• २६ साउन २०८२, सोमबार

गाईजात्रामा राजनीतिक व्यङ्ग्य

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘२०८२ सालको गाईजात्रा’ महोत्सवमा सहभागी हुनुहुँदै ।

काठमाडौँ, साउन २६ गते । गाईजात्रा भन्नेबित्तिकै सांस्कृतिक पर्वका रूपमा लिइन्छ । साउनको अन्तिम हप्तातिर नेवार बस्तीमा गाईजात्राको सांस्कृतिक पर्व चलिरहँदा काठमाडौँका केही सभा हलमा राजनीतिक तथा सामाजिक विषयवस्तुमाथि व्यङ्ग्यका गाईजात्रे हास्य कार्यक्रममा सञ्चालन भइरहेका छन् । 

टेलिभिजन र युट्युबमा हास्य कार्यक्रम उत्पादन गरिरहेका हास्य कलाकारका लागि गाईजात्रा पर्वले व्यस्त बनाएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा ‘२०८२ सालको गाईजात्रा’ र राष्ट्रिय नाचघरमा ‘गाईजात्रा महोत्सव–२०८२’ चलिरहेको छ । यस पटकको गाईजात्रे हास्य प्रहसनमा राजनीतिक, सामाजिक, युवा पलायन, प्रविधिका विकास जस्ता विषयले स्थान पाएको छ । यस्ता प्रहसनले दर्शकलाई पेट मिचिमिची हाँस्न बाध्य बनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘२०८२ सालको गाईजात्रा’ महोत्सवमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा आइतबार हेर्नुभयो । 

मनोज गजुरेलको ‘साइबर गु्रप’ जसमा सामाजिक सञ्जालको गालीगलौज तथा कथाव्यथाको गालीगलौजदेखि लिएर शैलेन्द्र सिम्खडाको ‘राजनीतिक तथा सामाजिक व्यङ्ग्य’ कविता प्रहसनमा प्रस्तुत गरिएको थियो । महोत्सवमा बालकलाकार पुमी गौतमले झोला र विद्यालयमाथि आफ्नो एकल प्रस्तुति दिनुभएको थियो । त्यस्तै श्रेया सुवेदी र प्रकृति गिरीले इयङ्का कार्की र पेलिना चौहानको क्यारेक्टरमा महिला सेलिब्रेटीमाथि हुने साइबर बुलिङको प्रहसन दिनुभएको थियो । सुबोद गौतमले प्रसूतिगृह, सुमन कार्की र मेक्सम गौडेलले कारागारमा मुर्गा प्रसाईं र छवि लामिछानेले प्रहसन दिनुभएको थियो । सीता न्यौपानेको महिला वेदना अदालतमा र मनोज गजुरेल र साथीहरूले शक्तिकेन्द्रमाथि प्रहसन देखाउनुभएको थियो । पशुपति शर्माको गीत र नवराज पराजुलीको कविताले पनि ‘२०८२ सालको गाईजात्रा’ को माहोललाई तताएको थियो ।

कलाकार मनोज गजुरेलले अहिले राजनीति र समाज परिवर्तन हुँदै छ र विषयवस्तु पनि त्यही सँगसँगै परिमार्जित हुँदै जाने बताउनुभयो । उहाँका अनुसार राजनीति पहिला व्यङ्ग्यको विषय थियो, केही सुध्रिन्छ कि भन्ने थियो, भो अहिले निराशा खालका व्यङ्ग्य भए पनि कलाकारले हास्यमार्फत आशाका किरण छरिरहेको बताउनुभयो । 

हास्यव्यङ्ग्यले सिर्जनात्मक अभिव्यक्ति माध्यममार्फत समाजका खराब पक्षलाई सुधार्न सहयोग गर्छ तर नेपाली समाजमा यो विश्वास र विचार अझै प्रमाणित हुन सकेको छैन । उल्टै समाजका पात्र, चरित्र र प्रवृत्ति भ्रष्टीकरणको दिशातर्फ तीव्र उन्मुख बन्दै गएको पाइन्छ । प्रविधिले हास्यव्यङ्ग्यको प्लेटफर्म परिवर्तन गरिदियो, बजार फेरिदियो तर कलाकारले व्यङ्ग्य गर्ने विषय फेरिएन । अहिले  हास्यव्यङ्ग्यको प्रस्तुति डबली र रङ्गमञ्च हुँदै कमाइको माध्यम बन्दै गएको पाइन्छ । त्यति मात्र होइन हास्य विधाले कार्टुन चित्रणका माध्यम भएर डिजिटल प्लेटफर्ममा प्रवेश पनि पाइसकेको छ ।