यो साल चिसो छिट्टै बढेकाले माथिल्लो भेग (हिमाल) का स्थानीय पोखरा वा तल्लो भेगमा बसाइँ सर्ने तरखरमा छन् भने तराईमा पनि बाक्लो हुस्सु र शीतलहरको जोखिम बढ्ने देखिएपछि स्थानीय चिन्तित छन् ।
काठमाडौँ, मङ्सिर ४ गते । चिसो यामको सुरुवातसँगै हिमालमा हिउँले र तराईमा शीतले आमनागरिकलाई गाह्रो पार्ने पिरलो बढेको छ । सर्वोच्च शिखर सगरमाथाको फेदीस्थित सोलुखुम्बुका विभिन्न गाउँका स्थानीय कसरी जिउ जोगाउने भन्ने ध्याउन्नमा छन् । यसपालि कात्तिक महिनादेखि नै हिउँ पर्न थालेकाले माघसम्मको ठिही ज्यानले धानी नसक्ने पो हो कि भन्ने पिरलोमा गाउँवासी छन् । प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डेले टेलिफोन सम्पर्कमा भन्नुभयो, “अत्यधिक हिमपात भयो भने हिउँपहिरो आउने चिन्ता छँदै छ, थिङ्लाको ठाडो पहिरो रोकिएको छैन, कसरी जोगिने भन्ने पिर छ ।”
यो पहिरोको अध्ययन गरेर आसपास बस्न हुने हो कि होइन भन्ने पत्ता लगाउन काठमाडौँबाट अध्ययन टोली मगाएको अहिलेसम्म आइनपुगेको उहाँले बताउनुभयो । सेताम्मे हिउँबिच बिग्रेको टावरले गर्दा सञ्चारको पहुँच यतिबेला उच्च भेगमा छैन । यसले माथिल्लो भेगमा पुगेका गाउँले मात्र होइन, पाहुनाको जीवन पनि असुरक्षित बनाइरहेको उहाँ सुनाउनुहुन्छ ।
हिउँदमा एक मात्र भरपर्दो आवागमन हवाई उडानसमेत बन्द भइदिन्छ । विकल्पको सडकमार्ग व्यवस्थित बनाउन सकिएको छैन । त्यस्तोमा हिउँदमा आपत्विपत् परिहाल्यो भने के गर्ने भन्ने सुर्तामा गाउँले छन् । हिउँदमा परेको हिउँ खेतीका लागि औषधी सरह भए पनि कहिलेकाहीँ विपत् बनिदिन्छ । यस्तोमा गाउँलेको ज्यान जोगाउने पूर्वसूचना प्रणालीलाई कसरी सक्रिय बनाउन सकिन्छ भन्ने चिन्ता पनि जिल्ला प्रशासन र स्थानीय सरकारको टाउको दुखाइ बन्ने गरेको छ । त्यस्तो हिमालमा उद्धार गर्न सक्ने सुरक्षाकर्मी निकै कम हुँदा बर्सेनि समस्या हुने गरेको छ ।
उता मनाङको अवस्था पनि उस्तै छ । सुन्दर पर्यटकीय क्षेत्रमा हिउँद लागेपछि पर्यटक कम आउँछन् । भएका गाउँलेका लागि भने हिउँद कहिलेकाहीँ काल जस्तै हुन्छ । २०७१ सालमा हुद्हुद् चक्रवात आँधीले १५ जनाको मृत्यु भएको ठाउँ त्यही हो । गत कात्तिकको बेमौसमी हिमपातमा दुई जनाको ज्यान गयो । झन्डै दुई हजार पाँच सय पर्यटक अलपत्र परेका थिए ।
प्रमुख जिल्ला अधिकारी नवराज पौडेल भन्नुहुन्छ, “पछिल्लो समय जलवायु परिवर्तनको असरले हिमालका फेदआसपास वर्षा हुँदा बाढी पनि आउन थालेपछि दोहोरो प्राकृतिक विपत्तिको सामना गर्नु परेको छ ।” यसपालि हिउँद छिट्टै लागेकाले चिसो बढ्ने सम्भावना बढेसँगै माथिल्लो भेगका स्थानीय पोखरा वा तल्लो भेगमा बसाइँ सर्ने तरखर थालिसकेका छन् । हिउँदकै मुखमा विद्युत् अवरोधको सिर्जना भएको छ । गाउँलेलाई जाडोमा न्यानो घर कसरी दिने भन्ने चिन्तामा प्रशासन र स्थानीय सरकार छ । हिउँदे विपत् आइहाल्यो भने उद्धार, राहतलाई कसरी व्यवस्थित गर्ने भनेर दिनहुँ छलफल हुन थालेको छ ।
तराईमा पनि कठिनको सङ्केत
हिमालमा मात्र होइन, यसपाला तराईको हुस्सु कुहिरो र शीतलहर कडा हुने सङ्केत अहिले नै देखिन थालेको छ । असोज, कात्तिकको वर्षापछिको डुबानले आक्रान्त बनेका स्थानीयलाई भुइँको चिसोसँगै मौसमी चिसोले ज्यान लैजाला कि भन्ने ठुलो पीर रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । असोज, कात्तिकको वर्षाले क्षतिग्रस्त बाँधबाट पानी गाउँमा आइरहेकै छ । यस्तैमा चिसोको हुस्सु र कुहिरोले भुइँ सुक्न दिएको छैन । औरहीमा निजी आवास पुनर्निर्माण हुन सकेको छैन । मानिस चिसा टहरामै बसिरहेका छन् । यादवले सुनाउनुभयो, “भुइँको चिसो नसुक्दै आकाशको शीतलहरको चपेटामा गाउँबस्ती पर्ने देखिएको छ । सात लाख २५ हजार जनसङ्ख्या रहेको महोत्तरीमा चिसोबाट कसरी जोगिने र जोगाउने भनेर पहल थालिएको उहाँले बताउनुभयो ।
रौतहटमा पनि गत साल बागमती, लालबकैया र अरू स्थानीय खोलाको बाढीले तहसनहस पारेको थियो । त्यहाँका दुई हजार ८७७ घरपरिवार असोज र कात्तिकको बेमौसमी बाढीले प्रभावित बनेका थिए । धान डुबाएको मात्र होइन, घर नै डुबेर उकासिन नसकेका बस्तीमा शीतलहरको पानी चुहिन थालिसकेको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो । चिसोमा न्यानो बनाउने दाउराको अभाव, अधिक गरिबीको रेखामुनि रहेकालाई न्यानो ओछ्यान र कपडाको अभाव कायमै देखिएको छ ।
बुधबार हिउँदे विपत् सम्भावित हिमाल र तराईका प्रमुख जिल्ला अधिकारीले यसरी नै केन्द्र सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल र विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टलाई सुनाउनुभयो । गृहमन्त्रीसँग विपत् संवाद कार्यक्रममा दुई निकायले देशभरका लागि हिउँ र शीतलहर प्रतिकार्य योजना २०८२ लाई अन्तिम रूप दिँदै गर्दा गाउँमा के भइरहेको छ भनेर गृह मन्त्रालय र प्राधिकरणले सोधनी गरेका थिए । चिसोले प्रभावित पार्ने जिल्लाबाट आएका सुझावलाई समेत समावेश गरेर कार्यान्वयनमा लैजाने प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टराईले जवाफ दिनुभएको थियो । छलफलका क्रममा उपसचिव रामबहादुर केसीले प्रतिकार्य योजनाका बारेमा जानकारी दिँदै आमनागरिकको जिउधन जोगाउने उद्देश्यसहित विभिन्न निकायसँग सहकार्य गर्ने गरी कार्यान्वयनमा लैजाने तयारी रहेको अवगत गराउनुभयो ।
सूचना प्रणालीलाई सुदृढ पार्न जरुरी
गृहमन्त्री अर्यालले शीतलहर र हिमपात पूर्वानुमानयोग्य घटना भएकाले पूर्वसूचना प्रणालीलाई सुदृढ पार्न जरुरी रहेको बताउनुभएको छ । त्यसका लागि सबै सरोकारवाला निकायलाई सहकार्य र समन्वय गर्न उहाँले निर्देशन दिनुभयो ।
गृहमन्त्री अर्यालले भन्नुभयो, “प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि सरोकारवाला सबै निकायले एउटै प्रतिबद्धता कायम गर्दै मानव जीवन र सम्पत्तिको रक्षा गर्नु साझा उत्तरदायित्व हो ।”
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार आयोजना गरेको ‘गृहमन्त्रीसँग विपत् संवाद कार्यक्रम’ मा उहाँले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र पूर्वसूचना रेडियो, टिभी, एसएमएस, सामाजिक सञ्जाल, स्थानीय संयन्त्रलगायतका माध्यमबाट वर्ग, क्षेत्र र समुदायलाई समयमै सचेत बनाउनुपर्ने बताउनुभयो ।
बुधबारै सार्वजनिक गरिएको शीतलहर तथा हिमपातसम्बन्धी दुई राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनमा तिनै तहको सरकार, सरोकारवाला निकाय, दातृ निकाय, सञ्चार जगत्, निजी क्षेत्र सबैको उत्तिकै जिम्मेवारी हुने उहाँको भनाइ थियो ।
शीतलहर र हिमपातका पूर्वतयारी र प्रतिकार्य एक राष्ट्रिय चुनौती भएको भन्दै मन्त्री अर्यालले कार्ययोजना कार्यान्वयनका लागि बजेटलगायतका स्रोतसाधनको व्यवस्थापन, संस्थागत क्षमता विकास, सरोकारवाला सबै निकायबिच समन्वयका लागि प्राधिकरणलाई निर्देशन दिनुभयो ।