तराईबाट पहाडतिर उक्लियो डेङ्गु
लुम्बिनी प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । प्रदेशको अस्थायी मुकाम बुटवल डेङ्गुको ‘हट स्पट’ बनेको छ । तराईका जिल्लामा मात्र सीमित डेङ्गुु अब पहाडी जिल्लामा समेत देखापर्न थालेको छ । पहाडी जिल्ला पाल्पामा डेङ्गुबाट सङ्क्रमित भएका बिरामी भेटिनेक्रम बढेको छ । पाल्पाका विभिन्न अस्पतालमा गरेको परीक्षणमा डेङ्गुका बिरामी फेलापरेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्लामा पछिल्लो तीन महिनाको अवधिमा २० जना डेङ्गुबाट सङ्क्रमित भएको फेलापरेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।
जनवादी विद्यालयमा बालबालिका पढाइँदै
भूमे गाउँपालिकाले गाउँपालिकाभित्रका अभिभावकविहीन बालबालिकालाई आवासीय सुविधासहित पठनपाठन सुरु गरेको छ । भूमे–३, क्याङ्सीमा माओवादी जनयुद्धकालमा सञ्चालन गरिएको जनवादी विद्यालयलाई अहिले अनाथ बालबालिकाको आवासीय व्यवस्थाका साथै जीवन्त अध्ययन सङ्ग्रहालयको रूपमा प्रयोगमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताउनुभयो ।
दुर्लभ चराको बासस्थान रेसुंगा र मदाने
गुल्मीको रेसुंगा र मदाने वन संरक्षण क्षेत्र हिजोआज दुर्लभ चराको बासस्थान बन्न थोलेको छ । २०७३ सालमा रेसुंगा र २०६८ मा मदानेलाई सरकारले वन संरक्षण क्षेत्र घोषणा गरेको थियो ।
पानी र बिजुली साटासाट
नेपाल र भारत सीमा क्षेत्रमा एकअर्का देशबाट बिजुली र पानी साटासाट गरेर १२ वर्षदेखि सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा तैनाथ छन् । सीमा क्षेत्रको सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीले नेपालबाट बिजुली र भारतबाट पानी ल्याएर आआफ्नो क्षेत्रमा सुरक्षा प्रदान गरिरहेका छन् । हालसम्म उक्त क्षेत्रमा तनाव पनि उत्पन्न भएको छैन ।
राप्ती नदीमा डुङ्गा पल्टिँदा २५ विद्यार्थी घाइते
दाङको राप्ती नदीमा पटेला (डुङ्गा) पल्टिदा डुङ्गामा सवार २५ जना विद्यार्थी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भिर रहेको छ । बिहीवार विहान ९ बजे लमही नगरपालिका वडा ९ तरुलियाबाट राजपुर गाउँपालिका ७ मा.वि.सिक्टास्थित तरुलियाका २५ जना विद्यार्थी पटेलाबाट राप्ती नदी तरेर विद्यालय जाने क्रममा पटेला पल्टिएको हो ।
अवैध नदीजन्य पदार्थ स्थानीय सरकारको नियन्त्रणमा
दिवाकर पोख्रेलदेउखुरी, भदौ २ गते । दाङको गढवा गाउँपालिकाको राप्ती नदी किनार आसपासमा अवैध रुपमा डम्पिङ गरेर राखेको नदीजन्य पदार्थ गाउँपालिकाले नियन्त्रणमा लिएको छ । लामो समयसम्म सूचना जारी गरेर नदीजन्य पदार्थ हकदार खोजी गर्दा समेत सम्पर्कमा नआएपछि अवैध ठहर गर्दै नियन्त्रणमा ल्याउने काम थालिएको हो । गढवा गाउँपालिकाले पटक पटक जानकारी, छलफल र सूचना दिँदा पनि कोही सम्पर्क नआएकाले बेवारिसे नदीजन्य पदार्थलाई पालिकाले उठाउन सुरु गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको संयोजकत्वमा बनेको चोरी निकासी नियन्त्रण तथा क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगहरुको नाप जाँच समितिले अवैध नदीजन्य पदार्थको निगरानी बढाउन थालेको छ । गढवा गाउँपालिकाका अध्यक्ष पोख्रेलले गढवा गाउँपालिका अन्तर्गत नदी तथा खोलाहरुको किनारमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगको छेउछाउमा अवैधरुपमा संकलन गरी डम्पिङ गरि राखेको नदीजन्य पदार्थ उठाई सुरक्षित स्थानमा डम्पिङ गर्ने निर्णयअनुसार अवैधरुपमा डम्पिङ गरेर राखिएको ढुङ्गा पालिकाले आफ्नो नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पालिकले ५६.६ घनमिटर ढुङ्गा आफ्नो नियन्त्रणमा लिएको छ भने छ हजार दुईसय १७ घनमिटर ढुङ्गाको सम्बन्धित व्यक्तिहरु सम्पर्कमा आएर दाबी गरेको हुनाले पालिका र सुरक्षा निकायको रोहबरमा नापजाँच गरी उल्लेखित परिणाम बराबरको राजश्व बुझाउन आग्रह गरिएको छ । गढवा गाउँपालिकाले क्रसर उद्योगको पनि कानुनी प्रक्रियाहरु अघि बढाइरहेको छ ।
राप्तीमा तटबन्ध बनाउन भारत सहमत
बाँके जिल्लामा कटान र डुबान नियन्त्रण गर्नका लागि राप्ती नदीमा ४२ किलोमिटर लामो पक्की तटबन्ध निर्माण गर्न पहिलो पटक भारत सरकार सहमत भएको छ। करिब डेढ दशकदेखि सो तटबन्ध निर्माणका लागि नेपालले भारतसँग माग गर्दै आए पनि विभिन्न समय र चरणमा गरिएको छलफलपछि अहिले आएर भारतीय पक्षले बाँकेमा राप्ती नदीमा पक्की तटबन्ध निर्माण गर्न सहमत भएर १० अर्ब ४४ करोड ८० लाख रुपियाँ अनुदान दिने भएको हो।
पशुआहारका लागि पोषिलो ‘साइलेज’को प्रयोग
सीताराम गौतमले पहिलो पटक गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ बाख्रालाई खुवाउन सुरु गर्नुभयो । साइलेज )मकै र घाँसलाई मेसिनबाट गुन्द्रुक बनाइएको पशुआहार) खुवाउन सुरु गरेपछि बाख्रा हृष्टपुष्ट हुँदै गए ।
प्रविधिको उपयोगले मकै खेतीमा सुधार
प्रविधिको प्रयोगबाट गरिएको मकै खेतीमा सुधार आएको छ । मकै खेतीमा रोग प्रकोप नियन्त्रण र उत्पादनमा बृद्धि भएको किसानको भनाइ छ । परम्परागत शैलीले गरिएको मकै खेतीमा रोग किराले क्षति गरेपछि प्रविधिको प्रयोग गरिएको कृषकले बताउनुभयो ।
तपोभूमि मेला सम्पन्न, ५० हजार बढीको अवलोकन
गुल्मीको तपोभूमि रेसुङगामा लागेको एक महिने साउने मेला सम्पन्न भएको छ । विगत २ वर्षदेखि कोरोना माहामारीका कारण रोकिएको साउने मेला विधिवत रुपमा सम्पन्न भएको रेसुङगा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले जानकारी दिनुभयो ।
नेपालगञ्ज र कोहलपुरमा पाँच वटा आकाशे पुल निर्माण गरिने
सिराज खान नेपालगञ्ज, भदौ १ गते । नेपालगञ्ज र कोहलपुरका सडकमा अत्यधिक सवारी साधन गुड्न थालेका कारण विभिन्न महत्वपूर्ण चोकमा सर्वसाधारणलाई सडक पार गर्न समस्या देखिएकाले पाँच वटा आकाशे पुल निर्माण गरिने भएको छ । रत्न राजमार्गका चोकहरुमा सर्वसाधारणलाई सडक पार गर्न समस्या भएको र दुर्घटनाको जोखिम समेत बढेका कारण नेपालगञ्जमा चार र कोहलपुरमा एक गरि पाँच वटा आकाशे पुल निर्माण गर्ने निर्णय भएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख होमबहादुर एसीले बताउनुभयो । उहाँले यो योजना बाँकेका सङ्घीय सांसद मोहम्मद ईश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि उहाँकै निर्देशनमा तयार गरिएको बताउनुभयो । पाँच वटा आकाशे पुलका लागि टेण्डर आह्वान भैसकेको जनाउँदै प्रमुख एसीले टेण्डर प्रक्रिया सकिएलगत्तै निर्माणको काम शुरु गरिने बताउनुभयो । उहाँका अनुसार नेपालगञ्जको अति व्यस्त मानिने चोकहरु गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको हाइस्कुल चोकमा आकाशे पुल निर्माण गरिनेछ । सोका लागि लागि १० करोड रुपियाँको बजेट छुट्टयाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । सोही प्रकारले जमुनाहादेखि राँझासम्मको राजमार्गमा स्ट्रिट लाइटको अभाव देखिएकाले सो सडकमा दुबैतिर मुख फर्काइएका स्ट्रिट लाइटहरु जडान गर्ने निर्णय पनि गरिएको सडक डिभिजनका प्रमुख एसीले बताउनुभयो । जमुनाहादेखि राँझासम्म हरेक ३० मिटरको दुरीमा स्ट्रिट लाइटहरु जडान गरिने तथा हाइमास्ट लाइट जडान भएको ठाउँमा सो भन्दा १५० मिटरको दुरीमा जडान गरिनेछ । दुबै योजनाका लागि ठेक्का सम्झौता भएको १५ महिना भित्र निर्माण गरिसक्नु पर्ने शर्त राखिएको पनि सडक डिभिजन कार्यालयले जनाएको छ ।
तस्करीको चिनीसहित गाडी बरामद
पश्चिम नवलपरासी रामग्राम नगरपालिकाको दश कठ्ठाबाट प्रहरीले भन्सार छली गरी ल्याएको चिनीसहित पिकअप भ्यान समेत नियन्त्रणमा लिएको छ । सुनवल नगरपालिकाको बैरगनाथ प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले मंगलवार दिउँसो रामग्राम नगरपालिका १८ को दश कठ्ठाबाट अबैध रुपमा भारतबाट ल्याएको १५ क्वीन्टल चिनीसहित लु १ ज ४४०९ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीको सुचना अधिकृत प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।
जनचाहना बमाेजिम गठबन्धन बनेकाे हाे: मन्त्री चौधरी
रेखीराम रानापाल्पा, भदौ १ गते । शहरी विकास मन्त्री मेटमणी चौधरीले नेपाली समाजको चाहना अनुसार पाँच दलीय गठबन्धन भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको बुधबार बिहान तानसेनमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मन्त्री चौधरीले नेपालमा केही वर्षअघिदेखि जनचाहनाअनुसार गठबन्धन बनेर अघि बढ्ने वातावरण बनेको जिकिर गर्नुभयो । वि.सं. २०१५ सालदेखि नै नेपालमा कुनै पनि राजनीतिक दलले बहुमत प्राप्त गरे पनि स्थायी रुपमा सरकार चल्न नसकेकाले स्थायित्वका लागि गठबन्धन भएको बताउनुभयो । ‘‘ठूला पार्टीलाई अझ ठूलो बन्न र साना पार्टीलाई आफ्नो अस्तित्व कायम गर्न गठबन्धन गर्नुपर्ने आवश्यकता देखिएको छ,’’ उहाँले भन्नुभयो,– ‘त्यसैले पाँच दलीय लोकतान्त्रिक समाजवादी गठबन्धन बनेको छ ।’’ लामो समयसम्म राजनीतिक सङ्घर्षका लागि लड्नुपरेको बताउँदै मन्त्री चौधरीले कुनै नेताको कारणले फेरि मुलुकलाई पछाडि फर्काउने अवस्था नरहेको बताउनुभयो । मन्त्री चौधरीले नेपाली जनतामा भएको भ्रष्ट संस्कार सुधार गरेपछि मात्रै नेता सुध्रिने अवस्था आउने बताउनुभयो । जनतामा पनि केही न केही भ्रष्ट संस्कार रहेको बताउँदै त्यसको विम्वका रुपमा नेतामा पनि समस्या देखिएको दावी गर्नुभयो । काठमाडौँ महानगरपालिकाको फोहोर लामो समयसम्म उठ्न नसेकेको भन्ने पत्रकारहरूको जिज्ञासामा मन्त्री चौधरीले फोहोरमैला व्यवस्थापनमा कमिसनखोर गिरोहको अवरोध रहेको आरोप लगाउनुभयो । उहाँले काठमाडौँको फोहोर व्यवस्थापनलाई एकीकृत रुपमा समाधान गर्नका लागि मन्त्रालयकोतर्फबाट पहल भइरहेको जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशकाे राजधानी सार्ने काम शुरू
प्रदेश राजधानी घोषणा गरेर अस्थायी सदरमुकाम बुटवलबाट दाङ देउखुरीमा राजधानी राख्नको लागि प्रक्रिया शुरु गरिएको छ । तत्कालको लागि राजधानीको लागि आवश्यक पर्ने विभिन्न भौतिक संरचना नभएपछि राप्ती प्राविधिक शिक्षालयमा प्रदेश संसद भवन, मन्त्रालय भवनलगायतको संरचनाको रुपमा शिक्षालयलाई प्रयोग गर्ने सहमतिपछि प्रदेशसभा भवनको काम भइरहेको छ ।
७५ वर्षे इतिहास बोकेको नेपालगञ्जको महेन्द्र पुस्तकालय फेरि पुनर्जीवित हुँदै
७५ वर्ष पहिले स्थापना भएर जेनतेन सञ्चालनमा रहेको पश्चिम नेपालकै पहिलो ऐतिहासिक महेन्द्र पुस्तकालय हाल आएर पुनर्र्जीवित हुन थालेको छ । सञ्चालक समिति निष्क्रिय भएर लामो समयदेखि थला पर्दै गएको सो ऐतिहासिक पुस्तकालयलाई पुनः सक्रिय पार्न बाँकेका साहित्यकारहरु र शिक्षाविद् क्रियाशिल हुन थालेको हो ।
रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक संकटकाल
गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक संकटकालको घोषणा गरिएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षतामा बसेको बैठकले क्याम्पसमा ६ महिनाका लागि आर्थिक संकटकालको घोषणा गर्ने निर्णय गरेको हो ।
अन्तिम गर्भजाँच गराउँदैनन् गर्भवती
बर्दिया जिल्लाका गर्भवती महिलामा अन्तिम पटक गर्भजाँच गराउन आउनेको सङ्ख्यामा कमी देखिएको छ। स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा पहिलो पटक गर्भवती जाँच गराउनेभन्दा अन्तिम पटक गर्भजाँच गराउनेको सङ्ख्यामा एक हजार ३८४ जनाले कमी देखिएको हो। स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा पहिलो पटक छ हजार ९६५ जना गर्भवतीले जाँच गराएका थिए। अन्तिम पटक पाँच हजार ५८४ जना गर्भवतीले जाँच गराएका थिए। पहिलो पटकभन्दा अन्तिम पटक गर्भवती महिलाले स्वास्थ्य संस्थामा जाँच गराउन नआउनेको सङ्ख्या एक हजार ३८४ ले कमी रहेको छ। आर्थिक वर्ष २०७७/७८ मा पहिलो पटक सात हजार जना गर्भवती महिलाले जाँच गराएका थिए। अन्तिम पटक भने पाँच हजार ९८४ जना गर्भवतीले जाँच गराएका थिए।
राजमार्ग किनारमा युवकको शव फेला
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल १२ नायाँगाउँको राजमार्ग किनारमा एकजना युवकको शव फेला परेको छ । सडकको छेउमा दुर्घटना भएको मोटरसाइकलसँगै बुटवल ११ कालिकानगरका २८ वर्षीय संजय खत्रीको शव फेला परेको हो ।
सामुदायिक भवन उदघाटन
संघीय शहरी बिकासमन्त्री मेटमणि चौधरीले प्युठानको स्वर्गद्वारी नगरपालिका ५ सारीमा निर्माण भएको सारी सामुदायिक भवनको उदघाटन गर्नुभएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना दाङको ४ करोड २६ लाख रुपियाँ सहयोगमा निर्माण भएको पाँच कोठे सामुदायिक भवनको मन्त्री चौधरीले मंगलवार उदघाटन गर्नुभएको हो ।
देउखुरी उपत्यकामा तीन नयाँ शहरसहित राप्ती करिडोर बन्ने
दिवाकर पोख्रेल देउखुरी, साउन ३१ गते । दाङको देउखुरीमा राप्ती कोरिडोर निर्माण हुने भएको छ । राप्ती नदीको दुबै क्षेत्रमा करिडोर निर्माण हुने भएको हो । एशियाली विकास बैंक (एडिवी) को करिव १० अर्वको लगानीमा निर्माण हुने कोरिडोर राप्ती गाउँपालिकाबाट शुरु भएर बाँके जिल्लाको राप्ती सनोरी गाउँपालिकाको अघैयामा सम्म पुग्नेछ ।शहरी विकास मन्त्री मेटमणि चौधरीले राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीस्थित ईन्टेक नम्बर २ मा विधिवत् रुपमा शिलान्यास गर्नुभएको छ । कोरिडोरको शिलान्यास गर्दै मन्त्री चौधरीले राप्ती कोरिडोर देउखुरीबासीको भविष्य र आफ्नो सपनाको परियोजना भएको बताउनुभयो । सङ्घीय निर्वाचनका बेला आफूले जनता माझ गरेको चार वटा महत्वपूर्ण याजना मध्ये राप्ती कोरिडोर पनि भएको उहाँले बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो,“राप्ती कोरिडोर यत्तिकै ल्याइएको योजना होइन, यसबाट राप्ती नदीले कटान गर्ने देउखुरी उपत्यकाको हजारौं विगाहा जग्गा संरक्षण हुने, नदीको दुबै किनाराबाट सडक जाने हुँदा सभ्यतामा आधारित कोरिडोरको रुपमा लिन सकिन्छ ।” मन्त्री चौधरीले परियोजना कार्यान्वयनको लागि एडिबिका नेपाल निर्दशक (कन्ट्रि डाईरेक्टर)सँगको छलफलपछि बजेट सुनिश्चित भएर काम अघि बढाइएको जानकारी दिँदै बजेटको अभाव नहुने बताउनुभयो । –राप्ती कोरिडोरको शिलान्यास गर्दै शहरी विकास मन्त्री मेटमणि चौधरीसोही कोरिडोरमा पर्नेे सिहिनियाँमा ८७ विगाहा रहेको जानकारी दिँदै उक्त स्थनमा विमानस्थल बनाउन सकिने बताउनुयो । देशका ठूला कोरिडोर मध्ये धोबी खोला कोरिडोर र बागमती कोरिडोरपछि राप्ती कोरिडोर भएकाले पनि यस परियोजनालाई दाङ्बासीको सपना भएको बताउनुभयो ।लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी कार्यान्वयनका लागि राप्ती नदी सभ्यतामा आधारित नयाँ शहरको परिकल्पना गरेको छ । जसको विस्तृत परियोजना प्रतिवेदन प्रदेश पूर्वाधार विकास प्राधिकरणले तयार पारेर नदी उकास क्षेत्रमा ल्याण्ड पुलिङको आधारमा नयाँ शहरको परिकल्पना गरेको छ । सोही परियोजनालाई समेट्दै राप्ती कोरिडोर बन्न लागेको हो । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले राप्ती कोरिडोर नदी नियन्त्रण, जग्गा संरक्षण, सडक सुविधा र नयाँ शहरको सोचका साथ आएको बताउनुभयो । उहाँले देउखुरीको भालुवाङ, गढवा र राजपुर गरी तीन स्थानमा नयाँ शहरको परिकल्पनासहित करिडोरको योजना अघि सारिएको जानकारी दिनुभयो । उक्त सडकको चौडाई २१ मिटरको फराकिलो हुनेछ भने ठूला नदीमा ढल नमिसाउने गरी ६७.५० किलोमिटर उत्तरी क्षेत्र र ६८.३० किलोमिटर दक्षिणी क्षेत्रसहित कुल १३५ किलोमिटर लामो ढल बन्नेछ । राप्ती क्षेत्रमा करिडोर बन्ने भएपछि स्थानीयबासी पनि हर्षित छन् । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले देउखुरीबासीले यो कामलाई ऐतिहासिक दिनका रुपमा लिएको बताउनुभयो ।
निर्वाचन खर्च विवरण नदिनेसँग पाँच लाखसम्म जरिवाना हुने
तिलाचन पाण्डेतम्घास, साउन ३१ गते । निर्वाचन भएको एक महिना भित्रमा निर्वाचनमा उम्मेद्वार बनेका उम्मेद्वारहरुले चुनावी खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि गुल्मीमा खर्च विवरण बुझाउन अटेर गरेको पाइएको छ ।गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक हजार २४३ जना उम्मेद्वारमध्ये ५५८ जनाले मात्रै निर्वाचनको खर्च विवरण बुझाएको र ६८५ जनाले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो ।निर्वाचन आयोगले उम्मेद्वारहरुका लागि खर्चको सीमा निर्धारण गरेअनुसार नगरपालिका प्रमुख तथा उपप्रमुखहरुले चार लाख ५० हजार, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले तीन लाख ५० हजारसम्म, वडाध्यक्षले दुुई लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको थियो । यता निर्वाचन कार्यालय गुल्मीका प्रमुख माया कुँवरले निर्वाचन आयोगले असार मसान्तसम्म सबैको विवरण अनलाइनमा राख्न निर्देशन दिएको र सोही अनुसारको विवरण आयोगमा पठाएको दाबी गर्नुभयो ।निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई पाँच लाख रुपियाँसम्म जरिवाना गर्न सक्ने प्रवाधान छ ।
खोला मिचेर व्यक्तिगत संरचना
दाङको लमही र आसपासमा बजार विस्तार हुँदै जाँदा खोलाको भाग अतिक्रमण गरेर व्यक्तिगत संरचना बनाउने क्रम सुरु भएको छ । लमही नगरपालिका–४ स्थित अर्नहवा खोला मिचेर व्यक्तिगत संरचना बनाउने काम भइरहेको छ । लमही नगरपालिका–५ निवासी प्रताप केसीले खोला मिचेर पक्की संरचना बनाउन थाल्नुभएको हो ।
सानीभेरीमा र्याफ्टिङ सञ्चालन गरिने
रुकुमपूर्वको सानीभेरी नदीमा र्याफ्टिङ सञ्चालन गरिने भएको छ । सिस्ने गाउँपालिकाले आउँदो मङ्सिर महिनासम्ममा सानीभेरी नदीमा र्याफ्टिङ सञ्चालनमा ल्याउने भएको हो । अहिले र्याफ्टिङका लागि सिस्ने गाउँपालिका–६, धाउनेमा सानीभेरी नदीको किनारमा र्याफ्टिङका लागि टिकट घर निर्माण भइरहेको छ ।
तातोपानीका मुहानै मुहान
रुकुमपूर्वका धेरै ठाउँमा तातोपानीका मुहान छन्। विभिन्न खोला र सानीभेरी नदीका किनार गरी जिल्लाका पाँच ठाउँमा तातोपानीको मुहान भए पनि तिनको संरक्षण व्यवस्थापनमा भने समस्या छ। पुथाउत्तरगङ्गा गाउँपालिकामा मात्र चार र सिस्ने गाउँपालिकामा एक गरी जिल्लामा पाँच तातोपानीका मुहान छन्। पुथाउत्तरगङ्गा वडा नम्बर २ को जार्लुङ, ३ को रन्मा, ६ को डिमुरगैरा तथा १२ र १३ को ओख्मामा तातोपानीका मुहान छन्। सिस्ने गाउँपालिकाको वडा नम्बर ४ धाउने नजिकै सानीभेरी नदी छेउमै पनि तातोपानीको मुहान छ। यी पाँच मुहानमध्ये हालसम्म सिस्ने ४ को धाउनेस्थित सानीभेरीको किनारमा रहेको र पुथाउत्तरगङ्गाको डिमुरगैरा र जार्लुङमा रहेका तातोपानी मुहानको मात्र केही संरक्षणको काम गरिएको छ । पुथाउत्तरगङ्गा–१२ र १३ को ओख्मा र पुथाउत्तरगङ्गा–३ को रन्माको तातोपानीमा संरक्षणको काम गरिएको छैन ।