धमाधम आउँदै निर्वाचन परिणाम
गत शुक्रबार सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । उम्मेदवारहरू धेरै भएका स्थानमा मतगणनाको परिणाम आउन समय लागेको पाइएको छ । बागमती प्रदेशका विभिन्न जिल्लाबाट प्राप्त मत परिणामअनुसार सत्तारूढ गठबन्धनले अग्रता लिएको छ भने दोस्रो स्थानमा नेकपा (एमाले) रहेको छ ।
चाँगुनारायणको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी
चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्री विजयी हुनुभएको छ । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । नगरप्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाँस्तोलाले नौ हजार १६० मत प्राप्त गर्नुभयो । यसपटकको निर्वाचनमा ३९० मतले कांग्रेससँग पराजय भोग्नुभएकी बाँस्तोला यसअघि चाँगुनारायण नगरपालिकाको उपप्रमुख हुनुहुन्थ्यो ।
भरतपुरमा मतान्तर बढाउँदै दाहाल
भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बन्नुभएकी नेकपा(माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर एक हजार ३९३ पुगेको छ । दाहाल नौ हजार ४४७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने सुवेदी आठ हजार ५४ मतका साथ पछ्याइरहनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल चार हजार २६५ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार २६५ र राप्रपाका हिमला गुरुङले छ हजार ५७७ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौंको शंखरापुर नगर प्रमुखमा राप्रपाका नापित, उपप्रमुखमा कांग्रेसका श्रेष्ठ विजयी
काठमाडौंको शंखरापुर नगरपालिका प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित चार हजार सात सय मतसहित विजयी हुनुभएको छ ।
राक्सिराङ र गढीमा गठबन्धनका अध्यक्ष र उपाध्यक्ष विजयी
मकवानपुरको राक्सिराङ गाउँपालिकाका र मकवानपुरगढी गाउँपालिका सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
साँगाचोकगढी नगरमा माओवादीका देशबन्धु र समाजवादीकी थापा बिजयी
चित्र मिजारसिन्धुपाल्चोक, जेठ ३ गते । सिन्धुपाल्चोक–चौतारा सा“गाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्ण सापकोटा ‘देशबन्ध’ र उपमेयरमा समाजबादीकी सीता थापा बिजयी हुनुभएको छ । सापकोटाले ११ हजार ७२ र उपमेयरमा एकीकृत समाजवादीकी सीता थापाले ९ हजार ७२६ मत ल्याएर निर्वाचित हुनुभएको हो । सो नगरमा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन थियो । सापकोटाका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेद्वार इन्द्र नेपालले ६ हजार ७११ मत र थापाकी निकटतम प्रतिस्पर्धी एमालेकी बालकुमारी सापकोटाले ९ हजार ७२६ मत ल्याउनुभयो । नेपाली कांग्रेसका केशवराज गिरीले ६ हजार २४५ र तुलसी प्रधानले ५ हजार ७६० मत ल्याउनुभयो । माओवादी केन्द्रको गढक्षेत्र चौतारा सा“गाचोकगढी नगर अघिल्लो २०७४ निर्वाचनमा पनि माओवादीकै अमानसिं तामाङ र जानुका पराजुलीले जित्नुभएको थियो ।
टेकुका स्थानीयको विरोधले उपत्यकाको फोहोर उठेन
काठमाडौंका सडकमा फेरि फोहोर थुप्रिन थालेको छ । उपत्यकाका सडक र गल्लीमा थुप्रिएको फोहोर उठाउन नसक्दा फेरि फोहोर थुप्रिन थालेको हो।
माडी नगरपालिकामा एमालेकी ताराकाजी महतो निर्वाचित
माडी नगरपालिकाको मेयरमा नेकपा (एमाले) की ताराकुमारी काजी महतो निर्वाचित हुनुभएको छ ।
भरतपुर महानगरमा रेनु दाहाल २०७ मतले अगाडि
भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)को उम्मेदवार रेनु दाहालले अग्रता लिनुभएको छ।
नुवाकोटको ५ स्थानीय तहको परिणाम सार्वजनिक, काँग्रेस अग्रस्थानमा
वैशाख ३० गते सम्पन्न भएको स्थानिय तह निर्वाचनअन्तर्गत नुवाकोटमा ५ वटा स्थानीय तहको मतगणना सकिएको छ । तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका र सूर्यगढी गाउँपालिकामा मतगणना सकिएको हो ।
गजुरी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका श्रेष्ठ र उपाध्यक्षमा विसुराल विजयी
गजुरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी शर्मिला विसुराल विजयी हुनुभएको छ ।
काभ्रेको भुम्लु गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी
काभ्रेको १३ वटा स्थानीय तहमध्ये भुम्लु गाउँपालिकामा गठबन्धन विजय भएको छ । भुम्लु गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट अध्यक्षको उम्मेदवारी दिनुभएको प्रेमबहादुर आले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रमान तामाङ विजयी हुनुभएको हो ।
अमेरिकाद्वारा मकवानपुरमा पुनर्निर्मित स्वास्थ्य चौकी उद्घाटन
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्ल्यु बेरी मकवानपुरस्थित काँकडा स्वास्थ्य चौकीको उद्घाटन समारोहमा सहभागी हुनुभएको छ ।
त्रिपुरासुन्दरीमा काँग्रेसका भक्तध्वज र गीता विजयी
त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली काँगे्रसका भत्तध्वज बोहरा र गीता नेपाल अध्यक्ष र उपाध्यक्षमा विजयी हुनुभएको छ । नवनिर्वाचित बोहराले ४ हजार २२९ मत ल्याउनु भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका मेघनाथ पौडेलले ३ हजार २६७ मत ल्याउनुभयो । एमाओबादी केन्द्रका बिर्खबहादुर श्रेष्ठले १ हजार ८६२ मत ल्याउनु भएको छ ।
ललितपुरमा काँग्रेसका चिरीबाबु र उपप्रमुखमा एमालेकी मञ्जलीको अग्रता
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।
सुनापति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादीका तामाङ र विष्ट विजयी
जिल्लाको सुनापति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार दिपेन्द्र खड्कालाई पराजित गर्दै माओवादीका ठूलोकान्छा तामाङ विजयी हुनुभएको हो ।
बाह्रबिसे, भोटेकोशीमा काँग्रेस र बलेफीमा माओवादी केन्द्र विजयी
बाह्रबिसे नगरपालिका मेयरमा नेपाली काँग्रेसका बालकृष्ण बस्नेत र उपमेयरमा मञ्जु तामाङ विजयी हुनु भएको छ । प्रमुख बस्नेतले सात हजार ७२८ मत र उपमेयर तामाङले ६ हजार ९७७ मत ल्याउनु भएको थियो ।
काठमाडौं महानगरमा बालेन शाह पहिलो स्थानमै
काठमाडौं महानगर प्रमुखमा ९ हजार ३५३ मतसहित स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमै हुनुहुन्छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित ४ हजार ९७६ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह ४ हजार ३४७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । महानगरका निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ८४५, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६९१ मत ल्याउनुभएको जानकारी दिनुभयो । यसैगरी, प्रमुखमा निर्वाचन चिन्हहरु तराजुमा १०७, मादलमा १७, चक्का पाङ्ग्रोमा सात, कुखुराको भालेमा पाँच, सुगामा चार, खानेपानीको धारामा २१, करुवामा चार, किताबमा दश, बाघमा एक मत प्राप्त भएको छ ।
पाँचखाल नगरपालिका–१३ मा पुनः मतदान सुरु
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१३ मा मङ्गलबार पुनः मतदान सुरु भएको छ । विवादका कारण रोकिएको पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम मावि मतदान केन्द्रको पुनः मतदान मङ्गलबार बिहान ७ बजेदेखि सुरु भएको हो । बिहान ८:३० बजेसम्म १५० मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जानकारी दिनुभयो।
तारकेश्वर नगरपालिका प्रमुखमा काँग्रेसका महर्जन र उपप्रमुखमा बुर्लाकोटी विजयी
काठमाडौंको तारकेश्वर नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका कृष्णहरि महर्जन विजयी हुनुभएको छ । महर्जनले ११ हजार ९८८ मत प्राप्त गर्नुभयो । उहाँको निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का रामेश्वर बोहोराले सात हजार ८०८ मत ल्याउनुभयो ।
मदन–आश्रित स्मृति दिवस मनाइँदै
नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाइँदै छ । विसं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा जीप दुर्घटना हुँदा उहाँहरुको निधन भएको थियो ।
धादिङको खनियाबासमा कांग्रेस र रुविभ्याली गाउँपालिकामा नेकपा माओवादी विजयी
धादिङको खनियाबास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रणबहादुर तामाङ विजयी भएका हुनुभएको छ भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सेकेमान तामाङ विजयी हुनुभएको छ ।
भरतपुर महानगरमा दाहाल ३० मतले अगाडि
भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा ९एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ । दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा न। ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि हुनुहुन्छ ।
परिणाममा ढिलाइ ,निर्णय प्रक्रिया अवरुद्ध
निर्वाचन मत परिणाम आउन ढिलाइ हुँदा स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था उत्पन्न भएको छ । गत २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल यही जेठ ६ गते सकिँदै छ । शुक्रबारभित्र निर्वाचित जनप्रतिनिधिले स्थानीय तहको कार्यभार नसमाल्ने हो भने स्थानीय तहमा हुने निर्णय प्रक्रिया पूर्ण रूपमा अवरुद्ध हुनेछ ।