• १६ चैत २०८०, शुक्रबार

वर्षायाममा सावधानी अपनाउन सुझाव

blog

काठमाडौँ, जेठ १० गते । आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपत्बाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिकार्य योजना, २०७९ अनुसार यसपटकको  प्राकृतिक विपत्मा १७ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

गृह मन्त्रालयको संयोजन र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्यमा बनेको प्रतिकार्य योजनाले अनुमानित क्षति र प्रभावलाई कम गर्नेगरी तयारी गरेको छ । यस पटक पहाड र हिमालभन्दा पनि तराईमा बढी वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । सोहीअनुसार तराई भेगमा रहेको अत्यधिक जनसङ्ख्या बाढी र डुबानको चपेटामा पर्ने अनुमान गरिएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताउनुभयो । 

यसपटकको प्राकृतिक विपत्मा १७ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

उहाँका अनुसार प्राधिकरणले सबै सरोकारवाला निकायसँगको समन्वयमा तयार पारेको मनसुन प्रतिकार्य योजना कार्यकारी समितिले पारित गर्न बाँकी छ । स्थानीय निर्वाचन र अन्य कार्यालय कामको व्यस्तताका कारण समितिको बैठक बस्न सकेको छैन । गृहमन्त्री बालकृण खाण नेतृत्वको समितिले योजना पारित गरेपछि औपचारिक रूपमा कार्यान्वयनमा जानेछ । तथापि केही काम प्राधिकरणकै योजनामा रहेकाले सोही योजनाअनुसार सात प्रदेश, स्थानीय तहका निकायलाई आ–आफ्ना प्रतिकार्य योजना बनाउन अनुरोध गरिएको जानकारी उहाँले दिनुभयो । 

सङ्घीय तहबाट प्राधिकरणले सातै प्रदेशमा विपत्का लागि आवश्यक राहत सामग्री तथा विपत्का क्रममा प्रयोग गरिने सरसामानसहितको गोदाम घर व्यवस्थित गर्न सुरु गरेको छ । विशेष गरी यस पटक तराईमा उच्च सतर्कता अपनाउन भनिएको छ  ।