• २१ भदौ २०८२, शनिबार

सामाजिक प्लेटफर्म बन्दले अभिभावक सुखी, प्रयोगकर्ता दुःखी

blog

धीरेन्द्रप्रसाद साह
जनकपुर, भदौ २१ गते ।
एका बिहानै उठ्ने बित्तिकै मोबाइलमा सामाजिक प्लेटफर्ममा रमाइरहने, राति सुत्नुअघि पनि सामाजिक सञ्जाल स्क्रोल गर्ने बानी सामान्य भइसकेको थियो । यस प्रवृत्तिले महिला, बालकबालिका, परिवार र समाजमा नकारात्मक असर पार्दै गएको अभिभावकहरूले बेलाबखतमा आवाज उठाउँदै आउनु भएको थियो ।

खासगरी बालबालिका पढाइभन्दा बढी टिकटक, फेसबुक वा भिडियो गेममा रमाउन थालेका थिए भने महिलाहरू घरायसी काम सकेपछि छिमेकीसँग भेटघाट गर्नुभन्दा मोबाइलमै समय बिताउन रुचाउने अवस्था देखिन्थ्यो । यसरी सामाजिकीकरण भन्दा मोबाइलकरणले स्थान लिन थालेपछि अभिभावकहरू गहिरो चिन्तामा परेका थिए । पछिल्लो दुई दिनदेखि बन्द रहेको यस्ता सामाजिक सञ्जालका कारण अभिभावकहरू खुसी व्यक्त गर्नुहुन्छ । उचित प्रयोगभन्दा गलत प्रयोगले रचनात्मक कार्य गर्ने समय व्यतित भइरहेको अवस्थामा सामाजिक सञ्जालका यी प्लेटफर्महरू बन्द गरेकोमा अभिभावकहरू सरकारलाई धेरै धन्यवाद पनि दिनुहुन्छ ।

यता सामाजिक प्लेटफर्मको प्रयोग गरेर विदेशमा रहेका श्रीमानसँग नियमित कुराकानी गर्न साह्रै अप्ठ्यारो भएको सरस्वतीदेवी खङ्गले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘‘हमर घरवाला कतार मे छै, सब दिन फेसबुकसे बात करै छलिए । दुई दिन से बात नइ भेल ।’’ अर्थात् फेसबुक मेसेन्जर बन्द भएको कारण पछिल्लो दुई दिनदेखि सरस्वतीले वैदेशिक रोजगारका लागि कतारमा रहेका श्रीमानसँग कुराकानी गर्न सक्नु भएको छैन । सरस्वती जस्तै उचित प्रयोगकर्ताहरूको यस्तो साझा समस्या नै हो ।

नेपाल सरकारले दर्ता नगरेका र कर नतिरेका एप्सलाई सञ्चालनमा रोक लगाउँदै अबदेखि अनिवार्य रूपमा दर्ता र कर बुझाएर मात्रै प्रयोग गर्न पाउने व्यवस्था लागु गरेको कारण यस्तो अवस्था आएको हो । नेपाल सरकारले बिहीबारदेखि विभिन्न २६ वटा सामाजिक सञ्जाल तथा एप्समाथि अस्थायी रोक (निस्क्रिय) लगाएको छ । यसले राजस्व सङ्कलन, सामाजिक संस्कार, पारिवारिक सम्बन्ध र बालबालिकाको शैक्षिक भविष्यलाई पनि सुरक्षित गर्ने अनुमान गरिएको छ ।

जनकपुरधामका अभिभावक सञ्जय साह भन्छन्, “हिजोअस्ति छोराछोरी किताबभन्दा बढी मोबाइलको पर्दामा हराइरहेका थिए । अब तिनीहरूलाई पढाइमा फर्काउने अवसर मिल्ने छ भन्ने विश्वास पलाएको छ ।”

स्थानीय व्यवसायी बिरेन्द्र पण्डित भन्नुहुन्छ, “मोबाइलले परिवारभित्र दूरी बढाएको थियो । एउटै कोठामा बस्दा पनि सबैजना मोबाइलमै व्यस्त हुने अवस्था थियो । सरकारले फेसबुक बन्द गरेकोमा परिवारमा परिवारिक ल्याउने आशा पलाएको छ ।”

मनोविज्ञानका शिक्षक हरिप्रसाद यादव भन्नुहुन्छ, “सामाजिक सञ्जाल आफैंमा नराम्रो होइन, तर यसको अनियन्त्रित प्रयोगले पारिवारिक मूल्य र सामाजिक सम्बन्ध कमजोर बनाएको छ । सरकारले लिएको निर्णय अस्थायी भए पनि यसले मानिसलाई आत्ममूल्याङ्कन गर्न बाध्य बनाउने छ ।”

महिलाहरूमा पनि सामाजिक सञ्जालको प्रयोगले असर पारेको भन्दै शिक्षिका गीता सुवेदीले समय बिताउने नाममा मोबाइलमै गुम्सिएर बस्ने प्रवृत्तिले घरभित्रको आत्मीयता र संवाद घटाएको अनुभूति सुनाउनुभयो । अहिलेको अवस्था निरन्तर रह्यो भने महिलालाई सामाजिक गतिविधि, भेटघाट र वास्तविक जीवनका कुरामा फर्काउन सकिने उहाँको विश्वास छ ।

सामाजिक सञ्जालका प्लेटफर्महरूलाई बन्द गर्नुभन्दा पनि कानुन अनुसार व्यवस्थित गरेर उचित प्रयोगलाई बढावा दिन जरुरी रहेको छ ।