• १४ फागुन २०८२, बिहिबार

निर्वाचनमा चार दलबिच मुख्य प्रतिस्पर्धा हुन्छ : संयोजक प्रचण्ड

blog

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः कविन अधिकारी

काठमाडौँ, फागुन १४ गते । नेपाली कम्युनिस्ट  पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा चार दलबिच मुख्य प्रतिस्पर्धा हुने बताउनुभएको छ । 

बिहीबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा निर्वाचन सम्बन्धी समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “चार वटा पक्षका बिचमा प्रतिस्पर्धा हुन्छ । नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी । यी चार वटा पक्ष भनौं वा धारा भनौं यिनिहरुबिचको प्रतिस्पर्धा मुख्य प्रतिस्पर्धा हुन्छ । कसैको बहुमत आउने स्थिति देखिएको छैन, हामीले कम्तिमा चाहिँ देखेका छैनौं । बाँकी एक हप्तामा राम्रोसँग जाँदा हामी अगाडि जाने सम्भावना पनि छ ।”

उहाँले पार्टीभित्र आन्तरिक समस्या नभएका कारण निर्वाचनमा नेकपाको स्थिति राम्रो हुने आङ्कलन गर्नुभयो । 

उहाँले भन्नुभयो, “नेपाली कम्युनिस्ट पार्टी मात्रै त्यस्तो पार्टी जोभित्र समस्या छैन । सबै एकजुट भएर लागेका छन् । एकाध चामलको बियाँ जस्तै त्यो पनि त्यस्तो गम्भीर प्रकृतिको हामीले देखेका छैनौं । त्यसकारण, हाम्रो चाहना छ, हामीले जित्दा मात्रै राष्ट्रियता र स्वाधिनता, जनताको आत्मनिर्णयको अधिकार, लोकतन्त्र र गणतन्त्रका मान्यता स्थापित मात्रै होइन कार्यान्वयन गर्नेतिर संविधान संशोधनमा परिमार्जन गर्ने कुरा सहज हुन्छ ।”

उहाँले नेकपाले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग समीकरण नगर्ने र आफ्नै एजेण्डाको बलमा निर्वाचनमा जाने भनाइ राख्नुभयो । 

“हामी यो पटक निर्वाचनमा कुनै पनि राजनीतिक दल अन्यसँग समीकरण गर्दैनौं । हामी हाम्रै एजेण्डाको बलमा, हाम्रै पार्टी र जनताको बलमा निर्वाचनमा जान्छौं भनेर पहिलो दिनदेखि भन्दै आएका छौं । तर, बेला–बेलामा मिडियामा समीकरण बन्ने भयो रे भन्ने खालको चर्चाहरु पनि आउने गरेका छन् । हामीले त्यसको लगातार खण्डन गरेका छौं”, उहाँले भन्नुभयो, “हामी यो पटक न २३ गतेको निम्ति जिम्मेवार दलसँग समीकरण गर्ने पक्षमा छौं, मैले अघि भनेजस्तै एउटा प्रवृत्ति अतिवादसँग । न हामी २४ गनेको विध्वंश गर्नेसँग समीकरण गर्ने पक्षमा छौं । मैले भनेको जस्तो हामी राष्ट्र र जनताको पक्षमा दृढतापूर्वक अगाडि बढ्न चाहन्छौं भन्दै आएका छौं ।”


उहाँले आगामी निर्वाचनमा बागलुङमा बाहेक अन्य कुनै पनि क्षेत्रमा तालमेल नहुने दोहोर्‍याउनुभयो । 

उहाँले भन्नुभयो, “यो पत्रकार सम्मेलनमार्फत् एक चोटी फेरि स्पष्ट शब्दमा फेरि एकचोटी दोहोर्‍याउन चाहन्छु, हामी कसैसँग समीकरणमा छैनौं । कुनै गठबन्धन या कहीँ केही ठाउँमा छोड्ने भन्ने पनि हाम्रो कही छलफल भएको पनि छैन,  हुने स्थिति पनि छैन । मैले पटक–पटक भनेको छु,  खाली एक ठाउँमा बागलुङ जिल्लामा हामी जनमोर्चासँग एउटा सिटका निम्ति तालमेल गरेका छौं । अन्यत्र कही तालमेल भएको छैन ।”

उहाँले अहिलेको  निर्वाचन सहज परिस्थितिमा नभएको भन्नुहुँदै निर्वाचन र निर्वाचनपछि बन्ने परिस्थितिबारे राजनीतिक वृत्त र जनता संशय रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो सहज निर्वाचन छैन । यो नियमित निर्वाचन होइन । ०८४ मा हुने निर्वाचन अहिले ०८२ मा गर्नु परेको छ । त्यसो भएर थुपै संशय जनताको मनमा पनि छन् । राजनीतिक वृत्तमा पनि संशय छन् । के होला, कसो होला, चुनावै राम्रोसँग होला कि नहोला अझै पनि । या चुनाव भइहालेपछि त्यसपछिको सरकार कस्तो बन्ला । या चुनावपछिको परिस्थिति कस्तो बन्ला भन्ने प्रश्न पनि नेपाली जनताको मनमा पनि भएको देखिन्छ ।”

उहाँले निर्वाचन स्वच्छ र निष्पक्षरुपमा सम्पन्न गर्न जिम्मेवार, लोकतन्त्र र गणतन्त्रप्रति जिम्मेवार राजनीतिक दल लगायत सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो । निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ । 

कार्यक्रममा नेकपाका नेता डा. वेदुराम भुषालले प्रतिनिधि सभा निर्वाचन–२०८२ का सन्दर्भमा अपिल जारी गर्नुहुँदै अहिले मुलुकमा बाह्य हस्तक्षेपकारी गतिविधि भएको तथा राष्ट्रको स्वाधिनता र स्वाभिमानमा आँच आउन सक्ने खतरा महसुस भएको भनाइ राख्नुभयो । विगतमा विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टी र समूह मिलेर नेकपा निर्माण भएको उल्लेख गर्नुहुँदै उहाँले राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षाका निम्ति दृढताका साथ उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा अग्निप्रसाद सापकोटा, झलनाथ खनाल, बामदेव गौतम, पम्फा भुषाल, लीलामणि पोखरेल लगायतका नेताहरु उपस्थित हुनुभएको थियो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।