• ५ मंसिर २०८२, शुक्रबार

मधेश प्रदेशको स्वास्थ्य सूचकांकमा सुधार आवश्यक छ : मुख्यमन्त्री यादव

blog

मधेश प्रदेशको स्वास्थ्यसम्बन्धि वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री सरोज कुमार यादव।

धर्बेन्द्र झा

जनकपुरधाम, मङ्सिर ५ गते। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको सूचकांकमा अझै सुधारको खाँचो रहेको बताउनुभएको छ।  मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार आयोजना गरिएको वार्षिक समीक्षा गोष्ठीमा उहाँले स्वास्थ्यकर्मीले अझ बढी इमानदारीपूर्वक काम गर्न जरुरी रहेको बताउनुभयो।

उहाँले मधेश प्रदेश अन्नको भण्डार रहेपनि यहाँको पोषणको अवस्था राम्रो नहुनु दुखद रहेको भन्दै यसतर्फ ध्यान दिन आवश्यक रहेको औंल्याउनुभयो।खाद्यान्न उत्पादन तथा खाद्य सुरक्षाको दृष्टिकोणले मधेश प्रदेश सुरक्षित भए पनि यसै ठाउँमा पाँच वर्ष मुनिका बालबालिका बढी कुपोषित हुनु राम्रो संकेत नरहेको भन्दै उहाँले यसको सुधारका लागि जनचेतना जगाउनुपर्ने धारणा राख्नुभयो।

मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा भौतिक पुर्वाधार निर्माणको साथसाथै स्वास्थ्यसँग सम्बन्धित क्षेत्रलाई पहिचान गरी काम गर्न जरुरी भएको बताउनुभयो।स्वास्थ्य क्षेत्रमा परिवर्तनका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मी सँगसँगै लाग्न जरुरी भएको उहाँको भनाइ छ।

मधेश प्रदेशका स्वास्थ्य सचिव डा. ओमप्रसाद अर्यालले मधेश प्रदेशको समग्र स्वास्थ्य क्षेत्रमा गरिनुपर्ने सुधारका लागि रणनीति बनाउन यस गोष्ठीले महत्वपुर्ण योगदान दिनसक्ने धारणा राख्नुभयो।उहाँले यसका लागि गहन छलफल गरी निश्कर्ष निकाल्नका लागि सबैमा आग्रह पनि गर्नुभयो।

मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा वक्ताहरुले चिसो मौसममा शीतलहरबाट आमनागरिक बढी प्रभावित हुने भएकोले त्यस तर्फ पनि स्वास्थ्यकर्मीले ध्यान दिएर जनचेतना जगाउनुपर्नेमा जोड दिएका थिए। 

तीन दिनसम्म गोष्ठीमा मधेश प्रदेशका आठ वटै जिल्लाका विभिन्न तह तप्काका स्वास्थ्यकर्मीको सहभागिता रहेको छ।