गोरखापत्र अनलाइन
काठमाडौँ, मङ्सिर ५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले ११ औँ राष्ट्रिय महाधिवेशन पार्टीको नेतृत्व चयनमा मात्र पार्टी केन्द्रित हुने बताउनुभएको छ।
नेपाल निर्माण उद्योग परिषद्को प्रथम राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले ललितपुरको गोदावारीमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पार्टीको नीति र विधि निर्माण गरिसकेकाले आगामी महाधिवेशन नेतृत्व निर्माणमा मात्र केन्द्रित हुने बताउनुभयो ।
“हामीले भर्खरै गोदावरीमा सम्पन्न पार्टीको दोस्रो विधान महाधिवेशनमा छलफल गरेर पार्टीको नीति बनाइसकेका छौँ । त्यो नीतिमा कसैले पनि असहमति जनाएका छैनन्” उहाँले भन्नुभयो, “ललितपुरमा भएको केन्द्रीय कमिटी बैठकमा पनि जेनजी आन्दोलनबारे पार्टीले दृष्टिकोण बनाएको छ । त्यसलै अब ती नीति, विधि र दृष्टिकोणमा छलफल आवश्यक छैन, नेतृत्वको चयन हुन्छ ।”
एमालेको महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा तोकिएको छ । महासचिव पोखरेलले उहाँले बलियो राजनीतिक शक्तिको निर्माण सही नीति, कार्यक्रम र प्रभावकारी नेतृत्वबाट मात्र हुने धारणा राख्नुभयो।
संविधान र कानुनअनुसारको राज्य निर्माणको बाटोमा एमाले प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । उहाँले अहिलेको असामान्य परिस्थितिमा विशेष साङ्गठनिक योजनाका साथ पार्टी अगाडि बढ्न खोजेको उल्लेख गर्नुभयो । भेलामा परिषद्का अध्यक्ष बलिभद्र रानाले महाधिवेशनमा उद्योग व्यवसायीका विषयलाई गम्भीरताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो ।