घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), चैत १६ गते । कैलालीको घोडाघोडी नगरपालिका–८, जरहीका हेमकला राजीले स्नातक तहको अध्ययन पूरा गरेको तीन वर्ष भयो । उहाँले रोजगारीको खोजीमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तीन वर्षदेखि रोजगारीका लागि भौँतारिँदा भौँतारिँदै निराश भइसकेँ ।”
उहाँ भन्नुहुन्छ, “हामी जस्ता पहुँच नभएकाले जागिर पाउन कठिन छ । अझै पनि सिपभन्दा पहुँचकै आधारमा रोजगारी दिइन्छ ।”
उहाँले कामका लागि नगरपालिका, वडा कार्यालय तथा विद्यालयमा मात्र होइन दुई पटक लोक सेवा आयोगको तयारी पनि गर्नुभयो तर कतै पनि आफूले जागिर नपाएपछि अहिले एकबर्से बिएड गर्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मानविकी सङ्कायमा स्नातक गरे पनि सामान्य बोर्डिङमा पढाउन पनि लाइसेन्स चाहिने रहेछ । शिक्षण लाइसेन्स निकालेपछि पढाउन त पाइएला भनेर एकबर्सो बिएड गर्दै छु ।”
हेमकलाको घरमा उहाँसँगै तीन जना दाजुभाइ सबैले उच्च शिक्षा हासिल गर्नुभएको छ तर कसैले पनि रोजगारी पाउन सक्नु भएको छैन । हेमकाला भन्नुहुन्छ, “राजी समुदायमा उच्चा शिक्षा हासिल गर्ने परिवार हाम्रो मात्र हो । समुदायका अन्य परिवारमा जेनतन १० कक्षासम्म उत्तीर्ण गरेका छन् ।” जरही गाउँमा १७ परिवार राजी समुदायको छ । राजी समुदायको पुख्र्यौली पेसा जङ्गली मौरीको मह निकाल्ने, खोलामा माछा मार्ने भए पनि सामुदायिक वन बनेपछि उनीहरूले पुख्र्यौली पेसा छोडेका छन् ।
यो समुदायका अगुवा दुर्गा राजीले अल्पसङ्ख्यकमा राजी समुदाय भए पनि आरक्षण कोटा नहुँदा पढेलेखेका युवाले रोजगार नपाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीलाई सामाजिक सुरक्षा भत्ताभन्दा पनि पढेलेखेका छोराछोरीले रोजगार पाउनु पर्छ ।”
विगतका सरकारसँग राजी समुदायको समस्या राख्दै आए पनि सुनुवाइ नभएपछि अहिलेको नयाँ सरकारले केही गर्छ कि भन्ने आशा समुदायले गरेको छ ।