• १५ वैशाख २०८१, शनिबार

ओली–हमालबीच चलचित्र संवाद हुने

blog

काठमाडौँ, फागुन २९ गते । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । 

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणमा चलचित्रका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा शत्रमा ‘दिग्गज नेता र अभिनेता संवाद’ राखिएको छ । 

नेता र अभिनेताबिचको संवाद राष्ट्रिय सभागृहको हलमा निःशुल्क अवलोकन गर्न पाइने छ । चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यसम्मका विषयमा छलफल हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी दिनुभएको छ । 

महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीसँग संवाद गर्ने, नम्रता शर्माले चलचित्रमा लैङ्गिक असमानताले पारेको प्रभावका बारेमा र अभिनेतृ रिमा विश्वकर्माले गायिका आनी छोइङ डोल्मा आदिसँग कुरा गर्ने कार्यक्रम रहेको छ । बिहीबार सुरु भएर सोमबार समापन हुने महोत्सवमा दुवै छलफलका कार्यक्रम आइतबार पर्यटन बोर्डको हलमा हुने छ ।

छलफलका शृङ्खला अन्तर्गत नै शनिबार प्रविधिविज्ञ तथा गीतकार करुण थापाले एआईका कारण भविष्यमा फिल्म निर्माणमा पर्न सक्ने असरका बारेमा एकल प्रस्तुति दिने कार्यक्रम रहेको छ । शनिबार नै फिल्म समीक्षक प्रभाकर गौतमले केकी अधिकारी, प्रदीप भट्टराई र सम्पादक केपी ढुङ्गानासँग ‘समीक्षा ताली कि गाली’ शीर्षकमा बहस चलाउने छन् । 

शुक्रबार भने चलचित्र पत्रकार रघुनाथ सापकोटाले सिनेमाका नयाँ बजार र अवसर शीर्षकमा दिनेश डिसी, जितु नेपाल, पुष्पलता न्यौपाने र जनक तामाङसँग छलफल चलाउने कार्यक्रम रहेको छ । गायिका आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ को प्रदर्शनसँगै यो सालको निफ सुरु गरिने कार्यक्रम रहेको छ । यस पटकको संस्करणमा ४० देशका ८८ चलचित्र देखाइने जानकारी दिइएको छ ।