको आदेशले यसअघिका ४ वर्ष नदीको ठेक्का लगाउन रोक लागेको थियो । रोक लागेपछि अवैध दोहन गर्नेले भने रातारात एस्काभेटर लगाएर नदीको सामग्री झिक्दै महङ्गोमा बिक्री गरिरहेका छन् । प्रशासनले चासो नराखेपछि मध्यरातमा नदी दोहन भइरहेको थियो । हिउँदमा त नदीको धार नै परिवर्तन गरेर बालुवा चोरी भइरहेको छ । 

नदी किनारमा बालुवा सङ्कलन गरी खुलेआम बिक्री भइरहे पनि स्थानीय प्रशासनले बेवास्ता गरिरहेको बेला जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको अवैध दोहन रोक्न सक्रियता देखाएको छ । समितिले अनुगमन गरेर नदी किनारमा अवैध दोहन गरी सङ्कलन गरिएको ठुलो परिणामको बालुवा जफत गरेर नगरपालिकालाई कारवाहीका लागि पठाएको छ । 

पछिल्लो पटक कालीगण्डकी दोहन गरेर सङ्कलन गरिएको बालुवा जफत गरेपछि बागलुङ नगरपालिकाले बिक्री गर्दा १५ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । नगरपालिकाको–१०, दब्ल्याङ र वडा १३ को कालाखोला आसपास बढी दोहन भइरहेको छ । त्यसबाहेक वडा ४ को ढोडेनी र वडा १ को मालढुङ्गातर्फ पनि चोरी र दोहन भइरहेको छ । पहिल्लो पटक ४ हजार ९ सय ७२ घनमिटर बालुवा जफत गरेर राजस्व सङ्कलन गर्दा १५ लाख सङ्कलन भएको नगरपालिकाका पदाधिकारीले जनाएका छन् । 

राज्यका निकायलाई छलेर अवैध उत्खनन् गर्नेलाई कारबाही गर्ने र उचित दण्ड जरिवाना गराउन पहल भएको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले बताउनुभयो । 

‘‘ठेक्का लागेपछि अवैध दोहन रोकिने छ’’ नगरपालिकाका इन्जिनियर सोबिन घर्तिले भन्नुभयो । नगरपालिकाले छड्के अनुगमन गरी अवैध रूपमा सङ्कलन गरिएको नदीजन्य सामाग्रीलाई घाटगादी गरेर राजस्व सङ्कलन गर्ने काम गर्दैआएको छ । अवैध दोहन गर्नेहरूले बजारमा महङ्गो मूल्यमा निर्माण सामग्री बिक्री गर्दा उपभोक्ता समेत मारमा परेको इन्जिनियर थापाको भनाइ छ ।