• २१ भदौ २०८२, शनिबार

सूर्यमुखी फूलमाथि भ्यानगग

blog

विश्वप्रसिद्ध डच चित्रकार भिन्सेन्ट भ्यानगगको खुसी र ‘सूर्यमुखी फूल’ को सौन्दर्य एकअर्काका पर्याय जस्तै हुन् । सूर्यमुखी फूल अर्थात् ‘सनफ्लावर’ उनको लोकप्रिय ‘फ्लावर सिरिज’ को सिर्जना हो । यसमा प्रकृतिको प्राण कलामय भाव र भाषामा अभिव्यक्त छ । तिनमा शताब्दीअघिको सिर्जना, सोच, सौन्दर्य र समर्पणको मूल्य दृष्टिगोचर हुन्छ । 

यद्यपि तिनको कलात्मक मूल्य हामी मापन गर्न सक्दैनौँ । मूल्यभन्दा धेरै माथि उनका चित्रहरूले कैयौँ किताबका ठेली लेखाएको छ । कैयौँ रहस्यको रङ देखाएको छ । अनेकौँ अर्थ र अभिप्रायको अभिमतले कलाप्रेमीको ध्यान तानिरहेको छ । 

उनको यही प्रसिद्ध सूर्यमुखी फूलमाथि सुतिरहेका भ्यानगगको चित्रले जीवनमा घोर निराशामा पनि आशाको बिउ छर्ने र उज्यालो बिहान निम्त्याउने सपना देखिरहेको देख्छु । म यही चित्र हेर्दै कल्पना गर्छु । सिरानीमा घुसेर मस्त सुतिरहेका भ्यानगगको सपनासम्म प्रवेश गर्छु । उनले देखिरहेको सपनामा आफू पनि सामेल हुन्छु । ओहो भ्यानगगले देखेको सपना; सपना मात्र थिएन त्यो विपनाकै रूपान्तरित स्वरूप थियो । उनले जीवनमा प्रेमबाट पाएको नमिठो पीडाको चोटलाई आफैँले बनाएको प्यारो ‘सनफ्लावर’ माथि सुतेर उनी सपनाको आनन्दमा संसार भुलिरहेका थिए ।

भिन्सेन्ट भ्यानगग, एक नाम, जसको जीवन उज्यालो खोज्दै अँध्यारो गल्लीमा हरायो । जब उनको मृत्यु भयो, त्यसपछि चर्चा र चासो चुलियो । उनी एक चित्रकार, जसले रङहरूमा पीडा मिसाएर चित्र कोरे; जसले तिर्सनामा सौन्दर्य देखे, एकान्तमा उज्यालो देखे र उदास आँखामा पनि जीवनको मुस्कान खोजे । उनका क्यानभासहरू रङ्गीन थिए । भित्र कतै उनी आफैँ भने उस्तै एक्लो, उस्तै पीडित, उस्तै भिजेको कमजोर माटो जस्तो रङविहीन फुस्रो ।

भ्यानगगको खुसी कुनै ठुलो विजय थिएन, न त सम्मानको चमकदार क्षण । उनका खुसीका क्षण सानो कोठाभित्र, रङका थोपा र ब्रसको गतिभित्र सीमित थिए । उनको खुसी त्यही क्षण थियो, जब उनले पहेँलो रङलाई सूर्यमुखी पुष्प पत्र पत्रमा ढाल्थे, जसरी कोही कविले उज्यालो आशाको कविता लेख्छ, सिङ्गो अँध्यारो रातमा पनि !

‘सूर्यमुखी फूल’ उनको सिर्जना, उनको सपनाको विम्ब र त्यो उनको चित्र मात्र होइन, वास्तवमा भ्यानगगको आत्माको उज्यालो पृष्ठ पाइला हो । त्यो क्यानभासमा उनले आशा कोरेका थिए । जीवनलाई प्रेम गरेका थिए । आफ्नो पागलपनभित्र पनि एउटा दिव्यता देखेका थिए । पहेँलो रङ, जसले साधारण आँखालाई चर्को लाग्न सक्छ, भ्यानगगको आँखामा जीवनको एक मात्र उज्यालो थियो । त्यही उज्यालो उनले फूलका रूपमा हामीलाई दिए । यौटा चित्रमार्फत, जहाँ फूल सुगन्धित छैन, बगैँचा छैन तर त्यहाँ जीवन छ, संवेदना छ र पृथक् मौनताभित्रको आकाङ्क्षा सौन्दर्यको मिठास बनेर उपस्थित छ ।

उनी अनौठा थिए, विखण्डित थिए तर सिर्जनामा उस्तै समर्पित भएर बाँचे । उनका चित्रहरू हावाको बहाब जस्तै नदेखिने थिएनन् । सहजै तर अनौठो महसुस गर्न सकिने र गम्भीर बनाउने । ‘सूर्यमुखी फूल’ चित्रमा उनले फूललाई कोरेका मात्र होइनन्, त्यहाँ उनले आफ्नो आत्मालाई पोतेका छन् । 

त्यो चित्र हेर्दा लाग्छ, फूलहरू आफैँले हामीलाई हेरिरहेका छन् । प्रश्न गर्दै सोधिरहेका छन्, “आफ्नो जीवन, समय र समाजसँग तिमी के साँच्चै खुसी र सन्तुष्ट छौ ?” 

किनकि फूलहरू आफैँ दुःखको बिचमा पनि मुस्कुराइरहेका छन्, उभिएका छन्, सूर्यतिर फर्किएका छन् ।

भ्यानगगको खुसी त्यही थियो, जब उनले अस्ताउँदो घामको झल्को रङमा उतार्न सके, जब उनले आफ्ना अभावग्रस्त जीवन र प्रेममा पाएको धोकाका उदासी ऐकान्तिक क्षणलाई फूलमा साट्न सके । उनले झन्डै ७० चित्र एक वर्षमै कोरे, तीमध्ये ‘सनफ्लावर सिरिज’ सबैभन्दा प्रख्यात बन्यो । अफसोस ती प्रख्यात तब भए जब उनी यो संसारमा थिएनन् । त्यो विडम्बना, त्यो बेजोड पीडा, जसमा एउटा कलाकारले आफूलाई सम्पूर्ण रूपमा दिन्छ तर आफैँले आफ्नो मूल्य कहिल्यै थाहा पाउँदैन । 

विश्वप्रसिद्ध चित्रकार भ्यानगगको जीवनकाल निराशा, अभाव र अन्धकारमै बित्यो तर उनले आफूलाई यी सबै असजिलो अवस्थामा पनि सहज अवतरण गराए । उनी सधैँ नयाँ कलाकर्मकै मेलोमेसोमा रातदिन लागिरहे । पाउनु केही थिएन, खान केही पाएनन् तर उनको कलाप्रेम यति गहिरो कि उनी जे बनाउँथे त्यो नवीनतम सिर्जना बन्थ्यो । उनको जीवनकालमा उनलाई समाजले चिन्न सकेन । जब समाज र समयले उनलाई चिन्ने समय आयो उनी यो संसारबाट सदाका लागि बिदा भइसकेका थिए । सत्य के हो भने भ्यानगगका फूलहरू आज पनि बोल्छन् । ती चित्रहरू केवल सौन्दर्य होइनन्, ती भावनाको त्यो दस्ताबेज हुन्, जहाँ एउटै मान्छेले जीवन र मृत्युलाई एउटै ब्रसले छोएको छ । त्यो चित्र हामीलाई सम्झाउँछ, सूर्यमुखी फूल सूर्यतर्फ फर्कन्छ, चाहे पृथ्वी कति नै अँध्यारो किन नहोस् ।

त्यसैले जब हामी ‘सूर्यमुखी फूल’ हेर्छौं, हामी भ्यानगगको चित्र हेर्दैनौँ, हामी उनीभित्रको त्यो उज्यालो खोज्छौँ जुन उनले कहिल्यै प्राप्त गर्न सकेनन् तर रङहरूमा हामीलाई दिएर गए । त्यो उनको खुसी र आत्माको सौन्दर्य थियो ।

वास्तवमा विश्वप्रसिद्ध चित्रकार भ्यानगगले बनाएको ‘सूर्यमुखी फूल’ चित्रकला उनको सबैभन्दा प्रसिद्ध कृतिमध्ये एक हो । यो एउटा मात्र चित्र नभई ‘सूर्यमुखी फूल’ चित्रहरूको एक ‘सिरिज’ हो । भ्यानगगले सन् १८८८ देखि १८८९ को बिचमा दक्षिणी फ्रान्सको आर्लसमा ‘सूर्यमुखी फूल’ को शृङ्खला बनाएका थिए । उनले दुई वर्षमा जम्मा सात वटा यस्ता चित्र बनाए, जसमध्ये पाँच वटा चित्र एउटै फूलदानीमा सूर्यमुखी फूलहरू राखिएको अवस्थामा छन् ।

भ्यानगगको ‘सूर्यमुखी’ चित्रहरूको मुख्य विशेषता, यी चित्रमा चम्किलो पहेँलो रङको व्यापक प्रयोग गरिएको छ; जसले आनन्द, जीवन र न्यानोपनलाई जनाउँछ । भनिन्छ, भ्यानगग आफैँले पहेँलो रङलाई आशा र कृतज्ञताको प्रतीक मानेका थिए ।

भ्यानगगले चित्रमा रङलाई ‘मोटो लेयर’ मा लगाएका छन्, जसले ‘ब्रसका स्ट्रोक’ स्पष्ट देखिन्छ । चित्रमा ‘टेक्स्चर’ तथा गहिराइ थपिन्छ । यसले फूलहरूमा एक किसिमको जीवन्तता र गति प्रदान गर्दै दर्शकलाई आकर्षण गर्छ ।

चित्रमा रहेका केही फूल पूर्ण रूपमा फुलेका छन् । केही ओइलाएका वा सुक्खा भएका पनि देखिन्छन् । यसले जीवनको क्षणभङ्गुरता र प्राकृतिक चक्रलाई दर्साउँछ, जुन भ्यानगगको आफ्नै मानसिक अवस्था र जीवनको उतारचढावसँग पनि स्वतः जोडिएको सहजै अनुभव हुन्छ । ‘सूर्यमुखी फूल’ का चित्र विश्वका विभिन्न सङ्ग्रहालयमा राखिएका छन् । 

भ्यानगगले सूर्यमुखी फूललाई भावना व्यक्त गर्ने माध्यमका रूपमा प्रयोग गरेका थिए । यसरी यी चित्रले मित्रता, आशा र सुन्दरताका साथै उनको आन्तरिक सङ्घर्षलाई पनि प्रतिविम्बित गर्छन् । भनिन्छ, उनले यी चित्रहरू आफ्नो साथी चित्रकार पल गोगँको कोठा सजाउनका लागि बनाइदिएका थिए ।

भनिसकियो कि भ्यानगगका ‘सूर्यमुखी’ चित्रहरू अमूल्य मानिन्छन् । यिनको ऐतिहासिक र कलात्मक महìव धेरै उच्च छ । यसैबिच सन् १९८७ मा टोकियोको सोम्पो म्युजियममा रहेको १५ सूर्यमुखी फूल भएको चित्र लन्डनको क्रिस्टिज लिलामीमा हालको विनिमयदर अनुसार करिब रु. पाँच अर्ब ३० करोडमा बिक्री भएको थियो । त्यस समयमा यो कुनै पनि कलाकृतिका लागि अहिलेसम्मकै सबैभन्दा बढी मूल्य थियो । यदि अहिले यो चित्र बिक्रीमा राखियो भने यसको मूल्य सयौँ मिलियन डलर हुने अनुमान गरिएको छ किनकि कला बजारमा भ्यानगगका चित्रको माग र मूल्य निरन्तर बढिरहेको छ ।

भिन्सेन्ट भ्यानगगको जीवन अभाव, दुःख र मानसिक पीडाले भरिएको थियो, जसले उनको कलामा गहिरो प्रभाव पारेको देखिन्छ । उनको अभावग्रस्त जीवन एक सङ्घर्षपूर्ण यात्राको कठिन मोडबाट गुज्रिएर बित्यो । आर्थिक अभाव रह्यो । अस्थिर पेसाका कारण उनले आफ्नो जीवनमा शिक्षक, पास्टर (धर्म प्रचारक), कपडा पसलको कर्मचारीलगायतका काम गर्ने प्रयास गरे तर कुनै पनि पेसामा उनी टिकिरहन सकेनन् ।

जीवन्त सूर्यमुखीहरूको ओछ्यानमाथि ती सबै चोट, सबै थकाइ बिर्सेर भ्यानगग मस्त निद्रामा सुतेको त्यो काल्पनिक चित्र देख्दा म भावविभोर हुन पुग्छु । कस्तो गहिरो शान्ति र समर्पण ! जसरी भ्यानगगले आफ्नो कलामा आफूलाई पूर्ण रूपमा समर्पित गरे, त्यसरी नै त्यो सूर्यमुखीको शय्यामा उनको निद्राले मलाई जीवनको एउटा फरक पाटो देखाउँछ । 

लाग्छ, प्रकृतिको त्यो अनुपम सुन्दरतामा डुबेर उनी सारा संसारका चिन्ताबाट मुक्त छन् । त्यो निद्रा केवल शारीरिक आराम मात्र होइन, बरु आत्माको एउटा गहन तृप्ति हो, जहाँ सिर्जना र शान्ति एकआपसमा सूर्यमुखी फूलको ओछ्यानमा एकाकार भएका छन् । 

Author

ज्ञानेन्द्र विवश