• २३ वैशाख २०८३, बुधबार

पाँचौँ गुल्मी महोत्सव तीन दिन थपियो

blog

पाँचौँ गुल्मी महोत्सव । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख २३ गते ।
पाँचौँ गुल्मी महोत्सव तीन दिन थप गरिएको छ। वैशाख ११ देखि २३ गतेसम्म सञ्चालन गर्ने योजना रहेको महोत्सव लगातारको वर्षाका कारण प्रभावित बनेपछि अवधि बढाइएको हो।

नगरपालिका, प्रशासन र सरोकारवालासँग समन्वय गरेर महोत्सवलाई वैशाख २६ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको गुल्मी उद्योग वाणिज्य संघ का महासचिव चेतनारायण पाण्डेले जानकारी दिनुभयो।

महोत्सवको दोस्रो दिनदेखि केही दिन बाहेक लगातार वर्षा भइरहेको छ। वर्षाका कारण टाढा–टाढाबाट आएका व्यापारी मर्कामा परेका छन् भने राष्ट्रियस्तरका कलाकारले पनि प्रस्तुति दिन कठिनाइ भएको छ।

महोत्सवस्थलमा सबैभन्दा धेरै फेन्सी सामग्रीका स्टल रहेका छन्। महोत्सवको आर्थिक व्यवस्थापन उपसमिति संयोजक ईश्वरीप्रसाद पौडेलका अनुसार वर्षाले कपडाका सामग्री भिजाएको छ। दर्शकको भीड बढ्ने समयमा लगातार दुई दिन पानी परेकाले व्यापारसमेत प्रभावित बनेको उहाँले बताउनुभयो।

स्टल चुहिने तथा पानीको छिटा पस्ने समस्याका कारण ब्ल्याङ्केट, च्यादर, सिरक, डसना लगायतका सामग्री बिग्रिने जोखिम रहेको व्यवसायीले बताएका छन्। होटल व्यवसायीलाई पनि पानी पर्नासाथ स्टल बन्द गर्नुपर्ने अवस्था छ। तेलजन्य सामग्रीमा आगलागी हुन सक्ने जोखिमका कारण सावधानी अपनाउनुपरेको उनीहरूको भनाइ छ।

आर्थिक व्यवस्थापन उपसमिति संयोजक पौडेलले वर्षाका कारण अपेक्षित आर्थिक कारोबार नहुने देखिएको बताउनुभयो। महोत्सव प्रचार–प्रसार उपसमिति संयोजक कृष्ण खनालले थपिएका तीन दिन व्यापारिक दृष्टिले अझ महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।

महोत्सवमा स्थानीय उत्पादनका रूपमा काठका ठेकी, मह, माछा, तरकारी, बिरुवा, माटाका सामग्री तथा हस्तकलाका सामग्री बिक्रीका लागि राखिएको छ।