काठमाडौं, भदौ २० गते । युवा विश्व हिन्दु महासङ्घ हनुमानढोकाको आयोजनामा आज कन्या श्रीकुमारी पूजा सम्पन्न भएको छ । हनुमानढोका दरबार क्षेत्रमा येँया (इन्द्रजात्रा)को अवसर पारेर यो पूजा गरेको हो ।हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरूको सामूहिक पूजा गरिएको छ । पूजामा सहभागी हुनका लागि ससाना बालिकाहरूलाई कुमारीको भेषभूषामा सजाएर अभिभावकहरू उपस्थित भएका थिए ।
नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ । कन्या कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास छ ।
इन्द्रजात्राको अवसरमा गरिएको पूजामा ४५५ बालिका सहभागी भएको महासङ्घका अध्यक्ष राजन महर्जनले बताउनुभयो ।