काठमाडौँ, भदौ १२ गते । रङ्गकर्मी रङ्गकर्ममा मात्र सीमित नभएर चलचित्रमा पनि जम्ने जमर्को गर्नु नौलो कुरा होइन । त्यसमाथि अहिले रङ्गमञ्चकै कलाकार छ्यापछ्याप्ती चलचित्रमा देखिएका छन् । चलचित्र रङ्गमञ्चकै कलाकारको अभिनयमा निर्भर छ भन्दा फरक पर्दैन । त्यसैले नयाँ रङ्गकर्मीको मनमा अहिले चलचित्रमा अभिनय गर्ने रहर जागेको छ । रङ्गमञ्चमा मात्र सीमित रहँदा कतै हराइने हो कि भन्ने डरले पनि रङ्गकर्मी चलचित्रमा अभिनय गर्न लालयित भएका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।
रङ्गमञ्चका नाम चलेका निर्देशक हुनुहुन्छ आशान्त शर्मा । उहाँले आफ्नै निर्देशनमा चलचित्र ‘ताराहरू’ लाई दर्शकमाझ पस्कने जमर्को गर्नुभएको छ । उहाँ अभिनीत तथा निर्देशित चलचित्र अहिले हल सञ्चालकको चपेटामा परेको भन्ने धेरैतिरबाट सुनिन थालेको छ । शुक्रबारबाट ‘ताराहरू’ सँगै अन्य दुई चलचित्र ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ पनि प्रदर्शनमा आएका थिए । दुई चलचित्र हल सञ्चालकबाट राम्रो ‘सो’ पायो भने निर्देशक शर्माको चलचित्रले भने घिटी घिटी गरेर दुई/चार ‘सो’ मा मात्र सीमित हुन पर्यो ।
हल सञ्चालकले चलचित्रमाथि गरेको यस्तो ज्यादति यो पहिलो पटक भने होइन । गत वर्ष चलचित्र ‘सानो संसार’ ले पनि यस्तै मार खोप्नु परेको थियो । चलचित्रलाई पहिलो पटक मौसमको कारण देखाएर हलबाट उतारिएको थियो भने दोस्रो पटक पुनः प्रदर्शन गर्दा ठुला बजेटका चलचित्र ‘१२ गाउँ’ र ‘छक्का पन्जा ५’ लाई कारण देखाएर पर्याप्त सो दिइएको थिएन ।
सहरमा बस्ने एउटा निम्न मध्यमवर्गीय परिवारले देखेको सपना, उसको आकाङ्क्षा र उसले आफ्नो सपनालाई पछ्याउँदै गरेको सङ्घर्ष वरिपरि घुमेको कुरा चलचित्र ‘ताराहरू’ को कथा हो । मोहन (आशान्त शर्मा) ले एउटा क्याफे व्यवसायी र सँगसँगै कलाकार बन्ने सपना पूरा गर्न सङ्घर्ष गर्नुभएको कथा हो, चलचित्र । मोहनले सङ्घर्षको बाटोमा धेरै कुरा गुमाउनुहुन्छ र केही कुरा पाउँनुहुन्छ । मोहनको हरेक उतारचढाव र पाइला पाइलाका सङ्घर्षमा मैया (मीरा खड्का) ले साथ दिइरहनुभएको हुन्छ । मध्यउमेरका यी दम्पती जसरी हुन्छ एकअर्काको सपना पूरा गर्ने भनेर लागिपरेका छन् । आफ्नो सपना पूरा गर्न मोहन रेस्टुरेन्टमा सङ्गीतको काम गर्नुहुन्छ भने दिउँसो सामान ओसारपसार गर्ने ठाउँमा एउटा सामान्य कर्मचारीको काम गर्न पुग्नुहुन्छ । त्यही क्रममा साहु रतन (आभास अधिकारी) ले मोहनकी श्रीमतीप्रति देखाउनुभएको कुदृष्टि पनि चलचित्रको एउटा मुख्य पाटो हो ।
रतनबाट जोगिँदै आफ्ना सपना कसरी पूरा गर्ने भन्ने क्रममा मोहन धेरै किसिमका अवरोधमा फस्नुहुन्छ । त्यही अवरोधमा फस्दै जाँदा उहाँ आफ्नै श्रीमतीमाथि पनि पूर्वाग्रही बन्नुहुन्छ र चारैतिर अन्धकार मात्र देख्न थाल्नुहुन्छ । मोहनलाई यस्तो बोला कसले साथ दिन्छ र उहाँको मैयासँग फेरि भेट हुन्छ हुँदैन यिनै कुराले चलचित्रमा दर्शकलाई कौतूहलतामा पार्न सक्छ । साथै उहाँको भेट सङ्गीतलाई नै आफ्नो जीवन ठान्नेसँंग पनि हुन्छ जसले मोहनलाई सही बाटो देखाउने प्रयास पनि गर्छन् । के मोहन फेरि पुरानै लयमा फर्कन सक्नुहुन्छ ? या उहाँ जीवनदेखि निराश भएर आत्महत्यासम्म गर्न पुग्नुहुन्छ ? ‘ताराहरू’ ले यही कुराको जवाफ चलचित्रमार्फत खोतल्न खोजेको छ ।
निर्देशक शर्मा आफैँ कथामा मुख्य भूमिकामा देखिनुभएको हुनाले उहाँका लागि चलचित्र चुनौतीपूर्ण यात्रा बन्नु नौलो कुरा होइन । उहाँ अभिनयमा भन्दा पनि कथा र निर्देशकीय पाटोमा धेरै जम्नुभएको हो कि भन्ने भान हुन्छ । चलचित्रको संवाददेखि लिएर अन्य कलाकारको अभिनयमा रङ्गमञ्चकै प्रभाव देखिन्छ । चलचित्र हेर्दा नाटक नै हेरेको जस्तो अनुभूति हुन्छ । चलचित्रको राम्रो पक्ष भनेको यसको गीत/सङ्गीत हो । निर्देशक शर्माले दर्शकलाई साधारण कथामा मिठो स्वाद पस्कन त खोज्नुभयो तर प्रयाप्त ‘सो’ नपाउनु, रङ्गमञ्चकै ढर्रालाई अपनाउनु र कम प्रचारबाजी गर्नाले चलचित्रले दर्शकको साथ पाउन नसकेको हो कि ?