• १६ चैत २०८२, सोमबार

निलो बन्दै बस्ती, ओझेलमा पुरानो पहिचान

blog

खरका छानाको ठाउँमा जस्तापाता लगाएपछि रास्कोट–८ को बस्ती। तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, चैत १६ गते ।
ग्रामीण क्षेत्रमा सडक विस्तारले नागरिकको दैनिकी सहज बनाए पनि परम्परागत संस्कृति भने बिस्तारै हराउँदै गएको छ। सडकको पहुँचसँगै गाउँमा खरले छाइने घरका छाना अहिले जस्तापाताले ढाकिन थालेका छन्।

पहिले गाउँमा आफ्नै खरबारी हुन्थ्यो। मङ्सिर महिनामा खरबारीमा गएर खर काटेर ल्याउने र पुस–माघमा छाना छाउने चलन सामान्य थियो। अहिले भने यस्तो चलन प्रायः अन्त्य भएको छ। सडक पुगेपछि ट्याक्टरमार्फत जस्तापाता गाउँसम्म ल्याउन सहज भएपछि कम्तीमा १५ वर्षसम्म टिक्ने भन्दै गाउँहरू खरका छानामुक्तजस्तै बनेका छन्।

रास्कोट नगरपालिका–८ का पलाँतीवाडा, ढोकायावाडा र पाटडील गाउँ यतिबेला जस्तापाताले ढाकिएका निला बस्तीमा परिणत भएका छन्।

केही गाउँमा खर र केही गाउँमा माटोको थारो (ल्याण्टर) हाल्ने चलन पनि अहिले पूर्ण रूपमा अन्त्य भएको छ। रास्कोट–८ का भानुप्रसाद सुवेदीले गाउँमा माटोको थारो हाल्ने र कतै खर (कयार)ले घरका छाना (पाखा) छाउने चलन हराइसकेको बताउनुभयो।

“एक जनाबाट सुरु भएको जस्तापाता (टिन) ले छाना छाउने चलन अहिले पुरै गाउँभरि फैलिएको छ,” उहाँले भन्नुभयो, “पुरानो खर र माटो कुटेर थारो हाल्ने चलन हराइसकेको छ।”

उहाँका अनुसार हावा धेरै चल्ने ठाउँ भएकाले पहिले माटोको थारो हाल्ने चलन थियो भने खोल्सो परेको बस्तीमा खरका छाना हुन्थे। अहिले जताततै जस्तापाताका छाना भएकाले टाढाबाट हेर्दा गाउँ पूरै निलो देखिने गरेको छ।

रास्कोट–१ का नगेन्द्रप्रसाद आचार्यले आगलागीको जोखिम र हरेक वर्ष छाना छाउनुपर्ने दुःखका हिसाबले खरको ठाउँमा जस्ता हुनु राम्रो भए पनि गाउँको परम्परा हराउँदै जाँदा नराम्रो अनुभूति हुने गरेको बताउनुभयो।

“खरले घरका छाना छाउने दिनमा त्यो घरमा दालभात पकाएर सबै मिलेर खाने, रमाइलो गर्ने र पालैपालो सबैका घरमा काम गर्ने चलन थियो,” उहाँले भन्नुभयो, “यसले मान्छेमा सहयोगी भावना विकास हुन्थ्यो। अहिले यी सबै हराए, मिस्त्री बोलायो, जस्ता लगायो र १०–१२ वर्ष ढुक्क भन्ने चलनले गाउँको शोभा हराउँदै गएको छ।”