• ४ जेठ २०८१, शुक्रबार

चाँगुनारायणको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी

blog

भक्तपुर, जेठ ४ गते । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्री विजयी हुनुभएको छ । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो ।

नगरप्रमुखमा काँग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाँस्तोलाले नौ हजार १६० मत प्राप्त गर्नुभयो । यसपटकको निर्वाचनमा ३९० मतले काँग्रेससँग पराजय भोग्नुभएकी बाँस्तोला यसअघि चाँगुनारायण नगरपालिकाको उपप्रमुख हुनुहुन्थ्यो ।

त्यसैगरी उपप्रमुखमा एमालेकै रमेश बुढाथोकी विजयी हुनुभएको छ । बुढाथोकीले ११ हजार १०७ मत प्राप्त गरी विजयी हुनुभयो भने काँग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेले नौ हजार ६७ मत प्राप्त गर्नुभयो । नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रवीन्द्रप्रताप शाहले आठ हजार ६७ मत प्राप्त गर्नुभयो भने नेमकिपाबाट प्रमुखमा उम्मेदवारी दिनुभएका केशवप्रसाद तिमिल्सनाले तीन हजार २६७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा राप्रपाका मञ्जु कार्कीले छ हजार ८६ मत र नेमकिपाका कल्पना लामाले तीन हजार ३७४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै चाँगुनारायण नगरपालिकाको वडाध्यक्षमा वडा नं १ मा काँग्रेसका सिजन कार्की, २ मा काँग्रेसकै सोम प्रधान, ३ मा एमालेका श्यामसुन्दर धिमाल, ४ मा एमालेका रोजबहादुर तामाङ, ५ मा काँग्रेसका जयन्द्र खड्का, ६ मा राप्रपाका धनबहादुर लामा, ७ मा राप्रपाका श्याम नायजू श्रेष्ठ, ८ मा काँग्रेसका जनक खत्री र ९ मा नेमकिपाका गणेश त्यात विजयी हुनुभएको छ ।