सन्तोष दहित
दाङ, भदौ २१ गते । लुम्बिनी प्रदेश निजामती सेवा दिवस–२०८२ को पूर्वसन्ध्यामा राजधानी प्रशासनिक परिसरभित्र वृक्षारोपण गरिएको छ । प्रदेश राजधानी प्रशासनिक क्षेत्रलाई हरियाली र सौन्दर्यकरण गर्ने उद्देश्यले निर्माणाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरभित्र सौन्दर्यपरक तथा अन्य महत्त्वपूर्ण प्रजातिका बिरुवाहरू लगाइएको हो ।
वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै प्रदेशको प्रशासनिक परिसरलाई पूर्णरूपमा हरियाली बनाउन यसले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले लगाइएका बिरुवालाई हुर्काउनेतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
‘‘म आज ज्यादै खुसी छु । किनभने निजामती सेवा दिवसको सन्दर्भमा आयोजित वृक्षारोपणमा सहभागी हुन पाएँ । यो राजधानी प्रशासनिक परिसरलाई हरियालीमय बनाउन जरुरी छ,’’ उहाँले भन्नुभयो, ‘‘वातावरणलाई सन्तुलन राख्न, अक्सिजन उत्पादन गर्न र सितलता प्रदान गर्न बोटबिरुवाको भूमिका अतुलनीय रहन्छ ।’’
प्रमुख सचिव बावुराम अधिकारीले पनि वृक्षारोपण गरिएका बिरुवाको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । ‘‘वृक्षारोपण आफैंमा पवित्र काम हो । यहाँ रोपिएका बिरुवाले पछि फलान, फूलान, सितलता दिन्छन् । चराचुरुङ्गीले पनि वासस्थान पाउँछन्,’’ उहाँले भन्नुभयो, ‘‘यो महान कार्य हो ।’’
वृक्षारोपण कार्यक्रमको संयोजन वन तथा वातावरण मन्त्रालयले गरेको हो । मन्त्रालयका सचिव प्रमोद भट्टराईका अनुसार प्रशासनिक परिसरभित्र सौन्दर्यपरक कल्की, पारिजात, राजवृक्ष, गुलमोहर, फलफूल प्रजातिका आँप, अम्बा र अमला रोपिएका छन् । यस्तै, अन्य महत्त्वपूर्ण रक्तचन्दन र सतिसाललगायतका बिरुवाहरू पनि लगाइएको छ ।