• ४ वैशाख २०८१, मङ्गलबार

नुवाकोटको ५ स्थानीय तहको परिणाम सार्वजनिक, काँग्रेस अग्रस्थानमा

blog

नमराज सुबेदी
नुवाकोट, वैशाख ३० गते ।
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनअन्तर्गत  नुवाकोटमा ५ वटा स्थानीय तहको मतगणना सकिएको छ । तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका र सूर्यगढी गाउँपालिकामा मतगणना सकिएको हो ।

तादी गाउँपालिका र तारकेश्वर गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

तादी गाउँपालिका प्रमुखमा काँग्रेस र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मतपरिणाम अनुसार गाउँपालिका अध्यक्षमा काँग्रेसका सन्तमान तामाङले तीन हजार २४१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका किरणप्रसाद रिजालले दुई हजार ५१८ मत ल्याउनुभएको थियो ।

यसैगरी, उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार सञ्जु श्रेष्ठ–प्याकुरेलले तीन हजार ३९७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार ईश्वरी उप्रेतीले दुई हजार ७७८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, किस्पाङमा एमाले–माओवादीको गठबन्धन विजयी भएको छ । सम्पन्न मतगणनामा अध्यक्षमा वीरबल तामाङ र उपाध्यक्षमा अर्जुन न्यौपाने विजयी हुनुभएको छ । प्राप्त विवरण अनुसार किस्पाङको अध्यक्षमा वीरबल तामाङ तीन हजार ६४८ मतसहित विजयी हुनुभएको छ ।

उहाँको प्रतिद्वन्द्वी काँग्रेसका छत्रबहादुर लामाले तीन हजार ४५२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा अर्जुनप्रसाद न्यौपाने तीन हजार ७१२ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसकी दिलकुमारी मोक्तानले तीन हजार २६० मत ल्याउनुभएको हो ।

यस्तै, तारकेश्वर गाउँपालिकामा काँग्रेसका उम्मेदवार शिवप्रसाद अधिकारी र उपाध्यक्षमा हरिप्रसाद रिमाल विजयी हुनुभएको छ ।

काँग्रेसका उम्मेदवार शिवप्रसाद अधिकारीले पाँच हजार ६६५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार रमेशबहादुर वस्तीले तीन हजार ३४१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रको उम्मेदवार हरिप्रसाद रिमालले चार हजार ६५८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा एमालेको उम्मेदवार कोपिला भट्टले तीन हजार ३९२ मत ल्याउनुभएको छ ।

यस्तै, म्यागङ गाउँपालिकामा कांग्रेसका उम्मेदवार आशा तामाङ र उपाध्यक्षमा सिता वाइवा तामाङ विजयी हुनुभएको छ । काँग्रेसका उम्मेदवार आशा तामाङले तीन हजार २०९ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार सुकबहादुर तामाङले दुई हजार ५९२ मत र एमालेका उम्मेदवार मेघनाथ तामाङले एक हजार ९४८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपाध्यक्षमा सीता तामाङले तीन हजार ७३१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी एमालेको गङ्गामाया तामाङले दुई हजार ४२ मत र माओवादी केन्द्रको उम्मेदवार सम्झना गुरुङले एक हजार ७४९ मत ल्याउनुभएको छ ।

यसैगरी, नुवाकोटको ५ स्थानीय तहको परिणाम सार्वजनिक, काँग्रेस अग्रस्थानमा नुवाकोटको सूर्यगढी गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । यसअघिको अध्यक्ष र उपाध्यक्ष रहेका उम्मेदवारहरु पुनः पाँचवर्षे कार्यकालका लागि विजयी भएका छन् ।

अध्यक्षमा सन्तबहादुर घले तीन हजार ७५९ मत र उपाध्यक्षमा मञ्जु ढकाल तीन हजार २०२ मत प्राप्त गरी विजयी हुुनुभएको छ ।

घलेका प्रतिस्पर्धी नेकपा एमालेको राजेन्द्र रिजालले दुई हजार ८८९ मत र नेकपा समाजवादीका धुव्र अधिकारीले दुई हजा १७४ मत ल्याउनुभएको छ ।

यस्तै, उपाध्यक्षमा विजेता हुनुभएका ढकालका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गङ्गा आचार्यले दुई हजार ९३२ मत र माओवादी केन्द्रको उम्मेदवार इमानसिंह तामाङले दुई हजार ६७३ मत ल्याउनुभएको थियो ।

स्थानीय तह निर्वाचनको जारी रहेको मतगणनामा नुवाकोटमा पाँच दर्जनभन्दा बढी वडाको  नतिजा सार्वजनिक भएको छ । विभिन्न ६ वटा पालिकको मतगणना सम्पन्न भइसकेको छ भने बाँकी रहेको पालिकाको गणना अधिकांशमा अन्तिमतर्फ पुगिसकेको छ ।

वैशाख ३० मा भएको मतदानको गणनामा सुरुवाती समयदेखि नै अग्रता लिएको विदुरमा राजनलाल श्रेष्ठ, काँग्रेसको उम्मेदवारले दुई हजारभन्दा बढी मतले अगाडि रहनुभएको छ । विदुरको १, २, ३, ४, ५, ६,७ र ८  नं. को गणनाको क्रममा प्रमुखमा काँग्रेसका श्रेष्ठले अग्रता लिइरहनुभएको छ ।

उपप्रमुखमा प्रभा बोगटी, माओवादी केन्द्रको उम्मेदवार एक सय मतको हाराहारीमा  अग्रता लिइरहनुभएको छ । उहाँलाई एमालेको उम्मेदवार अम्बिका पौडेलले पछ्याइरहनुभएको छ ।

यस्तै, बेलकोटगढी नगरपालिकाको वडा नं .१, २, ३, १३ र १२, ११ को मतगणनामा राजेन्द्ररमण खनाल, नेकपा एमालेका उम्मेदवारलाई फराकिलो अन्तरलेपछि पार्दै जगतबहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका उम्मेदवार अग्रस्थानमा रहनुभएको छ ।

यस्तै, उपप्रमुखमा रुपा सापकोटा नेकपा एमालेको उम्मेदवारलाई केही मतले पछि पार्दै शिवप्रसाद दाहाल काँग्रेसको उम्मेदवाले अग्रता लिनुभएको छ ।

काँग्रेस र माओवादी केन्द्रबीच पालिका तहमा गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गरेको भएपनि प्रमुखमा प्राप्त भएको जति उपप्रमुखमा नआएको कारण काँग्रेसका उम्मेदवार शिव दाहाल र नेकपा एमालेका रुपा सापकोटाबीच प्रतिस्पर्धा देखिएको छ ।