बचेरा हुर्काउन
गुँडबाट बाहिर निस्कँदै
कहिले पोथी बेँसी झर्छे
कहिले भाले सहर पस्छ
दिनरात र साँझबिहान नभनी
झरी र खडेरी नभनी
खेतबारी खोस्रिन
नङ्ग्र्रा खियाएरै
प्राण धानेरै
जीवन चलिरहेकै छ
र क्रमशः पखेटा लागिरहेछन् बचेराहरूका
अलिकति
जो पखेटा लागेका मात्र हुँदा हुन्
सपनाको घर सजाउन
परदेशको माटोलाई मलजल गर्न
जन्मभूमिलाई धिक्कार्दै
पखेटा फट्फटाउन सुरुवात गर्छन् बचेराहरू
रेखदेख गर्नुपर्ने बेलाका
बाबुआमालाई थाप्लोमा
ऋणको भारी बोकाएर
भुर्र उड्छन्
आँसु र कौतूहल बोकेर
पराई देशको बिरानो सहरमा
बेलाबखत सम्झनामा
जन्मघरको
आमाबाबुको ऋणले
थिचिएको थाप्लोको
बालापनको मृदु मुस्कानको
प्राकृतिक हावापानीको
फर्कौं भन्दो हो त्यो मन पनि
छोडेर रमझम एकान्तको
कृत्रिम श्वासप्रश्वासको
तर मायावी संसारलाई बुझेन मनले
र वैभवलाई सफलता ठानेरै
दिनहुँ निस्कनै नसकिने भासमा
दलदल सरह जिन्दगी पासोमा
हालिरहेछन् बचेराहरू !
जसरी बाबुआमाले
झिसमिसे उज्यालोदेखि
आफ्नो खेतबारीमा पसिना बगाउँछन्
त्यसरी नै बचेराहरू साहुका लागि बन्धनमा
बिहान बेलुकै आफ्ना रुमानी सपना खातिर
जवानी र जीवन बिताउन बाध्य छन्
र अचानक बाबु र आमाको मृत्यु खबर प्राप्त हुँदा
उनीहरूलाई छुट्टी छैन घर फर्किन
किनकि साहुलाई घाटा लाग्ने छ
अनि बाध्यतामा सन्देश पठाउँछन्–
म फुर्सद मिलाएर केही दिनपछि आउने छु
बरफको बाकसमा हालेर राखिदिनु
मलाई अनुहार हेर्न मन छ ।
कृपया मेरा आफन्तजनहरू
त्यसरी मलाई
बरफको बाकसमा हैन
सिसाको पारदर्शी बाकसमा
फर्मालिनमा डुबाएर राखिदिनु
धेरै महिना वा वर्षसम्म रहने गरी
जब मेरा बचेराहरूलाई फुर्सद हुन्छ
तब मात्र आऊन् डायस्पोराबाट
अन्तिम पटक मेरो अनुहार हेर्न
वा उनीहरूलाई फुर्सद भएन भने
त्यही अवस्थाको
मेरो फोटो पठाइदिनु खिचेर
अन्तिम पटक हेर्नका लागि
अनि दिऊन् त्यही फोटोमा
उनीहरूले भ्याउँदा मात्र दिऊन्
श्रद्धाञ्जली !