काठमाडौँ, भदौ २१ गते । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा (येँया) को आज मुख्य दिन हो । वसन्तपुरमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत संवैधानिक अङ्गका प्रमुख र उच्च पदस्थ अधिकारीले अवलोकन गर्नुभएको छ । इन्द्रजात्राको अवलोकनका लागि पुग्नुभएका विशिष्ट अतिथिलाई काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले स्वागत गर्नुभयो ।
नेपालमा इन्द्रजात्राको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व रहेको छ । काठमाडौँ उपत्यकामा विशेष रूपमा मनाइने यो जात्रा इन्द्र देवताको सम्मानमा आयोजना गरिन्छ जो हिन्दु धर्ममा वर्षा र सम्पूर्ण सृष्टिका देवताको रूपमा पुजिन्छ ।
इन्द्रजात्रा नेवार समुदायको मुख्य पर्वहरूमध्ये एक हो, तर यसमा सबै समुदायको सहभागिता रहन्छ।
इन्द्रजात्रा खासगरी काठमाडौँको हनुमानढोकामा आठ दिनसम्म मनाइन्छ । जात्राको पहिलो दिन यःसिं (लिङ्गो) ठड्याउने प्रचलन छ, जसलाई इन्द्रको प्रतीक मानिन्छ । यस जात्रामा (कुमारी यात्रा) विशेष आकर्षण हो, जहाँ जीवित देवी कुमारीको रथयात्रा गरिन्छ ।
जात्राका अवसरमा लाखे नाच, दस अवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाच लगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ ।