काठमाडौँ, भदौ २० गते । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा १२ बुँदे आचारसंहिता लागू गरिएको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेनद्रप्रसाद गौतमका अनुसार महाधिवेशनलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि महाधिवेशन प्रतिनिधि, आयोजक, व्यवस्थापन कार्यमा सहभागी प्रतिनिधिहरुले कार्यक्रम अवधिभर सो आचारसंहिताको पूर्ण परिपालना गर्नुपर्नेछ ।
आचारसंहिता अन्तर्गत महाधिवेशनलाई अनुशासित, सुसंस्कृत र मर्यादित बनाउन सहयोग गर्ने, आयोजकका तर्फबाट तयार गरेको समयतालिकाको पूर्ण पालना गर्ने, बोल्नका लागि हात उठाउन पाइने तर अनुमति पाएपछि मात्रै बोल्ने र समयभित्रै मर्यादित रुपमा आफ्नो कुरा राख्ने, महाधिवेशनस्थललाई सफा, सुग्घर र स्वच्छ राख्ने, तोकिएको समयमा उपस्थित हुने, कार्यक्रम समापन भएपछि मात्र महाधिवेशनस्थल छोड्ने, मर्यादित र सौहार्द ढङ्गले प्रस्तुत हुनुपर्नेछ ।
यसैगरी, महाधिवेशनको पूर्ण सत्र र समूह छलफलमा सक्रियपूर्वक सहभागी हुने, धुम्रपान, मध्यपान र सूर्तीसेवन पूर्णरुपमा निषेध गरिएको हुँदा यसको पालना गर्ने, मोबाइल फोनलाई महाधिवेशनको कार्यक्रम चलिरहेका बेला सधैं स्वीच्छ अफ वा साइलेन्ट मोडमा राख्ने, उद्घाटनसत्र बाहेक अन्य कार्यक्रममा भिडियो तथा अडियो रेकर्ड बिना अनुमति गर्न नपाइने जस्ता आचारसंहिता लागू गरिएका छन् ।
स्वयम्सेवकलाई परिचयपत्र चेकजाँच गर्न पाउने सम्पुर्ण अधिकार दिइएको तथा स्वयम्सेवकले पनि आचारसंहिता कार्यान्वयनमा सहजीकरण गर्नुपर्नेछ ।