• ६ चैत २०८२, शुक्रबार

सल्यानको जङ्गलमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा

blog

छायाँक्षेत्र जङ्गलमा लागेको आगो । तस्बिर : शंकर केसी

शंकर केसी
सल्यान, चैत ६ गते ।
सल्यानको छायाँक्षेत्रको जङ्गलमा लागेको आगो करिब चार घण्टापछि नियन्त्रणमा आएको छ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका–६, शंखमुल नजिक रहेको जङ्गलमा लागेको आगो जनप्रतिनिधि, प्रहरी, स्थानीय समुदाय र सामुदायिक वन समूहको सक्रियतामा नियन्त्रणमा लिइएको छ। छत्रेश्वरी–६ का वडा सदस्य सागर नेपालीले जानकारी दिनुभयो। प्रहरीले आगलागी कसले, किन र कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

यसअघि गत शनिबार सिद्ध कुमाख गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाको सिमानामा लागेको डढेलोले करिब ३० हेक्टर वन क्षेत्र नष्ट गरेको थियो। तथ्याङ्कअनुसार सल्यान वन डढेलोको उच्च जोखिममा रहेको जिल्ला हो। सन् २०१३ देखि २०२५ सम्म सल्यानमा १,३०२ वटा वन डढेलोका घटना भएका छन्। यसले वन क्षेत्र, जैविक विविधता, वन्यजन्तु तथा वातावरणमा ठुलो क्षति पुर्‍याउँदै आएको छ।

वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि जिल्लाभर विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। हालै कपुरकोट गाउँपालिकामा “वन डढेलो नियन्त्रणमा प्रभावकारीताः तीनै तहका सरकारको सहभागिता” भन्ने नारासहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममार्फत डढेलो नियन्त्रणका लागि आवश्यक योजना तयार गरिएको सब–डिभिजन वन कार्यालय कपुरकोटले जनाएको छ।

कपुरकोट सब–डिभिजन वन कार्यालय प्रमुख कमला घर्ती मगरका अनुसार वन डढेलो लाग्न नदिने, लागिहालेमा सुरक्षित तरिकाले नियन्त्रण गर्ने, वन कार्यालय र स्थानीय तहबीच समन्वय बढाउने, सामुदायिक वनलाई सक्रिय बनाउने तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।