नन्द सिंह
रलिङ (हुम्ला), भदौ २० गते । कर्णाली करिडोरअन्तर्गतको सिमकोट खार्पु सडक खण्डको सडक अवरुद्ध भएको छ । हुम्लामा नियमित रुपमा परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न सडक खण्डहरू अवरुद्ध हुने क्रम बढ्दो छ ।
बाटो अवरुद्ध भएसँगै यहाँका नागरिकलाई आवतजावतमा समेत कठिनाइ हुने गरेको हो । सदरमुकाम सिमकोट नजिकै रहेको शिवमन्दिर आसपासमा पहिरो खसेर सडक पुरिएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सिमकोट शिवमन्दिरको तल रहेको सडकको माथिबाट पहिरो खसेर सडक पुरिएको छ । यसबाट दुवैतर्फ यातायात सेवा पूर्ण रुपमा बन्द भएका छन् । बिहीबार दिउँसो पहिरो खसेको थियो । बाटो अवरुद्ध हुँदा दुई दिनदेखि यात्रुले सास्ती खेप्नुपरेको छ ।
माथिबाट पहिरो आउँदा पचास मिटर सडक पुरिएको र सिमकोटदेखि सुर्खेत नेपालगन्ज र जिल्लाका अन्य भागमा जाने दर्जनौँ यातायातका साधन रोकिएका छन् भने सिमकोटतर्फ आउने पनि यातायातका साधनहरू सिमकोटकै थलहाल्न तर्फको सडकमा रोकिएका छन् । पहिरोले सडकलाई ठुलो क्षति पुर्याएको बताउँदै त्यसको मर्मत नगर्दासम्म यातायात सेवा सुचारु हुने सम्भावना छैन ।
उक्त सडक खण्ड पूर्वाधार विकास कार्यालय मातहतमा पर्दछ । उक्त सडक अवरुद्ध भएको दुई दिन बितिसक्दा पनि पूर्वधार विकास कार्यालय भने कानमा तेल हालेर बसेको पाइएको छ । हालसम्म जानकारी नआएकोले उक्त सडक खण्ड सुचारुका लागि ठेकेदारलाई खबर गर्ने पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख नरेश जैसीले बताउनुभयो ।