• ८ चैत २०८२, आइतबार

काठमाडौँ- ९ : चुनाव प्रचारमा घरदैलोसँगै सामाजिक सञ्जालको प्रयोग

blog

काठमाडौं–९ का उम्मेदवार नेकपा (एमाले) का डा. अजय क्रान्ति शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल, नेपाली कांग्रेसका नानु बास्तोला र नेपाली कम्युनिस्ट पार्टीका राधा कृष्ण महर्जन ।

काठमाडौँ, फागुन १८ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ९ का उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि घरदैलो सँगसँगै सामाजिक सञ्जालको प्रयोग बढेको बताएका छन् । पछिल्लो समय, सामाजिक सञ्जालमा देखिएको लोकप्रियताका आधारमा चुनावका सन्दर्भमा विभिन्न प्रक्षेपण समेत हुने गरेको छ । यस क्षेत्रका उम्मेदवारले चुनावी घरदैलोसँगै सामाजिक सञ्जालकाको प्रयोग गरेको बताएका छन् । 

काठमाडौँ क्षेत्र नं. ९ मा राजनीतिक दलबाट १८ र स्वतन्त्र ६ गरी जम्मा २४ जना उम्मेदवार हुनुहुन्छ । जसमध्ये पुरुष उम्मेदवार २० र महिला उम्मेदवार चार जना हुनुहुन्छ ।

कुन दलबाट को उम्मेदवार ?

यस क्षेत्रमा नेकपा (एमाले) का अजय क्रान्ती शाक्य, नेपाली कांग्रेसका नानु बास्तोला, नेपाली कम्युनिस्ट पार्टीका राधा कृष्ण महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल कुमार कार्की, जनता समाजवादी पार्टी, नेपालका रणवीर क्षेत्री सिंह, नेपाल मजदुर किसान पार्टीका शान्त महर्जन, राष्ट्रिय  जनमोर्चाका रोसन दानी, प्रगतिशील लोकतान्त्रिक पार्टीका राजु रोक्का, मंगोल नेशनल अर्गनाइजेसनका धर्मराज गुरुङ उम्मेदवार हुनुहुन्छ । 

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का एन्जिस राज प्रसाई, जय मातृभूमि पार्टीका अनुप मुनि बज्रचार्य, श्रम संस्कृति पार्टीका बलराम श्रेष्ठ, मितेरी पार्टी नेपालका मदन पोखरेल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का माइला लामा, उज्यालो नेपाल पार्टीका रामेश्वर श्रेष्ठ, राष्ट्रिय मुक्ति नेपालका मदन डंगोल, आम जनता पार्टीका ईरस श्रेष्ठ हुनुहुन्छ । 

स्वतन्त्र उम्मेदवारहरु जुद्धबहादुर कार्की, पञ्च कुमारी मानन्धर, पुन माया महर्जन, मधुसुदन शर्मा, सुमित्रा श्रेष्ठ र हरिप्रसाद घिमिरे हुनुहुन्छ ।


उम्मेदवारको पृष्ठभुमि हेर्न आग्रह

नेपाली कांग्रेसका नानु बास्तोला प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालमाभन्दा घरदैलोमा मतदातासँग प्रत्यक्ष भेट गरेर आफ्ना प्रतिबद्धता व्यक्त गरेको बताउनुहुन्छ ।

उहाँले सामाजिक सञ्जालमा भाइरल भएको आधारमा नभइ उम्मेदवारको पृष्ठभूमी अध्ययन गरेर भोट दिन आममतदातामा आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “तपाईंकोमा आउनुभएका उम्मेदवारको पृष्ठभूमी हेरिदिनुहोला । त्यसको समीक्षा गरेर भोट दिनुहोला । विगतमा के गर्‍यो ? वर्तमानमा के गरिरहेको छ ? भविष्यमा के गर्छ नेपाली जनताको लागि ? सामाजिक सञ्जालमा चर्को चर्को कुरा गरेर नागरिकका समस्या समाधान हुँदैन ।”

उहाँले यस क्षेत्रका समुदायको विभिन्न कला, संस्कृति, परम्परा, रितिरिवाज, बाजागाजा लगायतका सम्पदालाई राज्यले नीति एवम् कानुन निर्माण गरेर कार्यान्वयन गराउनुपर्ने बताउनुभयो ।


उहाँले भन्नुभयो, “चन्द्रागिरी र नागार्जुन नगरपालिका हेर्दा स्वास्थ्य र खानेपानीको विषयमा गर्नुपर्ने देखिन्छ । त्यहाँका युवा र महिलालाई स्वरोजगार बनाएर महिलाको जीविकोपार्जनसँग जोड्नुपर्ने, महिलालाई सबल र सक्षम बनाउनुपर्ने काम गर्नुपर्ने छ । त्यति मात्र होइन, चन्द्रागिरी हेर्‍यो भने कालु पाण्डेको समाधिस्थलदेखि स्वीट्जरल्याण्डसम्म पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । यो क्षेत्र काठमाडौँ भित्रिने सबै नाका परेको कारणले ट्राफिक व्यवस्थापनलाई राज्यले नीति बनाएर वैकल्पिक बाटोको व्यवस्था गर्नुपर्नेछ ।”

यससँगै शिक्षा, स्वास्थ्य, रोजगारी सँगसँगै बालबालिका, महिला, ज्येष्ठ नागरिक र युवाका पक्षमा काम गर्नुपर्ने एजेण्डा रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “म नयाँ उम्मेदवार । युवा, महिला र टेस्टेड पनि होइन । हामीले घोषणा भनेर विगतका दिनमा गर्‍यौं । अहिले काम नै गर्छौं भनेर प्रतिज्ञा गरेका छौं ।”

ठुला भाषण गर्दिनँ 

नेकपा (एमाले) का डा. अजय क्रान्ति शाक्यले चुनावी प्रचारप्रसारका क्रममा सूचना प्रविधिको प्रयोग गरिएको र घरदैलो कार्यक्रम सँगसँगै सामाजिक सञ्जालमार्फत आफ्ना मुद्दाहरु मतदाता समक्ष पुर्‍ याइएको बताउनुभयो । 

उहाँका अनुसार सम्पदा पुनरुत्थान, शैक्षिक सुधार, पूर्वाधार, वातावरण निर्माण, वैज्ञानिक र व्यवस्थित सहरी विकास, युवा स्वरोजगार र डिजिटल रुपान्तरण अहिलेका मुख्य एजेण्डा रहेका छन् । 


 उहाँले भन्नुभयो, “सस्तो लोकप्रियताका लागि असम्भव सपना बाँड्ने र ठुला भाषण गर्ने कुरामा विश्वास गदिँनँ ।  म जे गर्न सक्छु, त्यो मात्र बोल्छु । जनप्रतिनिधि रहँदा वा नरहँदा समाज सेवा र अध्ययनमै मेरो समय बित्ने गरेको छ । मतदाताको यो साथ र समर्थनले मेरो जितको आधार तय गरेको छ ।”

अर्गानिक प्रचारप्रसार गरेँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का राधा कृष्ण महर्जनले विगतमा भन्दा अहिलेका मतदाताले फरक प्रश्न गर्ने गरेको बताउनुभयो । खासगरी, ग्रामीण क्षेत्रका मतदातामा राजनीतिक चेतना अझ बढेको उहाँको भनाइ छ ।

उहाँले प्रचारप्रसारका लागि सामाजिक सञ्जालमाभन्दा मतदातासँग प्रत्यक्ष भेटघाट कार्यक्रममा नै जोड दिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “एकदमै अर्गानिक ढङ्गले प्रचारप्रसार गर्नुपर्छ भन्ने विचार राख्ने भएको भएर जो कन्भिन्स छ, उसले जसरी पनि सहयोग गर्छ । आर्टिफिसियल एकाउण्ट बनाएर जुन अहिले त्यसैको आधारमा चलिरहेको छ, त्यो गरेर जनतालाई सूसुचित गर्नुपर्ने ठाउँमा भ्रममा पारेर देश कहाँ जान्छ ? भन्ने तर्क हो । त्यसकारण, जति सके, माउथ टु माउथ कन्भिन्स गरें ।”


उहाँले अहिलेको सन्दर्भमा गणतन्त्रलाई संस्थागत गर्ने, पूर्ण समानुपातिक समावेशीता, सुशासनका लागि भ्रष्टाचार उन्मुलन प्रमुख एजेण्डा भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विगत ४० वर्षदेखि सामाजिक आन्दोलन, विभेदकारी मुद्दामा भएका आन्दोलन, सडक विस्तार, गैरन्यायिक सदस्यका आन्दोलन, गुठी आन्दोलनमा मेरो सङ्लग्नता भएको उँ बेलादेखि नै हो ।  मैले उहाँहरुलाई के भनेको छु भने नीतिगत रुपमा व्यवस्थापन गर्न पनि संसदमा जानुपर्छ । म यी कुरालाई नीतिगत रुपमा व्यवस्थापन गर्नका लागि जाँदैछु ।”

जनतामा आक्रोश छ, अब्बल भूमिका निर्वाह गर्नेछु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्यालले घरदैलोका क्रममा मतदाता उत्साहित देखिएको भन्नुहुँदै उनीहरुले विगतका दललाई पटक–पटक हेरेपनि नेताहरुमाथि विश्वास गर्न नसकिने प्रतिक्रिया प्राप्त भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीलाई सरकार भएको महसुस हुनपर्‍यो भन्ने जनताको एउटा ठुलो माग छ । एकदमै धेरै आक्रोश छन् कि, जनतामा विश्वासै गर्न सकिएन एक चोटी आउँछन् भोट माग्नलाई फेरि अर्को चोटी भोट माग्ने बेला नभएसम्म आउँदैनन् भन्ने गुनासो छ ।”


उहाँले काठमाडौँ क्षेत्र नंं ९ अन्तर्गत सहरी क्षेत्र र ग्रामीण भूगोल पनि पर्ने भन्नुहुँदै यसलाई नमुना निर्वाचन क्षेत्र बनाउन सकिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “९ नम्बर क्षेत्रलाई न्याय हुने गरेर केही जटिल ईस्युहरु छन् जस्तो ट्राफिक व्यवस्थापन । हाइ–वे हुँदा पनि दुर्घटनाहरु बढीरहेको अवस्था छ । म राष्ट्रिय नीति बनाउने प्रतिनिधि सभाको एउटा सदस्य भएर उम्मेदवारी हुँदै गर्दा सङ्घीय सरकार र प्रदेश सरकारसँग समन्वय गर्ने काममा अब्बल भूमिका खेल्छु । स्थानीय सरकारलाई बलियो बनाएर स्थानीय सरकारबाट हुने कामहरु राम्रोसँग गरौं भन्ने सल्लाह भइरहेको छ । जनता, मतदातासँग संवाद गरेर प्राथमिकताका आधारमा जे गर्न सकिन्छ, कानुनतः मेरो पोजिसनले जे गर्न सकिन्छ, त्यसमा अब्बल भूमिका निर्वाह गर्छु भन्ने मेरो कमिटमेन्ट त्यही नै हो ।”

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।