काठमाडौँ, मङ्सिर ५ गते । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुग्ने बताउनुभयो।
उहाँले जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान नसक्ने भएकाले माग पूरा हुनेमा ढुक्न रहन पनि बताउनुभएको हो । उहाँले कतिपय विषयमा सरकारको संवैधानिक र कानुनी सीमा पनि ख्याल गरिदिन आग्रह गर्नुभयो।
प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि उहाँहरुलाई सुझाव दिनुभयो।
तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबिच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारी सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय जोडतोडले उठाएका छन्।