• १६ चैत २०८२, सोमबार

गुन्जिए तीन मुक्तक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १६ गते । मुक्तककार रामसुन्दर देउजा, पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’ र सुभद्रा अधिकारीले संयुक्त रूपमा मुक्तक सुनाएका छन् । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त मुक्तक वाचनमा प्रत्येक मुक्तककारले १५ थान मुक्तक सुनाएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले वर्तमान समयमा चतुष्पदीय हरफमा लेखिने मुक्तकले गहिरो भावको सूत्रात्मक अभिव्यक्ति दिने बताउनुभयो । 

अनुभूति, भावना अभिव्यक्त गर्ने शक्तिशाली माध्यमका रूपमा मुक्तक रहेको उहाँको भनाइ छ । मुक्तक प्रतिष्ठानले मुक्तक सम्बन्धमा प्राडा लक्ष्मणप्रसाद गौतमको अगुवाइमा सिद्धान्त निर्माण गरी पुस्तकसमेत प्रकाशन गरेको छ । उहाँले आफ्ना केही थान मुक्तकसमेत सुनाउनुभयो । 

यस्तै लोमस वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ ले मुक्तक समसामयिक विकृतिविरुद्ध लक्षित देखिएका मात्र नभएर देशप्रेम, माटोको माया, भावना, प्रेमलगायतका विषयमा प्रस्तुत भएको बताउनुभयो । चिबहालः गौचर परिवारको सहकार्यमा भएको कार्यक्रमको मिडिया पार्टनर इखबर नेट रहेको छ ।