• ११ भदौ २०८२, बुधबार

तिज गीत : आधुनिकताले खोसेको मौलिकता

blog

काठमाडौँ, भदौ ११ गते । समयले तिजलाई परिवर्तन गरेको हो या तिजले समयलाई । यो बहसको विषय होला तर जसरी तिज मनाउने चलनमा परिवर्तन आएको छ, यसको प्रत्यक्ष प्रभाव तिजका गीतमा पर्न थालेको छ । यसले मौलिकता जोगाउन लागिपरेका कलाकारलाई समेत टाउको दुखाइको विषय बनेको छ ।

विगतमा तिजका गीतमा चेलीका विरह, सुखदुःख, श्रीमान्श्रीमतीबिचको सम्बन्ध र चेली–माइतीका सम्बन्ध पाइन्थ्यो । अहिले तिजका गीतमा मायाप्रीतिका कुरा, डिस्को डान्स जस्ता नचाहिँदा शब्द प्रयोग हुन थालेका छन् ।

संस्कृतिविद् गोविन्द टन्डनका अनुसार तिजका गीत भनेको महिलाहरू आफूलाई परेको सुखदुःख र उकुसमुकुसलाई अभिव्यक्त गर्ने एउटा साधनका रूपमा परम्परादेखि नै चलिआएको हो ।  उहाँ भन्नुहुन्छ, “अहिले यसलाई व्यावसायिक रूपमा जाँदा यसमा विकृति मिसिएको हो कि जस्तो लाग्छ ।” अहिले तिजका गीत परिवारबिच बसेर सुन्न र हेर्न नसकिने खालका छन् । गीतका भाका, शब्द जसमा नारीको उकुसमुकस भन्दा पनि उनीहरूको स्वच्छन्दता हार्न गएको हो कि भन्ने भान हुन थालेको छ, जुन चिन्ताजनक छ । यसलाई रोक्ने भनेकै यस्तो गीत सुन्नै हुन्न भनेर बहिष्कार गर्नुपर्ने टन्डनको भनाइ छ ।

लोकगायिका राधिका हमालको सोचाइ भने भिन्न छ । उहाँले अहिले तिजका गीतमा विकृति एकदमै घटेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले १०० वटा गीत निस्केका छन् भने हामीले ९० वटा राम्रा गीतको कुरा गर्न छाडेर १० वटा नराम्रा गीतको कुरा गरेर विकृति आयो भन्छौँ । पहिला हामी सुध्रिनु प¥यो । हामीले राम्रोलाई उजागर गर्ने हो ।  

तिजका गीतमा मौलिकता नभएको जनगुनासो केही वर्षदेखि नै बढ्दै आएको हो । तिजमा चेलीहरू माइती जाने गर्छन् । सबैसँग बसेर सँगै सुखदुःखका गफ गर्दै दर खाने गर्छन् । गीतहरूमा पनि सुखदुःख वर्णन गरिएको हुन्छ तर अहिले बजारमा आएका गीतमा त्यो भावना पाइँदैन । हाम्रा केही सर्जक आधुनिक भइसकेका छन् । गीतमा सुखदुःखभन्दा पनि मायाप्रेम बाढ्न थालेका छन् । मायाप्रीतिका कुरासमेत यो तिजमा सुन्न थालेपछि अन्योलता छाएको छ ।

संस्कार रहे संस्कृति रहन्छ, संस्कृति रहे हाम्रो अस्तित्व र परिचय रहन्छ । तिजको धार्मिक र सांस्कृतिक महत्व जति छ, त्यत्ति नै तिजको अवसरमा गाइने गीतको महत्व छ । ग्रामीण क्षेत्रको कुरालाई छोडेर सहरकेन्द्रित हुने हो भने आधुनिकताका नाममा तिज भड्किलो भएकै छ, जसको ज्वलन्त ऐना हुन् अहिले बजारमा आएका गीतसङ्गीत ।

कुनै जमानामा ‘तिजको लहर आयो बरी लै तिजको लहर आयो बरी लै’ बोलको गीतमा रमाउँथे । दिदीबहिनीहरू वर्षको एक दिन गीतले भने झैँ गरेर तिज मनाउँथे । अहिले त्यो तिज रहेन । अहिले तिजका गीत रकमै जम्न थालेका छन् ।