• २१ भदौ २०८२, शनिबार

विद्याको लक्ष्य विनयशील नागरिक

blog

राष्ट्रपति रामचन्द्र पौडेल (बिचमा) शुक्रबार सेन्ट मेरिज विद्यालयको ७० औँ वार्षिकोत्सव समारोहपछि विद्यालय परिवारसँग । तस्बिर : विकास द्वारे

गोरखापत्र समाचारदाता

ललितपुर, भदौ २१ गते । मुलुकको छात्रा शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याएको जावलाखेलस्थित सेन्ट मेरिज माध्यमिक विद्यालयले ७० औंँ वार्षिकोत्सव (प्लाटिनम जुब्ली) मनाएको छ । सन् १९४५ मा स्थापना भएको यस विद्यालयबाट उत्पादित विद्यार्थी राजनीति, प्रशासन, न्यायलगायत राज्यको नेतृत्वदायी भूमिकामा पुगिसकेका छन् । 

विद्यालयको वार्षिकोत्सव कार्यव्रmमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षालाई ज्ञान, सिप र उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभयो । देशमा उत्पादन तथा रोजगारी बढाएर आत्मनिर्भर अर्थतन्त्रको विकासप्रति केन्द्रित हुनुपर्ने बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “विद्याले विनयशील नागरिक जन्माउने लक्ष्य हुनुपर्छ, सक्षम देशभक्त तयार हुनु पर्छ, हामीले हाम्रो शिक्षालाई ज्ञान, सिप र उद्यमशीलतासँग जोड्नु पर्छ ।” उहाँले भन्नुभयो, “शिक्षा सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणको अचुक अस्त्र पनि हो यसले आलोचनात्मक चेतको विकास गर्छ । साथै उत्तरदायी, जवाफदेही र निर्णय क्षमता अभिवृद्धिबाट आफू, देश र जनताको हितमा समर्पित हुने ऊर्जा शिक्षाले दिन्छ । 

मुलुकमा राजनीतिक परिवर्तनपछि शिक्षा, स्वास्थ्य, सञ्चार एवं सूचना प्रविधि, सडक, पूर्वाधार, जलविद्युत र ग्रामीण क्षेत्रको विकासमा प्रगति भएको छ” राष्ट्रपति पौडेलले भन्नुभयो, “लोकतान्त्रिक शासन प्रणालीले निर्बाध स्वतन्त्रता मात्र होइन विकास, भरोसा र प्रगतिको उज्यालो देखाएको छ ।”

युग निर्माणको यो युगिन अवसरबाट चुक्न नहुने बताउँदै राष्ट्रपति पौडेलले त्यसका लागि आवश्यक योजना, उपयुक्त नीति, स्वप्नदर्शी नेतृत्व र जनताकेन्द्रित सरकारका कार्यक्रम आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “त्यही अनुसारको शिक्षा दिएर सक्षम, योग्य र उद्यमशील जनशक्ति उत्पादन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुु पर्छ, नीतिनिर्माता, सरकार र शिक्षण संस्थाको अर्जुनदृष्टि यसैमा केन्द्रित होस् भन्ने म चाहन्छु ।”

कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मुलुकमा छात्रा शिक्षाको प्रवर्धनमा  विद्यालयले महìवपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । उक्त स्कुलका पूर्वछात्रासमेत रहनुभएका देउवाले सेन्ट मेरिजले दिएको शिक्षाकै कारण आफू अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो । 

सेन्ट मेरिज विद्यालयका रिजनल सुपेरिएर सिस्टर विनिताले सेन्ट मेरिजलाई अहिलेको अवस्थामा ल्याउन अदृश्य रूपमा धेरै व्यक्तिको योगदान रहेको बताउनुभयो । विद्यालयका प्राचार्य सिस्टर दीपाले विद्यालयलाई अहिलेको स्थानमा ल्याउन मद्दत पुर्‍याउने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यार्थीले गीत, नृत्य तथा अन्य साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।