• २९ चैत २०८२, आइतबार

मतदानमा उत्साहित कलाकार

blog

काठमाडौँ, फागुन २२ गते । ‘आजको मत भोलिको परिवर्तन ! आज मैले मेरो अधिकार मात्र होइन, जिम्मेवारी पनि पूरा गरेँ ।’ प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट मतदान गरेपछि कलाकार विजय बरालले मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै उक्त भनाइ उल्लेख गर्नुभएको हो । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कलाकारको उत्साहजनक सहभागिता रह्यो । कलाकारले आआफ्नो मतदान केन्द्रमा पुगेर मत मात्र हालेनन्, सर्वसाधारणलाई लोकतान्त्रिक अधिकारका लागि मतदान गर्न प्रेरित पनि गरे । 

वरिष्ठ कलाकार हरिवंश आचार्यले बुढानीलकण्ठ नगरपालिका–५, विष्णुमती पुलस्थित मतदान केन्द्रबाट मतदान गर्नुभयो । यो निर्वाचनपछि देशले एउटा असल र सक्षम नेतृत्व पाउने आशा गरेको उहाँले बताउनुभयो । “अब बन्ने नेतृत्वले सबैभन्दा पहिला संविधानमा देखिएका त्रृटि सच्याउन जरुरी छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार दण्डहीनताको अन्त्य, छानबिन गर्न बाँकी भएका कुराको निष्पक्ष छानबिन लगायतका कुरालाई अबको नेतृत्वले गहन रूपमा लिन्छ भन्ने आशा गरेको छु । उहाँले भन्नुभयो, “नेपालीले नेपालमा काम गर्न पाउनु प¥यो, काम खोज्नका लागि विदेशी भूमि जान नपरोस् ।” आफ्नै देशमा रोजगारी सिर्जना गर्नुपर्ने बेला भएको उहाँको भनाइ छ । अब बन्ने नेतृत्वले गर्नुपर्ने मुख्य कुरा भनेको रोजगारी, कानुन संशोधन र दण्डहीनताको अन्त्य नै हो । 

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले मोरङको क्षेत्र नं. ६ स्थित बालिका माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभयो । मतदानपछि सामाजिक सञ्जालमा उहाँले आफूले नागरिकको कर्तव्य पूरा गरेको उल्लेख गर्दै खुसी व्यक्त गर्नुभयो । उहाँले सबै जनताले परिवर्तन चाहेका छन् र देशले अवश्य एउटा नयाँ परिर्वतन पाउने अपेक्षा गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा जसले राम्रो गर्छ, त्यसलाई नै भोट हाल्ने हो,” मैले पनि सही नेतृत्वका लागि नै भोट हालेकी छुँ । परिवर्तन, देशको सुधार र सुशासनका लागि मतदान गरेको उहाँको भनाइ छ ।   

गायिका कोमल वलीले दाङको तुलसीपुर उपमहानगरपालिका–८, कृष्ण मन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभयो । देश निर्माण र समृद्धिका पक्षमा आफ्नो अमूल्य मतदान प्रयोग गरेको उहाँले बताउनुभयो । निर्वाचनपछि अब देशले राजनीतिक निकास पाउँछ भन्ने आशावादी भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मतदान केवल अधिकार होइन, राष्ट्रनिर्माण र आगामी पुस्ताको भविष्यप्रतिको जिम्मेवारी पनि हो । आजबाट लोकतन्त्रको विजय भएको छ । अब देशले एउटा राजनीतिक निकास दिन्छ ।” 

त्यस्तै अभिनेत्री रेखा थापाले काठमाडौँ क्षेत्र नम्बर ४, पशुपति क्याम्पसबाट मतदान गर्नुभयो । उहाँले मतदानपछि सामाजिक सञ्जालमार्फत सबैलाई मिलेर र मिलाएर देश बनाउन शुभकामना दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘यो निर्वाचनबाट उत्साहितभन्दा पनि आफ्नो भोट हाल्ने कर्तव्य पालना गरेकी हुँ ।” अब बन्ने नेतृत्वबाट के आशा गर्नेभन्दा पनि आशा गर्ने ठाउँ नै नभएको उहाँको ठ्म्याइ छ । उहाँले थप्नुभयो, “कसैको बहुमत नै आउँछ जस्तो देख्दिनँ र एकलौटी सरकार कसैले चलाउन पाउँछ जस्तो लाग्दैन ।” उहाँले निर्वाचनबाट जनतामा निराशा नछाओस् भन्ने कामना रहेको उल्लेख गर्नुभयो । 

हास्य कलाकार जितु नेपालले काठमाडौँ क्षेत्र नम्बर २ कोडबेरी विद्यालय नरेफाँटबाट मतदान गर्नुभयो । ‘हामीले एक असल नागरिकको कर्तव्य पूरा ग¥यौँ । अब चुनावअघि गरेका वाचा पूरा गर्ने जिम्मा तपाईंहरूको’ भनेर सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँले भन्नुभयो, “अब जसको नेतृत्व आए पनि गलत गर्ने छुट छैन, नराम्रो गर्ने कसैलाई छुट छैन ।” अब बन्ने नेतृत्वले जेनजीले उठाएका माग सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ । अब सबैले मिलेका काम गर्नु पर्छ । सबै दलको विचार, पार्टी र सिद्धान्त फरक फरक भए पनि देशको राष्ट्रिय मुद्दा, भ्रष्टाचार नियन्त्रण, देश विकास, राष्ट्रिय गौरवका आयोजना र राष्ट्र सार्वभौमका कुरामा दलहरू एउटै नीतिमा जानुपर्ने उहाँले बताउनुभयो ।  

यस पटकको निर्वाचनमा सुनिशा बजगाईं, ऋचा शर्मा, दिया मास्के, केकी अधिकारी, वर्षा राउत, उषा रजक, निशा भट्टराई, नीता ढुङ्गाना, आँचल शर्मा, स्वस्तिमा खड्का, सुरक्षा पन्त, निर्मल शर्मा, विपिन कार्की, हरिहर अधिकारी, गायक सीताराम पोखरेल, प्रताप दास, प्रकाश सपुत, रविन महर्जन, रचना रिमाल, निर्देशक निश्चल बस्नेत, सन्तोष सेनलगायतका कलाकारले मतदान गर्नुभयो । यद्यपि केही कलाकार योग्य भएर पनि मतदानमा सहभागी हुन सकेनन् । अभिनेत्री बेनिशा हमाल, साम्राज्ञीराज्यलक्ष्मी शाह, नम्रता सापकोटा, गायिका एलिना चौहानले मतदान गर्न पाउनुभएन । उहाँहरू विभिन्न कार्यक्रमका लागि विदेश पुगेकाले यस पटकको निर्वाचनमा मतदान गर्नबाट वञ्चित हुनुभएको हो ।