गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २५ गते । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यसहित ‘साउथ एसिया ट्रेड फेयर २०२६’ बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ ।
इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिद्वारा आयोजना तथा व्यवस्थापन गरिने यस मेलामा बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्युरो (इपिबी) को सहकार्यमा सञ्चालन हुन लागेको हो ।
यस कार्यक्रमलाई इन्डोर्स वाईका रूपमा भुटान सरकारको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले समर्थन गरेको छ । देशभित्र लामो समयदेखि सुस्ताएको व्यापारिक वातावरण र लगानीगत अनिश्चितताबिच यो मेला निजी क्षेत्रका लागि पुनः सव्रिmय हुने प्लेटफर्म बन्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
भारत, बङ्गलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का, माल्दिभ्सलगायतका देशका करिब १५० भन्दा बढी प्रदर्शक सहभागी हुने मेलामा झन्डै एक लाख स्थानीय दर्शक तथा पाँच हजार अन्तर्राष्ट्रिय तथा व्यावसायिकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेला आयोजना संयोजक सुमन महर्जनले व्यापारिक मेलामार्फत निकासीयोग्य वस्तुको प्रवर्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमीसमेत गर्ने उद्देश्य राखेको समेत जानकारी दिनुुभयो ।
उहाँका अनुसार मेलामा कपडा तथा तयारी सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारीसाधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरणलगायतका विभिन्न क्षेत्रका उत्पादन तथा सेवाका स्टल राखिएका छन् । साथै मेला अवधिभर व्यापारिक भेटघाट, फुड फेस्टिबल, रक्तदान कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिसमेत सञ्चालन गरिने जनाइएको छ ।
काठमाडौँको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा पाँच दिनसम्म चल्ने उक्त सार्कस्तरीय यस अन्तर्राष्ट्रिय व्यापार मेला यही २८ गतेसम्म सञ्चालन हुने छ ।
यस मेलाका सहयोगी संस्थाका रूपमा नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, ललितपुर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, भक्तपुर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, चेम्बर अफ इन्डस्ट्रिज मोरङ, ललितपुर चेम्बर अफ कमर्स, नेपाल–चाइना एक्जिक्युटिभ काउन्सिल, नेपाल कस्मेटिक व्यवसाय सङ्घ तथा विश्व उद्यम सहायता फाउन्डेसन रहेका छन् ।