• १६ चैत २०८२, सोमबार

नक्कली नोट कारोबारको आशङ्कामा चर्माकार पक्राउ

blog

बागलुङमा एक हजारका नक्कली नोट कारोबारको आशङ्कामा पक्राउ परेका अधिवक्ता यामबहादुर चर्माकार। तस्बिर : गोरखापत्र

नवराज नेपाली
बागलुङ (गलकोट), चैत १६ गते ।
जिल्ला प्रहरी कार्यालय बागलुङले एक हजार रुपियाँका नक्कली नोट कारोबारको आशङ्कामा अधिवक्ता यामबहादुर चर्माकारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

बागलुङ बजारका विभिन्न बैंकमा एउटै नम्बरका एक हजार रुपियाँका नोट फेला परेपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो। सोही क्रममा चर्माकारसँग नक्कली नोट फेला परेकाले थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्रोतका अनुसार सोमबार जिल्ला अदालत बागलुङबाट चर्माकारलाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

“चर्माकारले मेडिकल पसलमा औषधि खरिदका लागि उक्त नक्कली नोट दिनुभएको थियो,” स्रोतले भन्यो, “उहाँले दिएको नोट नक्कली जस्तो देखिएपछि अनुसन्धान चर्माकारतर्फ केन्द्रित भएको थियो। उहाँसँग थप १६ वटा नक्कली नोट फेला परेपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको छ।”

नक्कली नोट कहाँ छापियो र चर्माकारसँग कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान जारी रहेको छ। बागलुङ बजारमा १८ वटाभन्दा बढी एक हजारका एउटै नम्बरका नोट फेला परेका थिए।

बागलुङमा रहेका नेपाल बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंक लगायतका बैंकमा एक हजार रुपियाँका एउटै नम्बरका नोट फेला परेको नेपाल बैंक लिमिटेड बागलुङ शाखाका प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो।

कुँवरका अनुसार झ ७९१६९०३३ नम्बरको नोट दोहोरो फेला पर्न थालेपछि प्रहरीलाई जानकारी गराइएको थियो। नक्कली नोटमा कागजको गुणस्तर, राष्ट्रिय फूल, स्टिकर तथा सुरक्षात्मक चिन्ह फरक पाइएको र नम्बरसमेत एउटै रहेको छ। नक्कली नोटको विषयमा नेपाल राष्ट्र बैंकलाई समेत जानकारी गराइएको बैंकर्स क्लब बागलुङका अध्यक्ष श्रीजय श्रेष्ठले बताउनुभयो।