• २० भदौ २०८२, शुक्रबार

नसर्ने रोगको सङ्क्रमण फैलिनु चिन्ताको विषय : स्वास्थ्य मन्त्री सारु

blog

कार्यक्रमलाई सम्बाेधन गर्दै स्वास्थ्य मन्त्री खेमबहादुर सारु । तस्बिर : मुख्यमन्त्रीको सचिवालय

लीलाधर वली 
घोराही, भदौ २० गते ।
  लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने तथा दीर्घरोगीको सङ्ख्या थपिँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा शुक्रबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले क्यान्सर, मुटु तथा मृगौला रोगको सङ्ख्या अत्यधिक बढ्दै गएको बताउनुभयो । उहाँले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने मूल मान्यतालाई सबैले अंगाल्नुपर्नेमा जोड दिनुभएको हो ।

प्रदेश सरकारले मिर्गौला प्रत्यारोपण, मुटुको भल्भ फेर्न र क्यान्सर उपचारका लागि दुई लाख रुपियाँ उपचार सहयोग गर्दै आएको जानकारी दिँदै मन्त्री सारुले हाल प्रदेशमा उपचार सहयोगका कारण ठूलो आर्थिक भार परेको बताउनुभयो । प्रदेश सरकारले नसर्ने रोगको उपचारमा अनुदान सहयोग गर्दै आएको भन्दै मन्त्री सारुले भन्नुभयो, ‘‘यसबाट ठुलो आर्थिक भार प्रदेश सरकारले व्यहोर्नुपरेको छ । २०७९/८० मा २ सय २४ जनालाई ९ करोड १८ लाख रुपियाँ उपचारमा सहयोग गरिएको थियो भने २०८१/०८२ मा आइपुग्दा ३ हजार ८ सय ५१ जनालाई सहयोग गर्नुपर्यो । १९ करोड उपचार सहयोगमा खर्च भएको छ ।’’

स्वास्थ्य मन्त्री सारुले सबैले आफ्नै स्वास्थ्यप्रति सचेत रहनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य शरिरका लागि खानपान, आहार–विहारमा विशेष ध्यान दिन जरुरी रहेको भन्दै मन्त्री सारुले भन्नुभयो, ‘‘खासगरी धेरै हामी नेपालीहरू मानसिक तनावमा छौं । ब्लड प्रेसर, सुगर, क्यान्सरजस्ता रोगहरू भयावह रूपमा अगाडि बढिरहेका छन् । तीन वर्षको तथ्याङ्क हेर्दा पनि यी रोग तीन सय प्रतिशतले बढेका देखिन्छन् ।’’

प्रमुख सचिव बावुराम अधिकारीको अध्यक्षता तथा स्वास्थ्य मन्त्री सारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेशका सचिव कविन्द्र नेपाल, लीलाधर सुवेदी, मोतीराम सापकोटा, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमलगायतको उपस्थिति थियो । नेपाल रेडक्रस सोसाइटी दाङको प्राविधिक सहयोग र स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।