• ६ साउन २०८१, आइतबार

जनचाहना बमाेजिम गठबन्धन बनेकाे हाे: मन्त्री चौधरी

blog

पत्रकार भेटघाट कार्यक्रममा आफ्नो धाराणा राख्नुहुँदै मन्त्री चौधरी । तस्विर – रेखीराम राना

रेखीराम राना

पाल्पा, भदौ १ गते । शहरी विकास मन्त्री मेटमणी चौधरीले नेपाली समाजको चाहना अनुसार पाँच दलीय गठबन्धन भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको बुधबार बिहान तानसेनमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मन्त्री चौधरीले नेपालमा केही वर्षअघिदेखि जनचाहनाअनुसार गठबन्धन बनेर अघि बढ्ने वातावरण बनेको जिकिर गर्नुभयो । 

वि.सं. २०१५ सालदेखि नै नेपालमा कुनै पनि राजनीतिक दलले बहुमत प्राप्त गरे पनि स्थायी रुपमा सरकार चल्न नसकेकाले स्थायित्वका लागि गठबन्धन भएको बताउनुभयो । 

‘‘ठूला पार्टीलाई अझ ठूलो बन्न र साना पार्टीलाई आफ्नो अस्तित्व कायम गर्न गठबन्धन गर्नुपर्ने आवश्यकता देखिएको छ,’’ उहाँले भन्नुभयो,– ‘त्यसैले पाँच दलीय लोकतान्त्रिक समाजवादी गठबन्धन बनेको छ ।’’ लामो समयसम्म राजनीतिक सङ्घर्षका लागि लड्नुपरेको बताउँदै मन्त्री चौधरीले कुनै नेताको कारणले फेरि मुलुकलाई पछाडि फर्काउने अवस्था नरहेको बताउनुभयो । 

मन्त्री चौधरीले नेपाली जनतामा भएको भ्रष्ट संस्कार सुधार गरेपछि मात्रै नेता सुध्रिने अवस्था आउने बताउनुभयो । जनतामा पनि केही न केही भ्रष्ट संस्कार रहेको बताउँदै त्यसको विम्वका रुपमा नेतामा पनि समस्या देखिएको दावी गर्नुभयो । 

काठमाडौँ महानगरपालिकाको फोहोर लामो समयसम्म उठ्न नसेकेको भन्ने पत्रकारहरूको जिज्ञासामा मन्त्री चौधरीले फोहोरमैला व्यवस्थापनमा कमिसनखोर गिरोहको अवरोध रहेको आरोप लगाउनुभयो । उहाँले काठमाडौँको फोहोर व्यवस्थापनलाई एकीकृत रुपमा समाधान गर्नका लागि मन्त्रालयकोतर्फबाट पहल भइरहेको जानकारी दिनुभयो ।